Techie IT
शनिबार, वैशाख ६,२०८२

उच्च अंकको वृद्धिका साथ नेप्से पुनः२७ सयमाथि, बैंकिङ इन्डेक्सको सपोर्ट


काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) ५ दिनपछि उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.७१ प्रतिशत अर्थात ४५.८८ अंकले बढेर २ हजार ७१५.७१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१४ प्रतिशतले बढेर ४६४.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर ५ अर्ब ५ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘बजार केही दिनदेखि लागातार घटेका कारण आज बढोत्तरी आएको हो । केही समयदेखि बजारमा चल्दै आएको राजनीतिक अन्यौला प्रष्ट हुँदै गएपछि आज लगानीकर्ताले घटेर सेयर बेच्न नचाहँदा बजारमा बढोत्तरी आएको छ ।’

विष्टले अब बजार घट्नु पर्ने कुनै कारण नभएकाले पुस मसान्तसम्म बजारमा बढोत्तरीले निरन्तरता पाउने बताए ।

अर्का बजार जानकार निमानन्द कंडेलले निरन्तर घटेको बजारलाई बैंकिङ इन्डेक्सले सपोर्ट गर्दा बजार बढेको बताए । ‘प्राविधिक रुपमा पनि प्राविधिक विश्लेषकहरुले २६६० मा बलियो सपोर्ट रहेको बताएका कारण बजारमा मनोबल बढ्दा बजारले आज गति लिएको छ । यद्यपी अझै एक–दुई कारोबारबाट बजारको आगामी यात्रा निश्चित हुनेछ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.४३ प्रतिशतले बढेर १ हजार ४५२.८३ विन्दुमा पुग्यो ।

यस्तै आज विकास बैंक समूह १.६३ प्रतिशत, फाइनान्स १.८३ प्रतिशत, होटल १.०५, हाईड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७,उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त ०.४२,निर्जीवन बीमा १.०३,अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशतले बढ्यो ।

आज म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड १५ लाख बढीको कारोबार भयो । रिभर फल्स पावरको पनि आज २० करोड २५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८१ लाख,जोशी हाईड्रोपावरको ९ करोड ८५ लाख र एचआईडीसीएलको ८ करोड १३ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज न्याली हाईड्रोपावर र कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य करिब १० प्रतिशतले बढ्यो ।

यस्तै नारायणी डेभलपमेन्ट बैंकको ८.८१ प्रतिशत,माथिल्लो मैलुङखोलाको ८.५१ र राप्ती हाईड्रोको सेयरमूल्य ७.१६ प्रतिशतले बढ्यो ।

यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । जोशी हाईड्रोको पनि आज ८.२२ प्रतिशत र महिला लघुवित्तको सेयरमूल्य ६.२७ प्रतिशतले घट्यो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #उच्च अंकको वृद्धिका साथ नेप्से पुनः२७ सयमाथि, #बैंकिङ इन्डेक्सको सपोर्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545