Techie IT
बुधबार, माघ ९,२०८१

क्यानको तीखो कारवाहीः सन्दीपलाई तीन ‘डिमेरिट प्वाइन्ट’ सहित एक खेलमा प्रतिवन्ध


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र स्टार खेलाडी सन्दीप लामिछानेबीच असमझदारी एवं टकरावको अप्रिय स्थिति देखा परेको छ । एउटा फेसबुक स्टाटसलाई लिएर सन्दीप क्यानको ‘तीखो’ कारवाहीमा परेका छन् ।

विवादको सुरूवात जय ट्रफी एलिट कपबाट भएको हो । उक्त प्रतियोगितामा बागमती प्रदेशका टीम कप्तान थिए सन्दीप । प्रतियोगिताको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच गत पुस २४-२५ मा भएको थियो । दोस्रो दिनको खेल बराबरीमा सकिएपछि सन्दीपले अम्पायरसँग ‘प्रोटेस्ट’ गरेका थिए ।

अम्पायरले खेल समाप्तिको घोषणा गरेसँगै सन्दीप मैदानबाहिरबाट आएर अम्पायरसँग आक्रोश व्यक्त गरेको टेलिभिजन लाइभमा देखिएको थियो । अर्को टीम (त्रिभुवन आर्मी) लाई फाइदा पुग्ने गरी अम्पायरले गलत समयमा खेल समाप्तिको निर्णय लिएको गुनासो उनले गरेका थिए ।

दोस्रो इनिङमा २०३ रनको कठिन लक्ष्य पछ्याइरहेको बागमती सकेसम्म कम विकेट गुमाएर खेल ‘ड्र’ गर्ने रणनीतिमा थियो । २८.४ ओभरमा पाँचौ विकेटका रूपमा शुभ कंसाकार आउट भएलगत्तै अम्पायरद्वय विनयकुमार झा र हिरालाल राउतले खेल समाप्तिको घोषणा गरे । दुवै टीम खेल जित्ने आशामा थिएनन्, तर विकेटलगत्तै खेल समाप्त हुँदा बागमतीलाई प्वाइन्टमा घाटा लाग्यो ।

सन्दीपले कम ‘भिजिविलिटी’का कारण केही ओभर अगाडि नै खेल समाप्ति होस् भन्ने चाहेका थिए, जतिबेला शुभ कंसाकार र उत्तम मगरको जोडी क्रिजमा थियो । तर, विकेट नजाँदासम्म अम्पायरले खेललाई निरन्तरता दिएको सन्दीपको आरोप छ । विकेट जानासाथ ओभर पनि पूरा नगरी खेल समाप्त गरिएकोमा उनले आपत्ति जनाएका थिए ।

प्रतियोगितामा एक-एक प्वाइन्टको निकै महत्व थियो । थप एक विकेट जाँदा पनि प्वाइन्टमा असर गर्ने भएकाले सन्दीपको असन्तुष्टि र ‘अन फिल्ड प्रोटेस्ट’ अस्वभाविक थिएन । तर, त्यसको भोलिपल्ट फेसबुकमा लेखेको स्टाटसलाई क्यानले स्वभाविकरूपमा लिएन ।

सन्दीपलाई कारवाहीसम्म पुर्‍याउने फेसबुक स्टाटसको नेपाली भावार्थ यस्तो थियोः
मैले यो भन्नु हुन्थेन तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेखनीय सुधार आवश्यक छ । लामो समयदेखि यो फितलो छ र यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयहरूका कारण असंख्य खेलाडीहरू पीडित बन्ने छन् । हामीले रेफ्रीलाई क्याप्टेनको रिपोर्ट दिएका हुन्छौं, तर पनि कुनै परिवर्तन आइरहेको छैन । खेलाडीहरूको विकास र खेलको स्वस्थ प्रवर्द्धनमा अम्पायरिङको स्तरवृत्ति महत्वपूर्ण हुन्छ । आशा छ, सरोकारावाला निकायले यसलाई ध्यान दिनेछन् र आवश्यक सुधारहरूका निम्ति काम गर्नेछन् ।

स्टाटसमा सन्दीपले कुनै खेलको सन्दर्भ उल्लेख गरेका छैनन् । कोही अम्पायरको नाम तोकेर आरोपित पनि गरेका छैनन् । तर, एउटा राष्ट्रिय खेलाडीले यसरी सामाजिक सञ्जालबाट अम्पायरको आलोचना गर्न नमिल्ने क्यान पदाधिकारीको भनाइ छ । समर्थकहरू भने सन्दीपको पक्ष-विपक्षमा बाँडिएका छन् । बहुसंख्यकले सन्दीपको स्टाटस नेपाली क्रिकेटकै हितका लागि भएको भन्दै उनीप्रति समर्थन जनाएको पाइन्छ । कतिपयले उनको नियत गलत नभए पनि सामाजिक सञ्जालमै लेख्नु उचित नभएको धारणा राखिरहेका छन् ।

