Techie IT
बुधबार, वैशाख १०,२०८२

बागमती प्रदेशमा सवारी साधन डिजिटाइजेसन सुरु, अब ब्लु बुक बोक्नु नपर्ने


काठमाडौं । बागमती प्रदेशभित्रको सवारी साधनहरुको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेसन) को सुरुवात गरिएको छ।

 

सोमबार यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा आयोजित एक समारोहबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले डिजिटाइजेशनको शुभारम्भ गरेका हुन्।

मन्त्री महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारी साधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी साधनको कर तिर्न सकिने र ब्लु बुक बोक्नु नपर्ने अवस्था निर्माण हुने बताए।

यातायात कार्यालयले ब्लुबुकलाई हालको पेपर–बेस्डबाट क्यूआर कार्ड बेस्ड प्रणालीमा परिणत गर्दैछ । अहिले नागरिक एपमा सवारी चालक अनुमतिपत्र इन्टिग्रेट गरेझैं ब्लुबुकलाई पनि एपमा समावेश गर्ने तयारी भएको बताइएको छ । यसले कागजात बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य गर्ने कार्यालयको भनाइ छ ।

यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराले पहिलो पटक साविक बागमती अञ्चल ( पुराना) लट नं. १ देखि लट नं. ५५ सम्मका दुईपाङ्ग्रे सवारी साधनहरुको सक्कल फाइल बुझाउन अनुरोध गरेको छ ।

डिजिटाइजेसनले यातायात क्षेत्रमा काम राम्रो हुन नसकेको जनमानसमा भएको भावनालाई चिर्न सफल हुने विश्वास लिएको बताउँदै मन्त्री महर्जनले भने–‘प्रविधिलाई जोड्न सकेमा सुशासन कायम गर्न सहज हुन्छ । त्यसैले यातायात मन्त्रालयले जनताका सेवासँग जोडिएको विषयलाई प्रविधिमा जोड्न लागिरहेको छ । आजको डिजिटाइजेशनले यातायात क्षेत्रमा काम राम्रो हुन नसकेको जनमानसमा भएको भावनालाई चिर्न सफल हुने विश्वास लिएका छौं । जसका लागि भिआरएसमार्फत डिजिटाइजेशन गर्नका लागि थुप्रै पटक कर्मचारी र डेभलपरसँग बसेर समस्या नआउने गरि कार्य गरेका छौं ।’

उनले अबको केही समयमा लिखित परीक्षा र सवारी साधन परिचयपत्रको ट्रायलका लागि मात्र यातायात व्यवस्था कार्यालय आउनुपर्ने र अन्य कार्यका लागि अनलाइनबाट गर्न सकिने वातावरण बन्न लागेको बताए।

कार्यक्रममा बागमती प्रदेशका सदस्य केशवप्रसाद पोखरेलले सवारी साधनको क्षेत्रमा डिजिटाइजेशनले महत्वपूर्ण अर्थ राख्ने बताए । उनले लामो समदेखी पेचिलो बनिरहेको डिजिटाइजेशन छिट्टै सम्पन्न हुने बताए ।

त्यसैगरप् बागमती प्रदेश सभा सदस्य रघुनाथ महर्जनले लामो प्रयासपश्चात् यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको बताउँदै प्रदेशमा अधिकार आएसँगै यातायात क्षेत्रमा लाइसेन्स र ब्लु बुक डिजिटाइज हुने र परिचयपत्र जनताले पाउने वातावरण बनेको धारणा राखे ।

कार्यक्रममा मन्त्री महर्जनसहित बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री केशवप्रसाद पोखरेल, प्रदेश सभा सदस्य रघुनाथ महर्जन, प्रदेश यातायात मन्त्रालय सचिव वीरेन्द्रदेव भारती, विभिन्न यातायात व्यवस्था कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सो अवसरमा मन्त्रालयले सवारी साधनको फाइल फिर्ता गर्नका लागि दिएको सूचना अनुसार सवारी धनी प्रशान्त चौधरीले कार्यक्रम स्थलमै यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जधाराका प्रमुखलाई फाइल हस्तान्तरण गरेका थिए ।

यातायात व्यवस्था कार्यालय, मोटरसाइकल गुर्जुधाराले माघ ३० गते लट नम्बर १ देखि ५५ सम्मका सवारीधनीलाई आफ्ना सक्कल फाइल १५ दिनभित्र कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

उक्त सूचनामा भनिएको थियो–‘यस कार्यालयमा दर्ता कायम भएका साविक बागमती अञ्चल ( पुराना) लट नं. १ देखि लट नं. ५५ सम्मका दुईपाङ्ग्रे सवारी साधनहरुको सक्कल फाइल आफूसँगै लैजानु भएका सवारी धनीहरुले सवारी साधनको विवरण डिजिटाइजेशन गर्ने प्रयोजनका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा ९ फाँट नं.१० मा १५ दिन भित्र आफूसँग रहेको फाइल बुझाउनु हुन अनुरोध छ ।’

कार्यालयमा दर्ता भएका दुईपांग्रे सवारीसाधनको विवरण डिजिटाइजेसनका लागि फाइल मागिएको हो । यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी एकान्तकुना, यातायात व्यवस्था कार्यालय भरतपुर (चितवन) र हेटौंडाले पनि फाइल व्यवस्थापनका लागि पहल गरेका छन् ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पहिलो चरणमा एकान्तकुना, गुर्जुधारा, हेटौंडा र भरतपुरमा डेटा इन्ट्रीको काम सकाउने र त्यसपछि बनेपा र खुर्कोटको यातायात व्यवस्था कार्यालयमा टिम परिचालन गरिने जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अब ब्लु बुक बोक्नु नपर्ने, #बागमती प्रदेशमा सवारी साधन डिजिटाइजेसन सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
31°
Fair
5:29 am6:34 pm +0545