मदन भण्डारी राजमार्ग विस्तार,पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे

सुर्खेत, वैशाख ७ गते । मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ९० प्रतिशत सडक कालोपत्रे भइसकेको छ भने अब १० प्रतिशत मात्र कालोपत्रे हुन बाँकी छ ।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार पूर्वी सुर्खेतमा पर्ने ३५ किमी सडकमध्ये २९ किमी कालोपत्रे भइसकेको छ । कार्यालयका इन्जिनियर रेशम वलीले हालसम्म २९ किलोमिटर सडक कालोपत्रे भइसकेको र बाँकी रहेको छ किलोमिटर सडकमा पनि कालोपत्रेको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार यो खण्डमा पर्ने पुलहरूको काम पनि सम्पन्न भई नियमित यातायात सञ्चालन भइरहेका छन् ।
इन्जिनियर वलीले मदन भण्डारी राजमार्गको पूर्वी खण्डको काम अब अन्तिम चरणमा रहेको बताउनुभयो । यो खण्डमा निर्माण गर्नुपर्ने अधिकांश पुल निर्माण भइसके, अब एउटा पुल मात्र ढलान गर्न बाँकी छ । वीरेन्द्रनगर, लेकबेँसी, गुर्भाकोट भेडाबारीसम्म जोडिने यो सडक निर्माण गर्न २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । २०८१ पुस २६ गतेसम्मका लागि म्याद थपिएको थियो ।
उक्त मितिमा काम नसकिएपछि पुनः म्याद थपिएको छ । अन्तिम पटक २०८२ भदौ २९ सम्म म्याद थप गरिएको हो । योजनाले १२ वटा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म ११ वटा पुलको काम पूरा भएको छ । सात वटा पुल निर्माण गर्ने जिम्मेवारी पाएको हिम सगरमाथा कन्स्ट्रक्सन कम्पनी चितवनले सात वटै पुलको काम पूरा गरेको छ । कम्पनीले उक्त पुल बनाउन २६ करोड ५६ लाख रुपियाँमा सम्झौता गरेको थियो ।
पूर्वतिर कालोपत्रे भएर गाडी गुड्न थालेपछि त्यस क्षेत्रका बासिन्दाको जनजीवन सहज हुन थालेको छ । पहिले सदरमुकाम वीरेन्द्रनगर आउन तीन/चार घण्टा लाग्ने गरेकोमा अहिले बढीमा एक घण्टामा छोटिएको स्थानीय बताउँछन् । लेकबेँसी नगरपालिका–७ का वडाध्यक्ष रुद्रबहादुर नेपालीले अहिले सडक कालोपत्रे भएपछि काठमाडौँ जाने रात्रि बस पनि यही सडक भएर जाने गरेको बताउनुभयो । उहाँले सडक कच्ची हुँदा फाट्टफुट्ट आउने गाडी अहिले कालोपत्रे भएपछि नियमित आउने गरेको जानकारी दिनुभयो ।
सुरुमा भेडाबारी धुलियाबिट सडक नामकरण हुँदा झन्डै तीन दशकसम्म स्तरोन्नति हुन नसकेकोमा मदन भण्डारी राजमार्ग जोडिएपछि स्तरोन्नति भएको स्थानीयको भनाइ छ । मदन भण्डारी राजमार्गको पूर्वी खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगे पनि पश्चिम क्षेत्रमा भने विवादले ढिलाइ भएको छ । चौकुने गाउँपालिकाको गुटु–बल्दे खण्डको बिजौरामा स्थानीयले अवरोध गरेपछि काम रोकिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे, #मदन भण्डारी राजमार्ग विस्तार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्