Techie IT
शनिबार, वैशाख ६,२०८२

वीरगञ्जमा फेरि किन बढ्यो तनाव ? सद्भाव कायम राख्न मुख्यमन्त्री र मन्त्रीको अपिल


जनकपुरधाम । हनुमान जयन्तीमा निकालिएको शोभायात्राको क्रममा दुई समुदायबीचको झडपपछि केही साम्य बनेको वीरगञ्जमा पुन:न तनाव बढेको छ । सर्वपक्षीय सहमतिपछि कर्फ्यू हटाइएकोमा मंगलबार साँझदेखि हिन्दू समुदायका पुन: आन्दोलित बनेका छ्न् ।

 

सर्वपक्षीय सहमतीविपरीतको कार्य गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । आफ्ना पक्षधरका दुईजना पक्राउ गरेको भन्दै हिन्दू समुदायका युवाले हिजो साँझ जिल्ला प्रहरी कार्यालयमा धर्ना र प्रदर्शन गरे ।

प्रहरीको लाठीचार्जबाट एभिन्युज टेलिभिजनका संवाददाता अर्जुन गुप्ता र अर्का एक पत्रकार घाइतेसमेत भएका छन् । टाउकोमा चोट लागेका गुप्ताको नरायणी अस्पतालमा उपचार भइरहेको छ ।

 

शोभा यात्रामा मस्जिदको छतबाट ढुंगा हानिएको भन्दै उनीहरूलाई मात्र कारवाही गर्न माग गरिएको छ ।

बुधबार बिहानैदेखि परवानीपुर, प्रतिमा चौक र नेशनल ट्रेडिङ अगाडि टायर बालेर प्रदर्शन गरिएको छ । अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालित छन् । पुन: सद्भाव बिग्रिन थालेपछि सीडीओ गणेश आर्यालले छलफलमा बोलाएका छ्न् ।

पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले सामाजिक सद्भाव बिथोल्ने चारजनालाई नियन्त्रणमा लिएर कारवाही थालिएको बताए । उनले आफ्नो पक्षका दुई जनालाई पनि पक्राउ गरेको भन्दै हिन्दूवादीले आन्दोलन गरिरहेको बताए । नेपाल प्रेससँग उनले भने, ‘वीरगञ्जमा बढ्न थालेको तनाव घटाउने प्रयासमै छौं ।’

मुख्यमन्त्री र मन्त्रीको चासो
मत्थर बनेको दुई समुदायबीचको विवाद पुन: चर्किने र सामाजिक सद्भाव बिथोलिने खतरा बढेपछि मधेसका मुख्यमन्त्री सतिश सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

सिंहको तर्फबाट उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले निकालेको विज्ञप्तिमा मुख्यमन्त्रीले गहिरो चासो लिएको उल्लेख छ । तनाव साम्य पारी जनजीवनलाई सहज तुल्याउन सम्बद्ध प्रशासनिक तथा प्रहरी अधिकारीहरूको निरन्तर सम्पर्कमा रहेको उनले बताएका छन् ।

समाजका सबै धार्मिक, साँस्कृतिक तथा जातीय समुदायवीच एकअर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवम् सहिष्णुता कायम हुनसक्ने भन्दै आपराधिक कृत्यमा संलग्न जोसुकैलाई छानबिन तथा कारवाहीको दायरामा ल्याउन मुख्यमन्त्रीले ध्यानाकर्षण गरेका छन् ।

एकअर्काको धार्मिक विश्वास, उपासना पद्धति एवम् अभ्यासप्रति सम्मान गर्नुपर्ने नागरिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्दै यसलाई सङ्कल्पका रूपमा सबैले अघि बढाउनुपर्ने मुख्यमन्त्री सिंहको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख छ ।

यस्तै खानेपानीमन्त्री प्रदीप यादवले सामाजिक सद्भाव र शान्ति कायम राख्न वीरगन्जबासीसँग अपिल गर्दै स्थानीय प्रशासनले दोषीको पहिचान गरी कानूनी कारवाही अगाडि बढाउनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘आफ्नो प्यारो शहरमा तनाव टुसाएको समय देखि नै म व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको सम्पर्कमा निरन्तर छु । त्यसैगरि विभिन्न समुदायका अगुवाहरूसंग समन्वय र सल्लाह गरि शांति स्थापित गर्ने प्रयासमा छु ।’

उनले सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किने नगरवासीलाई विश्वास दिलाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वीरगञ्जमा फेरि किन बढ्यो तनाव ? सद्भाव कायम राख्न मुख्यमन्त्री र मन्त्रीको अपिल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545