उक्त दिनको खेलपश्चात म्याच अफिसियलले सन्दीपलाई अनुशासन उल्लंघन गरेको भन्दै ३ ‘डिमेरिट प्वाइन्ट’ दिएका थिए । उक्त निर्णयमा सन्दीपले असन्तुष्टि जनाए । एक ‘डिमेरिट प्वाइन्ट’ मा आपत्ति नरहेको तर एकैपटक तीन डिमेरिट प्वाइन्ट दिनु स्वीकार्य नहुने उनको भनाइ थियो । सन्दीपले अम्पायरसँग ‘एपोलोजी’ पनि गरेका थिए । यद्यपि, अम्पायरले उनको याचना स्वीकार गरेनन् र तीन डिमेरिट प्वाइन्टकै निर्णय लिए । निर्णयमा सन्दीपले हस्ताक्षर गर्न मानेनन् । उक्त निर्णय क्यानमा पठाइयो ।

अम्पायरको रिपोर्ट र खेलाडी आचार संहिताको हवाला दिँदै क्यानले सन्दीपलाई तीन डिमेरिट प्वाइन्ट र एक घरेलु म्याचमा प्रतिवन्धको निर्णय लियो । क्यानको खेलाडी आचार संहिताको धारा २.७ मा सेन्ट्रल कन्ट्राक्टमा रहेका खेलाडीहरूलाई क्यानका पदाधिकारी, अफिसियल तथा अम्पायरहरूविरुद्ध लेख्न रोक लगाइएको छ । सोही धाराअनुसार तत्कालै निर्णय भएको क्यान प्रवक्ता छुम्बी लामा बताउँछन् ।

‘क्यानले आचार संहिता र म्याच अफिसियलहरूको रिपोर्टका आधारमा निर्णय गरेको हो । कुनै पनि पूर्वाग्रह राखिएको होइन,’ उनले भने ।

क्यानको कारवाही अनुसार सन्दीपले अब निकट भविष्यमा हुने पहिलो घरेलु म्याच गुमाउनुपर्ने छ । क्यानले अहिलेसम्म सन्दीपलाई कारवाहीको निर्णय सार्वजनिक भने गरेको छैन ।

के हो डिमेरिट प्वाइन्ट ?
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेल अनुशासनमा कडाइ गर्न सन् २०१६ देखि डिमेरिट प्वाइन्टको अवधारणा ल्याएर लागू गरेको छ । मैदानभित्र आक्रामक वा असामान्य व्यवहार देखाउने खेलाडीलाई डिमेरिन्ट प्वाइन्ट दिने गरिन्छ ।

आईसीसीले खेलाडीको अनुशासनहीनतालाई चारवटा क्याटेगोरीमा वर्गीकरण गरेको छ, लेभल १, २, ३ र ४ । आईसीसीका अनुसार यदि खेलाडीले लेभल १ को क्रियाकलाप गरेमा एक वा दुई डिमेरिट प्वाइन्ट दिइन्छ । यदि लेभल २ मा ३-४ डिमेरिट प्वाइन्ट दिन सकिन्छ । लेभल ३ का लागि ५-६ र लेभल ४ को हकमा ७-८ डिमेरिट प्वाइन्ट दिन सकिने व्यवस्था छ । आईसीसीको नियमअनुसार २४ महिनाको अवधिभित्र कुनै खेलाडीले ४ डिमेरिट प्वाइन्ट प्राप्त गरेको छ भने उसले एक टेस्ट वा दुई ओडीआईमा प्रतिवन्ध भोग्नुपर्छ ।

आईसीसीको यो नियमलाई विभिन्न राष्ट्रले घरेलु क्रिकेटमा पनि लागू गर्ने गरेका छन् । क्यानले पनि यही अवधारणा अनुसार सन्दीपलाई ३ डिमेरिट प्वाइन्ट दिएको हो । यसअनुसार सन्दीपले लेभल २ को अफेन्स गरेको क्यानले ठहर्‍याएको देखिन्छ ।

