Techie IT
मंगलबार, वैशाख ९,२०८२

तनहुँको घिरिङमा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान


तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो ।

कांग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग २ च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए । उनका अनुसार गाडीको सिसा फुटेको छ ।

घिरिङ गाउँपालिका– ५ मा चुनावी र्यालीमा सहभागी हुन पुगेका बालक नदीमा डुवेर बेपत्ता भएको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो । सोमबार नेपाली कांग्रेसको चुनावी र्यालीमा सहभागी हुन पुट्टार पुगेका घिरिङ– ५ का १२ वर्षीय ईश्वर विक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

आफ्नै हजुरआमा निरमाया विक दलित महिला सदस्यको उम्मेदवार भएपछि उनी र्यालीमा सहभागी भएको कांग्रेस घिरिङ गाउँपालिकाका सभापति यामबहादुर थापाले बताए । उनले सोमबारको बृहत् चुनावी सभामा सहभागी नभएको तर केही दिनदेखि पुट्टार आफन्तकोमा रहेका उनी र्यालीसहित पुगेका आफन्तसँग घर फर्किएको दाबी गरे ।

बेपत्ता विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता विकको स्थानीय र प्रहरीको सक्रियतामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीका प्रवक्ता प्रहरी नावय उपरीक्षक युवराज खड्काले बताए ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545