बिचौलियाको मारमा केरा किसान

चितवन । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गर्नुभएको छ ।
उहाँ मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गर्नुभयो, “बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।” आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उहाँको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी केरा बिक्रीयोग्य भएको छ ।
आफ्नो बारीबाट व्यापारीले प्रतिकोसा रु तीनमा उठाउने गरेको उहाँ बताउनुहुन्छ । भारतको केरलाबाट झिकाइएको उच्चस्तरको बेर्ना लगाएको उहाँको भनाइ छ । पानीका कारण थप पाँच बिघामा लगाएको केरामध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पीडा हुँदाहुँदै बिक्रीयोग्य केराले पनि बजार मूल्य नपाउँदा आफू जस्ता कृषक मारमा परेको उहाँले दुखेसो पोख्नुभयो ।
जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदी बिचौलियाको मारमा परेको गुनासो गर्नुहुन्छ । बारीबाट प्रतिकोसा रु तीनदेखि चारमा बिक्री गरेको केरा उपभोक्ताले रु आठसम्म यहीँको बजारमा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । जिल्लाभरमा उहाँको मात्र ७५ बिघामा केराखेती लगाइएको छ । भरतपुरको गौरीगञ्जबाट थोक मूल्यमा उपभोक्तालाई केरा बिक्री गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मण्डी, खुद्रा व्यापारी हुँदै उपभोक्तामा पुग्दा धेरै महँगो भएपछि मैले फार्मबाट पनि खुद्रा बेच्न थालेँ ।” आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाइ छ । सुवेदी २१ वर्षयता यहाँ धेरै केराखेती गर्ने कृषकका रूपमा परिचित हुनुहुन्छ ।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घानाथ महतो केरा बारीबाट प्रतिकोसा डेढदेखि चार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि उपभोक्ताले दोब्बरभन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता रहेको पीडा पोख्नुहुन्छ । “जमानादेखि हामीले पीडा पोख्दै आएका छौँ । कसले सुनिदिने”, उहाँले भन्नुभयो, “दुःख कृषकको तर नाफा बिचौलियालाई मात्र भयो ।” जिल्लामा केराखेती गर्ने कृषकको सङ्ख्या ७०० रहेको छ । तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । एक बिघामा केराखेती गर्न करिब चार लाख खर्च हुन्छ । उहाँका अनुसार एक बिघामा एक हजार ६०० बोट लगाइन्छ । एउटा बोटमा ८० देखि १०० कोसा केरा फल्ने गर्दछ ।
अहिले बजारमा लुकीछिपी भारतीय केरा आइरहेकाले यहाँको केरा बिक्री कम भएको कृषक बताउँछन् । देशका विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अरु बढेको महतोको भनाइ छ ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #केरा किसान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्