उन्नत र सुरक्षित शहर फुटुङ्ग हुनुपर्छ (पुस्तक अंश)
फुटुङ्गको विकासका लागि गर्नुपर्ने १७ वटा काम

श्रीराम फुटुङ्गे
स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा दलहरु विकासका एजेण्डा तथा आफ्नो प्रतिवद्धता जाहेर गर्न सक्रिय भइरहेका छन् । यसै सन्दर्भमा हामीले हालै सार्वजनिक भएको श्रीराम फुटुङ्गेले लेख्नु भएको पुस्तक ‘फुटुङ्गः इतिहास, संस्कृति र विकास’ मा प्रुस्तत गरिएको विकासका कार्यहरु जुन फुटुङ्गलाई लक्ष्यित गरिए पनि शहर नजिकका र शहर बन्ने चरणमा रहेका वडा, नगर, गाउँ तथा टोललाई समेत उपयोगी ठानेर यहाँ प्रस्तुत गरेका छौं । फुटुङ्ग काठमाडौँको तारकेश्वर नगरपालिकाको एक प्रमुख ठाउँ हो ।
फुटुङ्गको विकासका लागि गर्नुपर्ने १७ वटा काम
१) सार्वजनिक यातायात
सार्वजनिक यातायातलाई थप व्यवस्थित, स्वच्छ प्रतिस्पर्धा गर्न गराउन, समयमै आउने र जाने गराउने पहल नागरिक र स्थानीय तहले साझेदारी गरी सुव्यवस्थित गर्ने । सडकमा जथाभावी पार्किङ गर्ने, सामग्री थुपार्ने जस्ता कार्यलाई व्यवस्थित गरी सडकलाई सुचारु र सफा पार्न पहल गर्ने । बस चढ्ने र ओर्लने ठाउँको निश्चित बिन्दु बनाइ उक्त स्थानमा बिजुली बत्ती तथा ओत लाग्न मिल्ने ठाउँको व्यवस्था गर्ने ।
२) पूर्वाधार विकास
फुटुङ्गका सम्पूर्ण पूर्वाधारका काम जनभेला र सहभागितामा दीर्घकालीन एवम् अल्पकालीन योजना तर्जुमा गरी सोही मुताविक वडाले लगानी गर्दै जाने । मूलबाटोलाई अझ चौडा बनाउने । सहायक बाटोलाई फराकिलो बनाउने । विद्यमान मापदण्डको पालनामा वडा कार्यालय र नागरिक गम्भीर बन्ने ।
३) शिक्षा
एकमात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि व्यवस्थापन स्वच्छ र पारदर्शी बनाउने । विद्यालयप्रति अभिभावकको चासो बढाउने । साथै, निजी विद्यालयको नियमित अनुगमन, गुणस्तर तथा शुल्कबारे एकरूपता तथा सरकारी मापदण्ड बमोजिम भए नभएको अनुगमन गर्ने ।
४) स्वास्थ्य
अशक्त एवम् असहायका लागि टोलटोलमा स्वास्थ्य सेवा दिन थप कार्य गर्ने । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अति अशक्तहरूको उपचार तथा परामर्शका लागि घरघरमै पुगी सेवा दिने परिपाटी सुरु गर्ने । दीर्घ रोगको परीक्षण गरी विशेषज्ञ परामर्श दिने । राज्यले पु¥याउने उपचार तथा राहत सहयोग छिटो र सहजै उपलब्ध गराउने ।
५) खानेपानीको प्रभावकारी व्यवस्थापन
खानेपानीको सहज उपलब्धताका लागि श्रोतहरूको खोजी र प्रभावकारी व्यवस्थापन गर्ने । सार्वजनिक धाराको सङ्ख्या बढाउने । हालको पानी वितरण प्रणालीलाई व्यवस्थित बनाउने । बाटोमा हिंडनेहरूका लागि सहजै पिउन सक्ने गरी वाटर स्पटको व्यवस्था गर्ने ।
