Techie IT
आईतबार, वैशाख ७,२०८२

मनाङ जिल्लालाई ६१ करोड ३४ लाख बजेट , कुन स्थानिय तहमा कति ?


आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल रु ६१ करोड ३४ लाख बजेट विनियोजन भएको छ ।

जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्र्रवेशद्वारको रूपमा रहेको नासों गाउँपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाका लागि रु १७ करोड २७ लाख विनियोजन भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार समानीकरण अनुदानतर्फ रु छ करोड ९९ लाख र सःशर्त अनुदानतर्फ रु १० करोड २८ लाख विनियोजन भएको छ । जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकालाई रु १५ करोड ८८ लाख बजेट विनियोजन भएको छ ।

गाउँपालिकालाई समानीकरण अनुदानतर्फ रु छ करोड ९८ लाख, सःशर्त अनुदानतर्फ रु छ करोड ८२ लाख र विशेष अनुदानतर्फ रु दुई करोड आठ लाख बजेट विनियोजन भएको पालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।

त्यस्तै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकालाई समानीकरणतर्फ रु छ करोड ९८ लाख र सः शर्ततर्फ आठ करोड ७० लाख गरी कूल रु १५ करोड ६८ लाख विनियोजन भएको छ ।

जिल्लाको सडक सञ्जालसँग समेत नजोडिएको विकट क्षेत्र नार्पाभूमि गाउँपालिकालाई रु १२ करोड ५१ लाख विनियोजन भएको छ ।

गाउँपालिकाले समानीकरणतर्फ रु छ करोड ८४ लाख, सःशर्त अनुदानतर्फ रु तीन करोड ८८ लाख, विशेष अनुदानतर्फ रु एक करोड ३३ लाख र समपूरकतर्फ ४६ लाख बजेट पाएको छ ।

जिल्लाका चार स्थानीय तहमध्ये चामे र नार्पाभूमि गाउँपालिकाले विशेष अनुदान प्राप्त गरेका छन् । जिल्लाका अन्य पालिकामध्ये मनाङ ङिस्याङमा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #मनाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545