Techie IT
बुधबार, माघ २३,२०८१

रुपाताल संरक्षणको कामलाई समयमै सक्न उर्जामन्त्री खड्काको निर्देशन


रुपाताल संरक्षणको कामलाई समयमै सक्न उर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ, २३ माघ । उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले रुपाताल संरक्षणको कामलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज बिहान निरीक्षण गर्दै ताल संरक्षणको कामलाई तोकिएको भन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

“ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमै गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्,”– मन्त्री खड्काले भन्नुभयो । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालय लाग्ने मन्त्री खड्काको भनाई थियो ।

उक्त तालमा हाल सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले ५९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । १२२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल बाँध बाँधेपछि १८३ हेक्टरको हुनेछ ।

उक्त तालको वरपर पैदलमार्ग निर्माण गर्नका लागि एक हजार १०० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ९०० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त तालको अनुगमनमा उर्जामन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधीसभा सदस्य विश्वप्रकाश शर्मा, कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधीसभा सदस्य जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत पुग्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #hot, #उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, #उर्जा मन्त्री दिपक खड्का, #रुपाताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545