६) विपद् व्यवस्थापन
विपद् (भूकम्प, आगलागी एवम् महामारी) मा नागरिकको सुरक्षाका लागि आवश्यक चाँजोपाँजो (आवास, औषधी, मानवस्रोत) सुनिश्चित हुने गरी राहत सामग्रीको भण्डारण, खुला ठाउँको उपलब्धता, उपचार तथा उद्धार टोलीको व्यवस्था, आवश्यक कोषको पूर्वतयारी र समुदायको परिचालनका लागि चेतना र सीपको सुनिश्चितता हुने गरी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने ।
७) सूचना तथा सञ्चार
वडा कार्यालयका सूचना वडावासीलाई समयमै उपलब्ध गराउन सूचना र सञ्चार प्रणालीहरू विकास गरी विकास गतिविधि तथा वडा कार्यालय एवम् यस मातहतका विभिन्न कार्यालयबाट प्रदान गर्ने सेवाबारे नागरिकलाई सुसूचित पार्ने ।
८) सामाजिक सङ्घसंस्था
फुटुङ्गस्थित गठित एवम् सङ्गठित सामाजिक सङ्घसंस्थाको वार्षिक लेखाजोखा गरी उनीहरूको सवलीकरण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने सीप प्रदान गर्ने, उनीहरूको कार्यक्रमलाई आर्थिक सहायता एवम् क्षमता विकास सहयोग प्रदान गर्न आवश्यक नीति र स्रोतको व्यवस्था गर्ने साथै सामाजिक सङ्घसंस्थाहरूले पनि आनो कार्यक्रम पारदर्शी बनाउँदै जवाफदेही हुने ।
९) वातावरण संरक्षण
फुटुङ्गको पूर्वपट्टि रहेको साङ्ले खोला तथा पश्चिमपट्टि रहेको महादेव खोला प्रदूषित बन्दै गएकाले तिनलाई सफा बनाउने, हाल संरक्षित एवम् पर्ती जग्गामा वृक्षारोपण गर्ने, महादेव खोला र साङ्ले खोलामा सफा पानी बग्ने व्यवस्था मिलाउन दीर्घकालीन काम गर्ने, खोलामा ढल नमिसाउन दीर्घकालीन सोच बनाउने र खोलाहरूलाई पूर्ववत अवस्थामा फर्काउन विशेष पहल लिने । सार्वजनिक शौचालयको निर्माण र प्रभावकारी सञ्चालन गर्ने ।
१०) संस्कृति र सम्पदा
परम्परादेखि चल्दै आएको सनातनी संस्कारहरू संरक्षणका लागि नागरिकमा चेतना वृद्धि गरी त्यसको प्रचार प्रसार गर्न नागरिक र स्थानीय तह दुवैले अग्रसरता लिने । यहाँस्थित मठ मन्दिर, साँस्कृतिक चालचलन एवम् सम्पदाहरूको संरक्षण गर्ने । परापूर्व कालदेखि चल्दै आएको जात्रा तथा देवाली र गुठीहरूको संरक्षण गर्ने ।
११) कृषि तथा पशुपालन
घट्दो र कम रुचिकर काम बन्दै गएको कृषि तथा पशुपालनको बद्लिँदो परिवेशमा यसको विकास र प्रवद्र्धनका लागि हाल सक्रिय कृषक तथा पशुपालक कृषकहरूलाई हौसला, सीप र सहयोग प्रदान गरी उत्पादन वृद्धिका लागि प्रेरित गर्ने । राम्रा र असल कृषकहरूलाई पुरस्कृत गर्ने । करेसाबारी र कौसी खेतीको प्रवद्र्धन गर्ने ।
१२) सार्वजनिक तथा पर्ती जग्गा संरक्षण
यहाँ रहेका पर्ती जग्गाको खोजबिन, रेखाङ्कन गर्दै तिनलाई समुदायको सामूहिक हितमा उपयोग गर्दै संरक्षण गर्ने ।
