Techie IT
सोमबार, वैशाख ८,२०८२

ज्ञानेन्द्र शाहको काठमाडौं ‘इन्ट्री’- आफूलाई खाँटी राजावादी देखाउन थापा र लिङदेनको होडबाजी !


हेटौंडा । पूर्व-पश्चिम राजमार्ग भई यात्रा गर्ने अधिकांशले सप्तरी जिल्लाको बरमझिया क्षेत्रबाट सप्तकोशी ब्यारेज आसपाससम्म सयौं पेडा पसल देखेकै हुनुपर्छ । त्यहाँ रहेका अधिकांश पसलेले आफूलाई ‘सक्कली’ पेडा पसल दाबी गरी बोर्ड झुण्ड्याएको देख्छौं । कुनै समयका एक जना बाजेले पेडा पसल खोलेर प्रसिद्धि र पैसा कमाएपछि अहिले त्यही क्षेत्रमा सयौं व्यवसायीले आफू त्यही पुरानो बाजे उत्तराधिकारी भएको दाबी गर्दै आएका छन् ।

यो विषय जोड्नुको मुख्य कारण अहिले राप्रपा र राप्रपा नेपालका अध्यक्षहरुबीच को बढी पूर्वराजा ज्ञानेन्द्र शाहका असली सेवक वा असली पक्षपाती भन्ने विषय हो ।

गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले देशवासीको नाउँमा भन्दै एउटा भिडियो सन्देश जारी गरे । उक्त सन्देशमा उनले सांकेतिक रुपमा आफू सक्रिय हुने समय आएको जनाउ दिए ।

ज्ञानेन्द्रको सन्देशले नेपाली राजनीतिमा एकप्रकारको तरंग नै ल्याइदियो । तरंग यतिसम्म ल्यायो कि प्रधानमन्त्रीदेखि प्रतिपक्ष दलका नेताले समेत ज्ञानेन्द्रको अभिव्यक्तिमा टिप्पणी गरे । अझ माओवादी केन्द्रले शनिबार नै आफ्नो तराई–मधेश केन्द्रित कार्यक्रम नै स्थगित गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति नेपालको कट्टर राजावादी पार्टीको छवि बनाएका राप्रपा र राप्रपा नेपाललाई ‘सञ्जीवनी बुटी’ भएको छ । राजासहितको प्रजातन्त्र, संघीयता खारेजी र सनातन हिन्दू राज्यको मागसहित राजनीति गरिरहेका यी दुइटै दललाई ज्ञानेन्द्रको मौनताले ठूलै समस्यामा पारेको थियो । पाँच-पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत राजावादीहरुको जनमत खस्कँदै गएको थियो, तर फागुन ७ को अभिव्यक्तिले अहिले दुइटै पार्टी जुर्मुराएका छन् ।

कहिले कांग्रेस त, कहिले एमालेको चिन्हबाट चुनाव लडेका र हाल राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापा र एमालेकै सहयोगमा चुनाव जितेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन अहिले एमाले नेतृत्वकै सरकार रहेको समयमा राजालाई पुनः नारायणहिटी प्रवेश गराउने भन्दै सडकमा ओर्लिएका छन् ।

दुबैको ध्यान अहिले पूर्वराजाको काठमाडौं आगमनमा कसले बढी जस लिने भन्नेमा केन्द्रित देखिएको छ । पोखरामा रहेका पूर्वराजा आइतबार काठमाडौं फर्कंदैछन् । उनको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा हुन थापाले उर्दी जारी गरिसकेका छन् ।

थापाले उर्दी जारी गरेकै भोलिपल्ट लिङदेनले फागुन २५ गते काठमाडौंमा हुने जनसभा नै स्थगित गरेर पूर्वराजाको स्वागतको लागि विमानस्थलमा जम्मा हुन नेता कार्यकर्ताहरुलाई सूचित गरेका छन् ।

लिङदेन नेतृत्वको राप्रपाले २५ गतेको पूर्वतयारीको लागि फागुन २१ मा काठमाडौंसहित देशका सातै वटा प्रदेश राजधानीमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरिसकेको छ । थापा नेतृत्वको राप्रपा नेपालले देशैभर सर्कुलर गरेर आइतबार काठमाडौंमा जम्मा हुन भनेको छ ।

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि त्यसको दोष पूर्वराजा ज्ञानेन्द्रलाई लगाएर पार्टीबाट अलग भएका थापा एमालेको चुनाव चिन्हबाट पनि प्रतिनिधिसभामा पराजित भएपछि पुनः ज्ञानेन्द्र शाहसँग नजिक हुन खोजेका छन् । राप्रपा नेपालले राजतन्त्रको अजेण्डालाई छाडेको भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थापाले पछिल्ला दिनहरुमा पुनः राजतन्त्रको वकालत गर्दै आफूले त्यो समय गल्ती गरेको भन्ने गरेका छन् ।

राजपरिवारबाट सर्वाधिक अवसर लिनेमध्येका अग्र स्थानमा आउने थापाले पछिल्लो समय लिङदेनसँग पार्टी एकताको लागि औपचारिक कार्यक्रममार्फत आग्रहसमेत गर्दै आएका छन् ।

तर लिङदेनको राप्रपाले भने आफूहरु नै असली राजावादी भएको दाबी गर्दै आएको छ । थापाकै गृहजिल्लामा आएर लिङदेनले कमल थापा अवसरको लागि हिँडने मानिस भएको र असली राजतन्त्रको पक्षधर आफूहरु रहेको भाषण गरेका थिए ।

थापाले गरेको पार्टी एकताको प्रयासको कुनै अर्थ नरहेको उनले बताएका थिए, तर पछिल्लो राजनीतिक घटनाक्रमले पूर्वराजा ज्ञानेन्द्रले कसलाई असली राजावादी मान्दछन् भन्ने विषयमा अनेक अड्कलबाजी हुने गरेको छ । थापा र लिङदेनमध्ये को हुन् त असली राजावादी ? प्रश्न अनुत्तरित छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ज्ञानेन्द्र शाहको काठमाडौं ‘इन्ट्री’- आफूलाई खाँटी राजावादी देखाउन थापा र लिङदेनको होडबाजी !


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545