Techie IT
मंगलबार, वैशाख ९,२०८२

ओलीले गरे घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा


लमजुङ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको दक्षिण एशियाकै नमूना घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको पर्यटकीय यस गाउँलाई आज एक कार्यक्रमबीच उनले घलेगाउँलाई सुखी गाउँ घोषणा गरे ।

हेलिकप्टरमार्फत घलेगाउँ आएका अध्यक्ष ओलीले आधुनिक गाउँ र स्मार्ट भिलेका रूपमा अघि घलेगाउँ बढ्नुपर्ने बताए । उनले भने, ‘घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरुका लागि पनि उदारणीय बनेको छ, घलेगाउँबाट सिक्न जरुरी छ ।’ अध्यक्ष ओलीले घलेगाउँमा रहेको उत्तरकन्य प्राविलाई आधुनिकीरण र प्रविधियुक्त विद्यालय बनाउनुपर्ने बताए ।

काम नगरी बस्ने, खानेलाई सुखी नभनी गाउँमा बसी आफैं उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

उनले भने, ‘शहरमा पाउने सुविधा घलेगाउँ पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको सुविधा पुगेको छ, स्थानीयले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो ।’

एक सय ३० घरधुरी रहेको यहाँ सबै एकै प्रकारको रातो रङको जस्ता पाताको छानो छ । विसं २०५७ वैशाख २३ गते प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर घरवास (होमस्टे) स्थापना गरेको यहाँ यतिबेला ४२ घरमा घरवास कार्यक्रम रहेको छ । होमस्टेमा एकै प्रकारको आरामदायी कोठा छन् ।

सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मङ्सिर १७ गते स्मार्ट भिलेज घोषणा भएको थियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृतसमेत गरेको थियो ।

त्यस्तै, सो अघि दुई पटक दक्षिण एशियाकै नमूना घलेगाउँ घोषणा भइसकेको छ । जिल्लाकै सबैभन्दा बढी पर्यटक यस गाउँमा आउने गर्दछन् । होमस्टे सञ्चालकले प्रतिमहिना ४० देखि ६० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

होमस्टे सञ्चालन गरिएको ४२ घरबाहेक अन्य घरका वासिन्दाले पर्यटकका लागि आवश्यक अन्न, तरकारी, फलफूल, मासु, अण्डालगायत उत्पादन र स्वरोजगारमा जीवनयापन गर्दै आएका छन् ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545