Techie IT
बुधबार, माघ ९,२०८१

शिल्पा भन्छिन्- मैले छविजीसँग पाँच प्रतिशत सम्पत्ति मात्रै लिएँ


काठमाडौं । छवि ओझासँग डिभोर्स र अंशबन्डाको प्रक्रिया समाप्त भएपछि अभिनेत्री शिल्पा पोखरेलले अहिले हलुका महसुस गरिरहेकी छन् । वर्षौंदेखि चलिरहेको मुद्दाले उनको निजी जीवन र करिअर प्रभावित भइरहेको थियो ।

शिल्पा र छविबीच अंशबन्डा भएको सन्दर्भ हालैमात्र मिडियाहरुमा सार्वजनिक भएको छ । जसअनुसार शिल्पाले गौरीघाटमा रहेको छविको अढाई तले पुरानो घरमात्रै अंशमा लिएकी छन् । यो घरको मूल्यांकन ४ करोड हुने छवि पक्षको दाबी छ । अदालतले आधा सम्पत्ति पाउने फैसला सुनाएको भए पनि लामो समय मुद्दा किनारा लाग्न नसकेपछि शिल्पाले छविसँग सम्झौता गरेकी हुन् ।

आफूले छविको सम्पत्तिको बढीमा पाँच प्रतिशतमात्रै लिएको शिल्पा बताउँछिन् । आज प्रकाशित एक अन्तर्वार्तामा उनले छविसँगको सम्बन्ध, डिभोर्स र अंशबन्डाबारे खुलेर बोलेकी छन् । आफूले लिएको घरको मूल्य मिडियामा आए जस्तो नभएको उनको दाबी छ । उनले सरकारी रेटअनुसार मूल्यांकन गरिनुपर्ने बताएकी छन् ।

शिल्पा भन्छिन्, ‘मेरो ऋणबाहेकको सम्पत्ति जति छ, त्यसको दुई प्रतिशतमात्र मैले लिएको हो । धेरै भन्नुपर्दा पाँच प्रतिशत । उहाँले व्यक्तिगत रुपमा लिएको ऋणको हिसाब अदालतमा हुँदैन र त्यसलाई मानिँदैन पनि । बैंकबाट लिएको लोनको मात्र मान्यता हुन्छ ।’

छविको १० करोड ऋण भएको कुरालाई पनि उनले भ्रामक बताइन् । शिल्पाको भनाइअनुसार डेढ-दुई करोड ऋणको आधा उनको भागमा परेको थियो ।

‘मैले बैंकको ऋण व्यहोर्नुपरेको थियो । व्यक्तिगत ऋणको कागजपत्र त म पनि बनाउन सक्छु नि होइन ? उहाँको सम्पत्तिको तुलनामा त्यो ऋण केही होइन । यदि मलाई उहाँको सम्पत्तिको लोभ भएको भए मैले माग गरेअनुसारको सम्पत्ति जिल्ला अदालतमा जितिसकेकी थिएँ’, उनी भन्छिन् ।

अन्तर्वार्तामा उनले पूर्वपति छवि ओझाको प्रशंसा गरेकी छन् । ओझा पारिवारिक जीवनमा असफल भए पनि फिल्म क्षेत्रको बाघ नै भएको उनको टिप्पणी छ ।

कलाकर्मी डटकमलाई दिएको अन्तर्वार्तामा शिल्पाका थप भनाइहरु यस्ता छन्ः

सर्वप्रथम त म सम्मानित अदालतलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अदालतले महिलाको पक्षमा धेरै राहत हुने कुराहरु दिनुभएको छ, धेरै सुविधा दिनुभएको छ, तर पनि एउटा सेलिब्रिटी भएको र एकदम चाँडो सञ्चारमाध्यममा पुग्नसक्ने भएको मान्छेलाई त कानूनी लडाइँ लड्न गाह्रो भयो भने यो अवस्थामा एउटा सामान्य महिलालाई कति गाह्रो हुन्छ होला ? म अहिले यही कुरा सोचिरहेको छु ।