१३) ज्येष्ठ नागरिक
ज्येष्ठ नागरिकहरूको अनुभव, सीप र विचार आदान प्रदान गर्ने तथा उहाँहरूको बुढ्यौलीलाई सक्रिय रहन दिन ज्येष्ठ नागरिक दिवा केन्द्र स्थापना गरी सञ्चालन गर्ने । राज्यले प्रदान गर्ने बुढ्यौली भत्ता घरमै उपलब्ध गराउने । उपचारमा विशेष सहयोग गर्ने ।
१४) नागरिकलाई सुविधा
वडा कार्यालयबाट नागरिकलाई प्रदान गरिने सेवा तथा सुविधा चुस्त बनाउने साथै नागरिक बडा पत्रमा तोकिएझै सेवाहरू जति सक्दो छिटो दिने । वडा कार्यालयसम्म आई सेवा लिन नसक्ने अशक्त तथा कमजोर परिवारहरूलाई टोल या सम्भव भए घरमै पुगेर सेवा दिने ।
१५) सरसफाइको उचित प्रबन्ध, प्लास्टिकमुक्त फुटुङ्ग
पसल तथा घरबाट निस्केका प्लास्टिकका खोलहरू फुटुङ्गमा देखिने सबैभन्दा बढी फोहोर हुन् । यसको उचित व्यवस्थापन गर्न नगर तथा वडाले सार्वजनिक ठाउँमा फोहोर गर्ने तथा फाल्नेलाई कारबाहीको दायरामा ल्याउने, फोहोरको उचित व्यवस्थापनका लागि प्रत्येक चोकमा प्लास्टिक एवम् कागज तथा अन्य प्रकारका फोहोर याँक्न डस्टविनको व्यवस्था गर्ने । प्रत्येक टोलको सहभागितामा आनो टोलको सफाइ गर्न प्रेरित गर्ने र प्लास्टिकमुक्त फुटुङ्ग अभियान सञ्चालन गर्ने ।
१६) खुला ठाउँको व्यवस्था
बस्ती विस्तार र शहरीकरण बढ्दै गए सँगै ठाउँ साँघुरिदै गएकोले खुला स्थानको अभाव देखिएको छ । अतः टोल तथा बस्तीमा पार्क, खुल्ला चौर एवम् ठाउँको व्यवस्था गरी तिनलाई आराम गर्ने, घुमफिर गर्ने तथा व्यायामका लागि प्रभावकारी रुपमा सञ्चालन गर्ने ।
१७) स्थानीय सूचना तथा स्रोत केन्द्रको स्थापना
नवीन प्रविधिको प्रयोग गरी सूचना तथा श्रोत केन्द्र एवम् विद्युतीय पुस्तकालयको स्थापना र सञ्चालन गर्न स्थानीय ज्ञान, अनुभव एवम् सिकाइ तथा स्थानीय ऐतिहासिक विषयको अनुसन्धान र सोको अभिलेखनसहित ती सामग्री सर्वसुलभ बनाउने ।
यी र यस्ता धेरै काम यहाँ अल्पकालीन र दीर्घकालीन रूपमै गर्नुपर्ने अहिलेको आवश्यकता हो । एउटा दिगो विकास नीति र कार्यक्रम बृहद् जनसभा एवम् समुदायको सहभागितामा बनाइ नीति तथा योजनालाई वडाको मूलकार्यक्रम मानेर अगाडि बढाउँदै लैजाने सोच भएमा नेतृत्व फेरिए पनि मूललक्ष्यमा दृढ हुन सक्यौँ भने यो ठाउँले अझै राम्रो फड्को मार्न सक्ने देखिन्छ । यसतर्फ, वडा कार्यालय, राजनीतिक दलका नेतृत्व तह, सामाजिक अगुवा र सञ्चारकर्मीहरूले ध्यान दिनु आवश्यक छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #फुटुङ्गको विकास, #श्रीराम फुटुङ्गे
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्