Techie IT
मंगलबार, वैशाख ९,२०८२

जवानबाट भिडेर इन्स्पेक्टरमा नाम निकाल्ने सिन्धुपाल्चोककै पहिलो महिला थिइन् सन्तोषी, तालिम नसक्दै अस्ताइन्


काठमाडौं । सिन्धुपाल्चोकबाट इन्स्पेक्टरमा नाम निकाल्ने पहिलो महिला बनेकी भन्दै परिवारमा खुसी छाएको थियो । बुबा आमालाई अब नपुग्दो केही थिएन । सम्भव जिल्लाकै पहिलो महिला इन्स्पेक्टरमा नाम निकालेकी सन्तोषी महतको परिवारमा छाएको खुसी लामो समय टिक्न सकेन ।

 

बाबु रोगिन्द्र महतले छोरी सन्तोषीले तालिम सफलतापूर्वक सम्पन्न गरेर इन्स्पेक्टरको फुली लगाएको हेर्ने रहर अधुरै भएको छ । उनले इन्स्पेक्टरको फुली लगाएको हेर्ने बुबा नगेन्द्र र आमा कमलाको सपना अधुरो मात्र भएको छैन । जिन्दगीभरलाई पीडा थपेको छ ।

दिदी सविनाले इन्स्पेक्टरमा नाम निकालेकै दिन दिएको आशीर्वाद पूरा हुने छैन । उनीहरूको आशा भरोसामा धक्का लागेको छ ।

 

अब छोरी बहिनी सम्झनामा मात्रै रहने भएकी छन्। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षकको ९ औं नम्बरमा नाम निकालेर बेसिक तालिम गर्न ३ महिना अघि मात्रै पोखरा पुगेकी सन्तोषी महतले झुन्डिएर आत्महत्या गरेकी छन् ।

सशस्त्र प्रहरी सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार ब्यारेकको शौचालयको बिममा शनिवार राति साढे ९ बजे झुन्डिएर आत्महत्या गरेकी हुन् ।

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ लागर्चे घर भएकी महतले सशस्त्रमा जवानदेखि जागिर खाएकी थिइन् ।

उनले कक्षा १२ सकिने बित्तिकै २०७१ मा सशस्त्रकै प्रहरी सहायक निरीक्षकमा आवेदन दिएकी थिइन् । तर, सफल हुन सकिनन् ।

असईमा नाम ननिस्किए पनि उनले हरेस खाइनन् । जवानबाट भिड्ने अठोट गरिन् र २०७२ मा सशस्त्र प्रहरी जवानमा भर्ना भइन् ।

तर, सिपाहीमा भर्ना भए पनि खुसी भइनन् । जसरी हुन्छ असई बनेरै छाड्ने अठोट गरेकी सन्तोषीले सिपाहीको जागिर खादै असईको तयारीमा जुटेकी थिइन् । तेस्रो प्रयासमा उनले २०७८ मा सशस्त्रको असईमा नाम निकालेकी थिइन् ।

असईको तालिम सकिएपछि विवाहको कुरा चल्दा उनले इन्स्पेक्टर नभई बिहे गर्दिन भनेर परिवारलाई मनाइन् र जुटिन् इन्स्पेक्टरको तयारीमा । आवेदन दिएकी थिइन् । तर, सफल हुन सकिनन् । उनले इन्स्पेक्टर भिडेको पहिलो वर्षमा सफल हुन सकिनन् ।

रातदिन मेहनत गर्दा पनि दोस्रो पटकमा सफल हुन नसकेपछि उनले दिदी सविनासँग दुखेसो पोखेकी थिइन् ‘दिदी मेरो भाग्यमा कति दु:ख लेखेको रहेछ है कति धेरै परीक्षा लेको भगवानले पनि अब म परीक्षा दिन्न ।’

तर, यति गर्दा पनि हार मानिन् । फेरि २०८० मा आवेदन दिइन् ।र दिदी सविनालाई भनेकी थिइन्, ‘यो पटक दिन्छु नाम निस्किएन भने जिन्दगीभर किताब छुँदिन म पनि अरूले जस्तै आफ्नो जीवन बाँच्छु । साथीभाइसँग घुम्छु रमाउँछु । ८ वर्ष भयो मलाई मेरो सपनाले कैदी बनाएको ८ वर्ष भने रातमा ३/४ घण्टा मात्र निदाएको मेरो निन्द्रा पुर्‍याउँछु, ८ वर्ष कैदी बनाएर राखेको सबै रहरहरू पूरा गर्छु।’

त्यसपछि उनी फेरि तयारीमा लागिन् । उनको यो अन्तिम वर्ष थियो इन्स्पेक्टर भिड्न पाउने । ५/६ महिनाको कडा मेहनत पछि लोकसेवाको परीक्षा दिएर विभिन्न चरण पार गर्दै खुल्लाबाट ९ नम्बरमा नाम निकालेकी थिइन् । सविना भन्थिन्, ‘बहिनीको मेहनतको अगाडि भगवानले पनि घुँडा टेक्नुपर्‍यो ।’

उनी सम्भवत: इन्स्पेक्टरमा नाम निकाल्ने जिल्लाकै पहिलो महिला बनिन् । घरमा उनको सफलताले उत्सव छाएको थियो । बुबा रोगिन्द्रको छोरी अफिसर भएको हेर्ने सपना पूरा भएको थियो ।