म आफैं यो लडाइँ लड्न जिल्ला अदालत, उच्च अदालत तथा सर्वोच्च सबै अदालतमा जान तयार भएकी हुँ । मैले जिल्ला अदालतमा नै पाँच वर्ष लडेर यो लडाइँ जितेकी हुँ । मैले माना-चामल, अंशबन्डा मुद्दा सबै कुरा, जति मलाई कानूनले अधिकार दिएको छ, मैले मेरो पूर्वश्रीमानबाट म छुट्टिँदा जे-जे पाउँछु, त्यो सबैमा मैले मुद्दा हालेको हुँ । मैले मुद्दा हालेपछि उहाँको बैंक खाताहरुदेखि सम्पत्तिको कारोबारसम्बन्धी सबै कुरा रोक्का हुनु स्वाभाविक नै हो । बैंक अकाउन्ट फ्रिज गर्नेसमेत मलाई कानूनले अधिकार दिएको थियो, तर मैले त्यसो गरिनँ । उहाँले पनि खानुपर्छ, बाँच्नुपर्छ भनेर क्यास पैसाहरु भएको कुनै पनि उहाँको सम्पत्ति मैले रोक्का गराएकी थिइनँ ।

मैले जिल्ला अदालतबाट भएको फैसलाअनुसार सम्पूर्ण अधिकार पाएर मैले मेरै हकमा सबै लडाइँ जितेको हुँ । अंशमा पनि आधा सम्पत्ति पाएकी हुँ । मैले माना-चामल पनि मागे जति नै पाएकी हुँ, तर अदालतले दिएको अधिकारलाई अस्वीकार गरेर ६ वर्ष मैले छविजीसँग काम गर्दा मैले र उहाँले कमाएको सम्पत्तिमा मेरोमात्र सम्पत्ति लिन तयार भएँ । मलाई टाउको लुकाउने ठाउँ चाहियो, अरु कुनै पनि कमाइबाट केही पनि चाहिएन, जग्गा पनि चाहिएन, माना-चामल केही पनि चाहिएन, बस मैले कमाएको सम्पत्ति मलाई घर अथवा जग्गाबाट दिनु भनेको हुँ । मलाई अब लड्नु छैन, म थाकिसकेँ भनेर मैले हिसाब घरमा गएर मिलाएकी हुँ । त्यहीअनुसार मैले अरु केही नलिएर गौरीघाटको घर लिएँ ।

माना-चामल, चार करोडको घर भन्ने सबै कुरा बकबास हुन् । त्यति धेरै मूल्यांकन भएको घर पनि होइन । एउटा खण्डहर जस्तो घर थियो, जसलाई मैले लिएर त्यसलाई ४० लाख रुपैयाँ खर्च गरेर आज बस्नयोग्य बनाएकी छु । म अहिले यही घरमा बसेकी छु ।

हुन त म यही घरमा भित्रिएकी हुँ, तर पछि मैले छाडेपछि यो घर बस्नयोग्य थिएन । एउटा खण्डहर झैं भएको थियो । छविजी पनि यो घरमा बस्न छाड्नुभएको थियो रे ! यो वाल सिस्टमको घर हो, जुन घरलाई मैले धेरै लगानी गरेरमात्र बसेकी छु । सरकारी मूल्यांकनअनुसार कुरा गर्नुपर्छ, हावामा यति र उति करोड भन्नु गलत नै हो । त्यसैले गौरीघाटको जग्गाको मूल्य अहिले गुगल सर्च गरेर पनि हेर्न मिल्छ । हेरेर आफैँ हिसाब गर्दा पनि हुन्छ, मैले कति करोडको घर लिएँ भन्ने कुरा । घरको मूल्यांकन हुँदैन । खण्डहर भैसकेको घरको के मूल्यांकन हुन्छ र ?

मेरो ऋणबाहेकको सम्पत्ति जति छ, ती सबैको दुई प्रतिशतमात्र मैले लिएको हो । धेरै भन्नुपर्दा पाँच प्रतिशत । उहाँले व्यक्तिगत रुपमा लिएको ऋणको हिसाब अदालतमा हुँदैन र त्यसलाई मानिँदैन पनि । बैंकबाट लिएको लोनको मात्र मान्यता हुन्छ । जग्गाको मूल्यांकनअनुसार नै ऋण हुन्छ भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो । छविजीको १० करोड ऋण भएको कुरा पनि सरासर भ्रामक हो । ढेड-दुई करोडको आधा ऋण मेरो भागमा परेको हो । मैले बैंकको ऋण व्यहोर्नुपरेको थियो । व्यक्तिगत ऋणको कागजपत्र त म पनि बनाउन सक्छु नि होइन ? उहाँको सम्पत्तिको तुलनामा त्यो ऋण केही होइन । यदि मलाई उहाँको सम्पत्तिको लोभ भएको भए मैले माग गरेअनुसारको सम्पत्ति जिल्ला अदालतमा जितिसकेकी थिएँ ।