स्पष्टीकरणको जवाफ सन्दीपले के दिए ?
क्यान सचिव पारस खड्काले सन्दीपलाई गत शुक्रबार ४:३२ मा इमेल पठाएर कारवाहीको निर्णयबारे जानकारी गराउनुका साथै स्पष्टीकरण पनि सोधेका थिए । त्यो इमेल आउनुभन्दा अगाडि सन्दीपले अरु नै प्रसंगमा पारसलाई फोन गर्दा उनले रिसिभ गरेका थिएनन् । बरु एकछिनपछि पारसको टेक्स्ट आयो- ‘चेक योर इमेल ।’ उनले इमेल चेक गर्दा कारवाहीको पत्र देखे ।

त्यसको भोलिपल्ट शनिबार ३:१९ मा सन्दीपले सोही इमेलमा स्पष्टीकरणको जवाफ पठाएको निकट स्रोतको भनाइ छ । क्यानको इमेलबाट आएको पत्रमा अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई ‘सीसी’ गरिएको थियो । सन्दीपले आफ्नो जवाफी इमेल पनि उनीहरू सबैलाई पठाएको स्रोत बताउँछ ।

सन्दीपले आफ्नो जवाफी पत्रमा कारवाहीको निर्णयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

‘मैले अनुशासन उल्लंघनको कुनै पनि क्रियाकलाप गरेको छैन । अम्पायरहरूसँग एपोलोजी पनि मागिसकेको छु । मलाई गरिएको कारवाही अन्यायपूर्ण छ । एक डिमेरिट प्वाइन्ट स्वीकार्न सक्थेँ, तर एकैपटक तीन डिमेरिट प्वाइन्ट मञ्जुर छैन । यो निर्णय सच्याइयोस,’ सन्दीपले अंग्रेजीमा लेखेको जवाफको भाव उद्धृत गर्दै स्रोतले भन्यो ।

उक्त इमेल पठाएर सन्दीपले चतुर र पारस दुवैलाई म्यासेज पनि गरेको स्रोतले बतायो । यद्यपि, उनीहरू दुवैले स्पष्टीकरणको जवाफ नआएको दाबी गरेका छन् ।

पारस र सन्दीप आमनेसामने !
यो विवादले नेपाली क्रिकेटका दुई सर्वाधिक लोकप्रिय हस्तिहरू पारस खड्का र सन्दीप लामिछाने फेरि एकपटक आमनेसामने हुने अवस्था देखिएको छ । एउटै राष्ट्रिय टीममा छँदादेखि नै यी दुईबीचको सम्बन्ध ‘हट एन्ड कोल्ड’ रहँदै आएको छ । सन्दीपले पारसको कप्तानीमा खेल्दा उनीहरूबीच ‘टसल’ का गसिपहरू बारम्बार बनिरहन्थे । पछिल्लो समय भने उनीहरूको सम्वन्धमा सुधार आएको थियो ।

पारस अहिले क्यानको शक्तिशाली सचिव छन् । अहिले क्यानमा लगभग उनकै नियन्त्रण छ । क्यानमा पारसको आगमनपछि नेपाली क्रिकेटले ठूलो उचाइ पनि लिइरहेको छ । नेपाल प्रिमियर लिगको सफलता श्रेय पारसलाई नै दिने गरिन्छ ।

सन्दीप भने एउटा ठूलो दलदलबाट निस्किएर क्रिकेटमा कमब्याक गरेका हुन् । उनलाई बलात्कारको गम्भीर आरोप लाग्यो, जसले उनको करिअर बिथोलिएको थियो । अदालतबाट पूर्णरूपमा सफाइ पाएपछि सन्दीप फेरि राष्ट्रिय टीमको महत्वपूर्ण हिस्सा बनिरहेका छन् ।

पारसले क्यानको नेतृत्वमा आएपश्चात सन्दीपप्रति अभिभावकत्वको प्रदर्शन गर्दै आएको देखिन्छ । सन्दीपलाई अमेरिकाको भिसा खुलाउन र विश्वकपमा सहभागी गराउन सबैभन्दा बढी पारस नै लागि परेका थिए । सन्दीपले पनि पारसलाई उच्च सम्मान र हार्दिकता दर्शाउने गरेका छन् । यो घटनाले उनीहरूको सम्बन्धमा नयाँ ट्वीस्ट नआओस् भन्ने नेपाली क्रिकेट प्रेमीको चाहना छ ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #सन्दीपमाथि क्यानको तीखो कारवाहीः तीन ‘डिमेरिट प्वाइन्ट’ सहित एक खेलमा प्रतिवन्ध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:53 am5:37 pm +0545