सिंचाई, कृषि प्रविधि र कौसी खेती विस्तारमा नेपाल एग्रो लाइभ देशव्यापी

काठमाडौँ, घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो ।
“ घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ”, कौसी खेती प्रवद्र्धनमा लाग्नुभएका नेपाल एग्रो लाइभप्रालिका प्रमुख कार्यकारी अधिकृत राजन गैरे भन्नुहुन्छ । शहरमा सीमित जग्गा हुने अग्ला र घनावस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौसी खेती गरिन्छ ।
नेपाल एग्रोले कृषिको व्यवसायीकरणमा जोड दिँदै त्यसको विकासका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालीम र परामर्श दिन्छ । साना, थोपा र मिस्ट सिँचाइ, बेमौसमी तरकारी उत्पादन गर्न बाँस र फलामका आधुनिक प्लाष्टिक घर बनाउन यसले काम गर्दै आएको छ ।
अहिले कोरोनाले चिन्ता थपेको छ । लकडाउन, कफ्र्यूले घरमै बस्नुपर्दा फुर्सदको उपयोग, शारीरिक परिश्रम र मन बहलाउन यो खेती उपयोगी बनेको छ । यसमा धेरैजसो माटोको प्रयोग गरिएपनि अचेल माटोभन्दा नरिवलको जटालाई धूलो बनाई खदिलो रुपमा तयार पारिएको “कोकोपीट” प्लाष्टिकको झोला “ग्रो ब्याग” मा राखी बिरुवा रोपिन्छ । कोकोपीटमा अर्गानिक मलसहितका पौष्टिक तत्व मिसाइन्छ जसले बिरुवा छिटो हुर्कन सघाउँछ । रोगबाट बच्न निमको तेल छरिन्छ । रोग बढी लाग्ने, फोहर र छतमा असर पर्ने हुँदा माटोको तुलनामा कोकोपीटको प्रयोग बढेको छ । पाँच केजीको नौ वटा ब्लक भयो भने त्यसले ५० वटा ग्रो ब्यागमा तरकारी फलाउन सकिने कार्यकारी अधिकृत गैरे बताउनुहुन्छ । प्रदूषण र तापक्रम केही कम गर्न र घरको सुन्दरता बढाउन यो खेती गरेको पाइन्छ ।
नेपाल एग्रोले नुवाकोटको किम्ताङ र बुम्ताङका कृषकलाई आधुनिक तरकारी उत्पादनसम्बन्धी कार्यक्रम, काभ्रे तिमालका कृषकलाई आकाशे पानी सङ्कलन, दामनमा विविध सिँचाइ, काठमाडाँै टोखाको लक्ष्मिपुर कृषि फार्म, ललितपुर सुनाकोठीको गणपति यल कृषि फार्म र सुयोग आधुनिक कृषि फार्मको लागि व्यावसायिक खेती गर्न सर्वे डिजाइनलगायत प्राविधिक सेवाको काम गरिसकेको छ ।
संस्थाले नख्खीपोट, स्वयम्भू, कुसुन्ती, रामकोट, कोलोनीसहित सयजति घरमा पुगेर कौसी खेतीको तालीम दिएको छ । “५० ब्यागमा तरकारी लगाउँदा सानो परिवारलाई मासुबाहेक मौसम अनुसारका ताजा तरकारी खान पुग्छ”, गैरे भन्नुहुन्छ । यसमा करेला, घिरौला, सीमी, बोडी, खुर्सानी, क्याप्सीकम, गोलभेडा, धनियाँ, बर्खे साग, भेडीलगायत मौसम अनुसारका तरकारी लगाउन सकिन्छ । नेपाल एग्रोले बिरुवा, बीउ, मल, ब्याग, परामर्श र सामग्रीसहित प्याकेजमा करिब रु १५ हजारमा सेवा दिएको हिकास्टबाट कृषि विज्ञानमा स्नातक संंस्थाका कृषि अधिकृत सार्थक गैरेले बताउनुभयो । “थोपा सिँचाइ लगाउन सकिन्छ, तर अहिले पानी हाल्ने हजारी दिएका छौँ”, अधिकृत सार्थक थप्नुहुन्छ । ब्यागमा बेलाबेलामा मल थप्नुपर्छ ।
राजनले आइडिइ नेपालमा १० वर्ष तथा तथा युएसएआइडीको सहयोगमा ११ जिल्लामा सञ्चालित किसान परियोजनामा साना तथा थोपा सिँचाइ, कृषि प्रविधि, अनुसन्धान र विकाससम्बन्धी अनुभव बटुल्नुभएको छ । “यो खेतीमा अनुदान होइन निजी क्षेत्रले आधुनिक प्राविधिक परामर्श र व्यावहारिक ज्ञान दिनुपर्छ”, बीस वर्षको कृषि खेती र प्रविधिमा सक्रिय उहाँको भनाइ छ । संस्थाले गोर्खा र धादिङका एक हजार १०० घरमा स्वच्छ बगैँचा स्वच्छ घरको कार्यक्रम चलाएको थियो ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #kausi kheti
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्