Techie IT
आईतबार, वैशाख ७,२०८२

“नेपालमा ग्याष्ट्रोनोमी टुरिजमको अथाह संभावना छ” : अजयकुमार श्रेष्ठ (भिडियोसहित)


काठमाण्डौ  । युनेस्को क्लब महासंघ नेपालका केन्द्रीय सदस्य अजयकुमार श्रेष्ठले नेपालमा पाककलामार्फत पर्यटन प्रवर्द्धनको अपार सम्भावना रहेको बताउनुभएको छ। “नेपाल पर्यटन प्रवर्द्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयक विचार गोष्ठी, प्रवासी नेपाली सेफ सम्मान कार्यक्रम तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै श्रेष्ठले नेपाली सेफहरूलाई नेपाली स्वादका सांस्कृतिक कूटनीतिज्ञ (Gastonomy Diplomat) को रूपमा व्याख्या गरेका  गर्नुभयो ।

श्रेष्ठका अनुसार ग्याष्ट्रोनोमी टुरिजम आजको दिनमा विश्वभर तीव्र गतिमा विकास हुँदै गएको एक महत्वपूर्ण क्षेत्र हो। सन् २०२४ मा यसको विश्वव्यापी बजार १३.८३ अर्ब अमेरिकी डलर रहेकोमा २०३४ सम्ममा यो ८५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। युएनडब्लुएनटिओको तथ्यांक अनुसार, विश्वभर पर्यटकहरूले गर्ने कुल खर्चमध्ये झण्डै एक तिहाइ खाना र पेय पदार्थमा खर्च हुन्छ।

श्रेष्ठले आफ्ना अन्तर्राष्ट्रिय भ्रमणका अनुभवहरू साझा गर्दै विभिन्न देशका परिकारहरू ती देशहरूको संस्कृति, स्मृति र पहिचानसँग जोडिएको स्पष्ट पारे। उहाँले भन्नुभयो, “Georgia को वाइन, इटालीको ग्राप्पा, जापानको साके, कोरियाको सोजु—यी सबै त्यहाँको आत्मा जस्तै हुन्। त्यसैगरी, जोमसोमको याक स्टेक पनि कुनै विदेशी पर्यटकका लागि नेपालप्रतिको अमूल्य सम्झना बन्न सक्छ।”

नेपालमा ग्याष्ट्रोनोमी टुरिजम प्रवर्द्धनका लागि श्रेष्ठले तीनवटा रणनीतिक प्रस्ताव अघि सार्नुभएको छ। पहिलो, युनेस्कोमा नेपाली परिकारहरू दर्ता गर्ने पहल गरिनुपर्छ, जसमा विशेषगरी नेवारी परिकार, हिमाली जडिबुटीयुक्त खानाहरू र गाउँघरका मौलिक व्यञ्जनहरू पर्न सक्छन्। दोस्रो, “Nepal International Food Festival” आयोजना गरी काठमाडौं, पोखरा र लुम्बिनीलाई वार्षिक ग्याष्ट्रोनोमिक गन्तव्यका रूपमा विकास गर्ने प्रस्ताव उहाँले गर्नुभयो। तेस्रो, “Dedicated Culinary Tourism Association” स्थापना गरी सेफ, पर्यटन व्यवसायी, सरकार र अनुसन्धानकर्ताहरूबीच सहकार्य गराएर नीति निर्माण, तालिम, ब्रान्डिङ र बजार प्रवर्द्धनमा योगदान पुर्‍याउन सकिने उहाँको धारणा थियो।

उहाँले हालै अगाडि सारिएको “Millennium Homestay Trail” परियोजनाको पनि चर्चा गर्नुभयो। उक्त परियोजनामा ५–७ दिनको यात्रामार्फत गुरुङ, नेवार, मगर र तिब्बती समुदायका परिकारहरूको अनुभव समेट्ने प्रयास भइरहेको जानकारी दिँदै यसलाई “Nepal’s Cultural & Culinary Route” का रूपमा विकास गरिने योजना रहेको बताउनुभयो।

कार्यक्रममा श्रेष्ठले सम्पूर्ण नेपाली सेफहरूप्रति नमन गर्दै एउटा प्रेरणादायी सपना पनि बाँडे—“एउटा नेपाली सेफले Michelin Star   जितून, र नेपाली स्वादले विश्वको  Gourmet बजारमा गर्विलो स्थान पाओस्।” साथै, उहाँले कार्यक्रमका आयोजक तथा सेफहरूलाई सम्मानित गर्ने प्रेरणादायी मञ्च तयार पार्ने आयोजकप्रति विशेष धन्यवाद पनि ज्ञापन गर्नुभयो

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थिति रहेको थियो। अन्य विशिष्ट अतिथिमा पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, समाजसेवी एवं गैरआवासीय नेपाली अभियन्ता रुद्र शर्मा लगायतको उल्लेखनीय उपस्थिति थियो भन नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, टानका पूर्व अध्यक्ष खुम बहादुर सुवेदी, वरिष्ठ अधिवक्ता राजकुमार थापा, युनेस्को महासंघ नेपालका केन्द्रिय सदस्य अजय कुमार श्रेष्ठ, नेपाल सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अतिथि रेग्मीले  पाककलाको माध्यमबाट नेपाली पहिचान प्रवर्द्धन गर्न सकिने बताउँदै, राष्ट्रिय परिकार र उत्पादनलाई प्राथमिकतामा राखेर पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तैले नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सेफहरूको पेशा आम नागरिकको भरोसा प्राप्त गर्ने जिम्मेवार पेशा भएको उल्लेख गर्दै, सेफलाई केवल भान्सामा सीमित गरेर चित्रण गर्नु अनुचित हुने धारणा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रम आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्व तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरियो।

सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा, दुबईमा कार्यरत पेस्ट्री तथा बेकरी सेफ ह्युमन लिम्बु, साउदी अरेबियामा रहेका पेस्ट्री सेफ सरोज सिंह थापा, अष्ट्रेलियामा कार्यरत सेफ भावि खनाल र सेफ कमल थापा, अमेरिकामा रहेका सेफ वेदप्रसाद अधिकारी र लाल तामाङ, दुबईस्थित एजुकेटिभ सेफ गोविन्द राई तथा सेफ अरुण अधिकारी, कतारमा कार्यरत सेफ सूर्य भण्डारी, युएईमा रहेका सेफ उमेश तामाङ, क्यामोन आइल्याण्डमा कार्यरत सेफ नारायण बहादुर थपलिया, अष्ट्रेलियाका सेफ सुवास थापा र अजय बज्राचार्य, तथा नेपालमै रहेका चित्र बुढा _पूर्वमा कतारमा कार्यरत) हुनुहुन्छ।


क्याटेगोरी : पर्यटन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545