आफ्नो सपना रहर धितो राखेर छोरी पढाएका नगेन्द्रको छाती खुसीले चौडा र शिर उच्च भएको थियो । उनी गाउँघरमा छोरी सन्तोषीकै तारिफ सुनेर मक्ख पर्थे । मेलापात र घाँस दाउरा गर्दै जीवन बिताएकी आमा कमलाले छोरी इन्स्पेक्टर भई भन्न पाएकी थिइन् ।

त्यति मात्र होइन सन्तोषीको अथक प्रयासले सार्थकता पाएको थियो । उनको वर्षोको अनिदा आँखाले आराम पाएको थियो ।हजारौँ प्रयासले न्याय पाएको सफलता सन्तोषी आफैले तिलाञ्जलि दिइन् ।

प्रहरी निरीक्षकको बेसिक तालिम १८ महिनाको हुन्छ ।

गत मंसिर अन्तिममा बेसिक तालिमको लागि उनी पोखरा लामातार लागिन् । पहिलो चरणको तालिम पोखरामा हुन्छ भने दोस्रो चरणको तालिम एकेडेमीमा हुन्छ । उनी पहिलो चरणको तालिम गर्दै थिइन् । घरकी माइली छोरी सन्तोषी इन्स्पेक्टर बनेपछि रोगिन्द्र र श्रीमती कमला जेठी छोरी सविनाले अष्ट्रेलिया घुम्न बोलाइन् । उनीहरू माघ पहिलो साता अष्ट्रेलिया घुम्न गए । उनीहरू अष्ट्रेलिया पुगेको महिनादिन नपुग्दै माइली छोरी सन्तोषीले तालिमकै क्रममा आत्महत्या गरेको खबर पुग्यो । पारिवारिक रूपमा तनाव नरहेकाले किन आत्महत्या गर्‍यो भनेर परिवारकै सदस्य विश्वास गर्न सकेका छैनन् ।

पारिवारिक स्रोतका अनुसार प्रेम सम्बन्धको कारणले उनले आत्महत्या गरेको हुन सक्ने छ । उनी एक प्रहरी निरीक्षकसँग प्रेम सम्बन्धमा थिइन् । प्रेम सम्बन्धमा दरार आएपछि उनले आत्महत्या गरेको हुन सक्ने परिवारको आशंका छ । गाउँको प्रेरणााको स्रोतको रूपमा रहेकी महतले नै आत्महत्या गरेपछि गाउँपरिवार शोकमा डुबेको छ ।

उनको एक आफन्त भन्छन्, ‘रोगिन्द्र दाईको परिवारमा बल्ल खुसी छाएको थियो । सबै परिवार बन्दो बस्ति भइसकेको थियो । यस्तो बज्रपात आइलाग्यो ।’ रोगिन्द्रको जेठी छोरी अष्ट्रेलिया, छोरा विनोद नेपाली सेना र माइली छोरी सन्तोषी र कान्छी छोरी पढ्दै थिइन् । भाइ विनोद दिदीकै लय समातेर नेपाली सेनामा जागिरे छन् ।

सन्तोषीसँगै तालिम गरेका साथीहरू सन्तोषीले आत्महत्या गरेको पत्याउनै सकेका छैनन् । जवान मनिषा कार्की भन्छिन्, ‘उसले रातदिन नभनी त्यो ठाउँमा पुगेकी थिइन् । त्यति कमजोर मान्छे होइनन् । हामीलाई पत्याउनै गाह्रो भइरहेको छ । उनी संगठनकै मेहनती प्रहरी हुन् ।’

उनका अनुसार उनले जवानको बेसिक तालिममा अनुशासित भएर पुरस्कार समेत पाएकी थिइन् । यति बहादुर र मेहनती मान्छेले कसरी आफूलाई सक्ने हिम्मत गर्‍यो भनेर उनी सोच मग्न छिन् । उनी मात्र नभई उनको ब्याजीहरू समेतलाई ठूलो झड्का लागेको छ ।

उनको बुबा आमा अष्ट्रेलियाबाट फर्केपछि मात्रै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

रोगिन्द्रको जेठी छोरी अष्ट्रेलिया, छोरा विनोद नेपाली सेना र माइली छोरी सन्तोषी र कान्छी छोरी पढ्दै थिइन् । भाइ विनोद दिदीकै लय समातेर नेपाली सेनामा जागिरे छन् ।

सन्तोषीसँगै तालिम गरेका साथीहरू सन्तोषीले आत्महत्या गरेको पत्याउनै सकेका छैनन् । जवान मनिषा कार्की भन्छिन्, ‘उसले रातदिन नभनी त्यो ठाउँमा पुगेकी थिइन् । त्यति कमजोर मान्छे होइनन् । हामीलाई पत्याउनै गाह्रो भइरहेको छ । उनी संगठनकै मेहनती प्रहरी हुन् ।’

उनका अनुसार उनले जवानको बेसिक तालिममा अनुशासित भएर पुरस्कार समेत पाएकी थिइन् । यति बहादुर र मेहनती मान्छेले कसरी आफूलाई सक्ने हिम्मत गर्‍यो भनेर उनी सोच मग्न छिन् । उनी मात्र नभई उनको ब्याजीहरू समेतलाई ठूलो झड्का लागेको छ ।

उनको बुबा आमा अष्ट्रेलियाबाट फर्केपछिमात्रै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जवानबाट भिडेर इन्स्पेक्टरमा नाम निकाल्ने सिन्धुपाल्चोककै पहिलो महिला थिइन् सन्तोषी, #तालिम नसक्दै अस्ताइन्


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545