Techie IT
शनिबार, वैशाख ६,२०८२

बर्दिवासमा योग शिविर भव्यताकासाथ सम्पन्न


– जीवनराज दाहाल (बर्दिवास)


“योग गरौं, स्वस्थ रहौँ ।” भन्ने मूल नारासहित बर्दिबास नगरपालिकाद्वारा आयोजित दोस्रो सप्ताहव्यापी योग शिविरको बैशाख ३ गते शुक्रबार समापन कार्यक्रम सम्पन्न भयो । उक्त शिविरमा नगरभरिका प्रत्येक सामुदायिक विद्यालयका शिक्षक १ जना र वडाबाट प्रतिनिधित्व गर्दै करिब ७५ जना योग प्रशिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीका तर्फबाट बोल्दै मनोज कुमार अधिकारीले योग, ध्यान र प्रणायाम अमृत बराबर भएको बताउदै यो छोटो अवधिको योगको स्वादले मन तृप्त नभएकोले अझैं रसस्वादन गर्ने अभिलाषा जागेकोले आगामी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो ।

त्यसै गरि अर्काे सहभागी रोजी फुयालले योग, ध्यान र प्रणायामले मानिसलाई जीवन जिउने नयाँ गोरेटो कोरेकोले समाजका अधिकाश मानिसको बिकार हटाउने हुँदा यसको नियमितताको खाचो रहेको अभिव्यक्ति दिनुभयो । त्यस्तै अर्का सहभागी कुमार घिमिरेले छोटो अवधिको शिविरले पूर्वीय संस्कृतिको योग पश्चिमाहरूबाट सिक्नुपर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै यहाँ सिकेका कुराहरू व्यवहारिक रूपमा लागू गर्न सबैलाई अनुरोध गर्नुभयो । बर्दिबास शिक्षक महासङ्घका अध्यक्ष चुन कुमार स्याङ्तानले यो योग शिविरले समाजका तमाम समस्यालाई नजिकबाट महसुस गराएको भन्दै यहा सिकेका कुरालाई ब्यबहारिक रूपमा उतार्न सके समाजमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो ।

योग गुरूका तर्फबाट आफ्ना भनाइ राख्ने क्रममा ध्यान गुरु प्रेम आलोकले जहाँ ज्ञानको प्यास हुन्छ त्यहा निस्वार्थ रूपमा आफू सहयोगका लागि तयार रहेको जानकारी गराउनु भयो । योग र ध्यानले मानिसलाई स्वको ज्ञान दिने हुँदा आजको मानिस बाहिरी भागदौडमा लागेर आफूलाई बर्बाद गरिरहेको हुँदा योग ध्यानबाट आफ्नो पहिचान र त्यसको सही परिचालन गर्न सके समाजमा शान्ति र सम्वृद्धी सम्भव रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि महोत्तरी क्षेत्र न. १ का संसद पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराज मणि पोखरेलले योग, ध्यान र प्राणायामलाई दैनिक जीवन पद्धति बनाई स्वस्थ जीवन जिउन सबैलाई आग्रह गर्नु भयो । योगले रोगबाट बचाउने, रोगप्रतिरोधात्मक क्षमता बढाउने, सकारात्मक सोचको बिकास गराउने, स्व: को अभिव्यक्तिमा सहजीकरण गर्ने भएको हुँदा समाजमा शुद्धीकरणका लागि तथा २१ शताब्दीको अस्तव्यस्त जीवनमा शान्ति र समृद्धिको लागि अचुक औषधिको काम गर्ने बताउदै यसको महत्त्वलाई आत्मसात गर्दै आफू मन्त्री हुँदा कक्षा १ देखि विश्वबिद्यालयसम्म्को पाठ्यक्रममा योगको बिषय समावेश गरिएको जानकारी गराउदै बर्दिबास नगरपालिकालाई नेपालकै पहिलो योगमय नगर बनाउने अभीष्ट रहेको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष नगर प्रमुख बिदुर कुमार कार्कीले बर्दिबासका जनताको स्वस्थ आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउदै वडा न १ र ५ मा योगका लागि आफ्नै संरचना (योग भवन) निर्माणका काम अघि बढी सकेको जानकारी गराउदै आगमी बजेटमा सबै वडामा योग भवन बनाइ सस्थागत रूपमा यसको बिकास गरिने प्रतिबद्धता जाहेर गर्नु भयो। सामूदायिक विद्यालय तथा वडागत रूपमा यसको बिकास गरी सबै गाउँ टोल र घर घरमा योग अभ्यासको लागि पहल गरी नगरलाई ॐकारमय ध्वनी गुन्जाएमान बनाउने योजना सुनाउदै यसमा सबै पक्षहरूले साथ, सहयोग र समर्थन गर्न आव्हान गर्दै कार्यक्रमको समापन गर्नु भयो । सो कार्यक्रममा योग गुरूहरू स्वामी प्रेम आलोक, मनोसामाजिक परामर्शकर्ता गणेश गैरे, सृजना पौडेलले सहभागीहरूलाई दीक्षित गर्नु भएको थियो । त्यसैगरी श्री माध्यमिक विद्यालय कामीडाडा बर्दिबास न. पा. ४ का शिक्षक टङ्क प्रसाद पोखरेलले समापन कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

https://www.youtube.com/watch?v=kvDqx3NwhJk


क्याटेगोरी : स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545