अदालतमा अर्को एउटा सुविधा पनि छ, त्यो के हो भने पक्ष र विपक्ष भन्ने हुन्छ । यदि पक्षले मुद्दा हालेर जित्छ भने त्यो व्यक्तिले मुद्दाका लागि सुरुदेखि नै गरेको खर्च सबै विपक्षले व्यर्होनुपर्ने हुन्छ । त्यो पनि सुविधा थियो । मैले पाँच वर्ष मुद्दा लड्दा कति खर्च भयो होला त ? पाँच वर्षको माना-चामल कति थियो होला ? यदि मलाई त्यस्तै लोभ भएको भए मानाचामल र मुद्दाका लागि लागेको खर्च सबै लिने थिएँ होला नि त ! जिल्लामा लड्न पाँच वर्ष लाग्यो भने उच्च एक वर्ष लड्न कुन चाहिँ ठूलो कुरा थियो र ? एक वर्षमा उच्चमा फैसला हुन्थ्यो ।

सर्वोच्चको कुरा गर्नुपर्दा सर्वोच्चमा दुई पटकको सुनुवाइमा फैसला हुन्छ । बढीमा म डेढ वर्ष अझै लडेको भए उहाँको सम्पत्तिको आधा मैले पाउँथें । पाँच वर्षको माना-चामल हिसाब भएर सबै क्यासमा आउँथ्यो । सम्पूर्ण कुरा मेरो पक्षमा थियो, तर मैले सबै कुरा छाडेकी हुँ । हामी दुवैले हिसाब गरेर त्यहीअनुसार मैले घर लिएकी हुँ ।

मैले चर्को डिमान्ड गरेको कुरा पनि नआएका होइनन्, तर मेरो त्यस्तो ठूलो डिमान्ड केही पनि थिएन । एउटा महिलालाई श्रीमानसँग छुट्टिँदा पाउने जुन अधिकार हुन्छ, त्यही अधिकारमा मैले मुद्दा दर्ता गराएकी हुँ । म एउटा पब्लिक फिगर भएर तुरुन्त हरेक ठाउँमा आवाज उठाउन सक्ने क्षमता भएको मान्छेलाई पनि लड्न यति गाह्रो भयो । म अदालत धाउँदा-धाउँदा दिमागी रुपमा पनि बिरामी भएँ ।

यसको एकमात्र कारण हाम्रो समाज हो । म सबै दोष समाजलाई नै दिन्छु । श्रीमानसँग चित्त बुझेन भने अदालत जान भन्छ समाजले, अनि अदालतमा यही समाजले साथ दिँदैन । भन्दा पुरुष महिला बराबर भन्छन्, तर समाजले यो कुरा दिमाग र मनमा मात्र लिएर हिँडेको छ । यदि कुनै महिला वैवाहिक जीवनमा खुशी छैन, दबिएर बस्नु परेपछि त सम्बन्ध विच्छेदको बाटो रोज्छ नि ? खुशी मनले त गर्ने होइन नि सम्बन्ध विच्छेद ?

तर पछि यही समाजले त्यो त डिभोर्सी महिला हो भनेर छिछि गर्न थाल्छ । म आफ्नो आमाबुबासँग मज्जासँग गएर बस्न सक्थेँ, तर यो समाजले त्यो पनि दिँदैन नि ! म मेरो घरभित्र सुरक्षित हुन्छु, तर घरबाट एक कदम बाहिर राख्नासाथ मलाई असुरक्षित महसुस गराउने नजरहरुले हेर्न थालिहाल्छ । त्यसैले सुरक्षित साथ आफ्नो टाउको लुकाउन मैले घर लिएकी हुँ ।

मैले एउटा डिभोर्स गर्दा त मलाई मान्छे मारे जसरी अपमानित गरिएको छ । अहिले सामाजिक सञ्जालले गर्दा सामाजिक संरचना झन्-झन् नराम्रो हुँदै गएको छ । यही समाजले गर्दा विभिन्न कुरा गर्ने भएकाले नै यस्ता कुराहरुमा कि महिला चुप लागेर बस्छन् कि आत्महत्या गर्न बाध्य हुन्छन् ।

‘तैँले यो कुरा ठीक गरिस्’ भनेर शिर उठाएर हिँड्न सक्ने दिन हाम्रो समाजमा कहिले आउँछ होला ?


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #शिल्पा भन्छिन्- मैले छविजीसँग पाँच प्रतिशत सम्पत्ति मात्रै लिएँ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
17°
Fair
6:53 am5:37 pm +0545