Techie IT
सोमबार, वैशाख ८,२०८२

पाँचौँ प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला सञ्चालनमा आयो


काठमाडौं । ललितपुरस्थित पाटन संग्राहलयमा आयोजित पाँचौँ प्राङ्गारिक तथा प्राकृतिक कृषि मेलाको उद्घाटन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । अर्गानिक एशोसिएशन अफ नेपाल र कञ्चनजंघा टि स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा नयाँ वर्ष २०७९ बिहीबार बैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।

उक्त मेलाको उद्घाटन वरिष्ठ नेता पौडेलले जति मानव जाती प्रकृतिबाट टाढा हुँदै गयो उति आपत र विपतमा पर्दै आएको विषयलाई कोरोना भाइरसले पुष्टि गरेको भन्दै अर्गानिक कृषि खेतीलाई प्राथमिकता दिनु पनि प्रकृतिसँग नजिक हुनु आवश्यक रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले नेपालको अधिकांश जमिन बाँझै रहेको तथा पानी त्यसै खेर गइरहेको भन्दै त्यसको उपयोग गर्नुपर्ने पनि बताए । उनले देशको स्थायी विकासको लागि बिस्तारै अर्गानिक उत्पादनमा जानुपर्ने भन्दै त्यसो गर्न सके नेपालको पर्यटन क्षेत्रको समेत विकास हुने उल्लेख गरे । स्वस्थ, शुखी र आनन्दको जीवन जिउन पनि अर्गानिक अभियान अगाडि बढाउनुको विकल्प नरहे उल्लेख समेत वरिष्ठ नेता पौडेलले जिकिर गरे ।

साथै, अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष एवं पूर्वमन्त्री दिपकप्रकाश बास्कोटाले रसायनिक मलबाट हुने बढी उत्पादनलाई अर्गानिक खेतीबाट हुने कम उत्पादनले पनि धान्न सक्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न नसकिएको बताउँदै सरकारले नीति ल्याएर नेपाललाई पूर्ण अर्गानिक मुलुक बनाउन लाग्नुपर्ने तर्क गरे । उनले प्रधानमन्त्री र राष्ट्रपतिको आग्रहमा नभई सहि नीति ल्याएर मात्रै विदेशिएका नेपालीलाई स्वदेश फर्कन वाध्य तुल्याउन सकिने बताए ।

उक्त कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति रहेका सुनिलबाबु श्रेष्ठले नेपाल उर्वर भूमि रहेको बताउँदै नेपालमा शिप र परम्परागत ज्ञान कृषिसँग जोडिदै आएको इतिहास उल्लेख गर्दै अर्गानिक उत्पादनलाई उद्योगसँग जोड्न सके त्यसले देशका लागि राम्रो प्रतिफल दिने बताए ।

कार्यक्रम माझ मेलाकी संयोजक तथा अर्गानिक एशोसियसन अफ नेपालकी महासचिव शान्ता बास्कोटाले विगतका मेलाबाट प्राप्त उपलब्धीबाट प्रेरित हुँदै पाँचौ श्रिंखलासम्म आई पुगेको स्मरण गर्दै नेपाली उत्पादन प्रवर्द्धन गर्न मेला फलदायी हुने बताइन् ।

अर्गानिकको विकल्प अर्गानिक नै रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले अर्गानिक उत्पादनमा अघि बढिरहेको प्रसंगसहित नेपाल सरकारले अर्गानिक खेतीलाई प्राथमिकतामा राख्दै जानुपर्ने बताइन् ।

उनले अर्गानिक कृषिमा लागेका व्यक्ति र कम्पनीबाट उत्पादित सामग्री एकै ठाउँबाट बिक्री हुँदा मेला सबैका लागि साझा थलो बन्ने भन्दै ५० स्टल र २०० भन्दा बढी सामग्री राखिएको त्यस स्टलमा स्वदेशी विदेशी १ लाखले अवलोकन गर्ने अनुमान गरिएको बताइन् ।

त्यसैगरी कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले निजी स्तरबाट अर्गानिक उत्पादनमा बढवा दिँदै गएको र यस्ता मेलाले उद्यमशिलता विकासमा प्रोत्साहन मिल्ने बताए ।

ग्लोबल कन्ट्रि अफ डिभाईन वर्ल्ड पिसका म्यानेजिङ डाईरेक्टर राजा किन्स्ले ब्रुकले नेपाल अर्गानिक मुलुकका रुपमा रहेर आफ्ना उत्पादनलाई विश्व बजारसम्म पुर्याउन सक्छ भन्दै नेपालले विश्वलाई नै नेतृत्व गर्न सक्ने बताए । उक्त कार्यक्रम उद्घाटनपछि वरिष्ठ नेता पौडेलले मेलाको अवलोकनसहित सामाग्रीहरु खरिद गरेका थिए ।

५० स्टल र चिया, कफी, अचार, मह, जुस, जडिबुटी, हस्तकलालगायतका २०० हाराहारी वस्तुहरु बिक्रीका लागि राखिएको थियो । उक्त मेला वैशाख ४ गतेसम्म चल्ने र विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालनमा रहने आयोजक संस्थाकी तारा बास्कोटाले जानकारी दिइन् ।

सो कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, कार्यक्रममा ग्रिल उद्योग संघका अध्यक्ष मोहन कटुवाल, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका का. मु. कार्यकारी निर्देशक सुयस खनाल, नेपाल एओटिएस एल्मुनाइ सोसाईटीका अध्यक्ष प्रशान्त श्रेष्ठ, कृषि अभियन्ता उद्धव अधिकारी, ग्लोबल डिभाईनकी लेस्ले ब्रुक, अर्गानिक ईन्स्पेक्टर महेश्वर घिमिरे, नेपाल अर्गानिक एशोसियसनका उपाध्यक्ष प्रेम लामा लगायतको सहभागीता थियो ।


क्याटेगोरी : अर्थ, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545