Techie IT
सोमबार, वैशाख ८,२०८२

रुपन्देहीमा एक नक्कली परीक्षार्थी पक्राउ


काठमाडौँ, चैत ७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसइई शान्त एवम् मर्यादित वातावरणमा सम्पन्न भएको बताउनुभएको छ ।

उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तथा जापानमा भाइवरमार्फत भएको परीक्षा सहज वातावरणमा सम्पन्न भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशभर असाध्यै शान्त ढङ्गले परीक्षा सञ्चालन भयो । कहीँ पनि त्यस्तो समस्या भएन । खास गरी, मधेसमा पाँच, सात वटा अनुगमन टोली बनाएर असाध्यै मर्यादित रूपमा परीक्षा सञ्चालन भएको छ ।”

उहाँले रुपन्देहीमा एक नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । यसबाहेक कुनै पनि छुटफुट घटना नभएको तथा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीका सम्बन्ध समस्या नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशको कुनै पनि भागमा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीसम्बन्धी समस्या भएन अहिलेसम्म । रुपन्देहीमा एउटा नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । त्यसबाहेक छुटफुट घटना घटेको छैन ।”

उहाँका अनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयले प्रदेशमा र जिल्ला परीक्षा समन्वय समितिको निर्णयले जिल्ला भरी जुन किसिमको अनुगमन समिति बनेको छ त्यही अनुसार निर्बाध रूपले अनुगमन टोली परिचालन हुने नीति रहेको छ । जापानका लागि एम्बेसीबाट अनुगमन हुने उहाँको भनाइ छ ।

उहाँका अनुसार पाँच लाख १४ हजार ७१ विद्यार्थी एसइईमा सहभागी हुनुभएको छ । एसइई को पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रुपन्देहीमा एक नक्कली परीक्षार्थी पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545