नेपाल भाषा शिक्षण काठमाडौँको ‘पहिचान’ र ‘प्रतिष्ठा’सँग जोडिएको उपप्रमुख डंगोलको भनाइ
काठमाडौँ । १७२ जना नेपाल भाषा प्रशिक्षण सहायकहरुका लागि पुनर्ताजगी तालिम सुरु भएको छ । भानु माध्यमिक विद्यालयमा सुरु भएको तालिम ५ दिन चल्नेछ ।
तालिम शुभारम्भ गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रशिक्षक सहायकहरुलाई भन्नुभयो, ‘अध्यापन गराउनु तपाईँहरुका लागि रोजगारी हो । तर, यसलाई रोजगारी मात्र नठान्नु होला । यसले काठमाडौँका रैथाने समुदायको मौलिकता र पहिचान स्थापित गर्छ । महानगरपालिकाको प्रतिष्ठा बढाउँछ । यसकारण तालिमलाई औपचारिकता नठान्नुहोला । तालिमको नतिजा विद्यार्थीहरुको व्यवहारमा देखिनुपर्छ ।’
शव्दको प्रयोग र बुझाइको सन्दर्भ उठाएर ‘यमरी’ को उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘यमरी चिनाउन यमरी नै भन्नुपर्छ । यसलाई अनुवाद गर्न सकिँदैन । यसकारण पनि शिक्षकहरुमा आफूले जानेको कुरा विद्यार्थीहरुलाई सरल ढङ्गले बुझाउने क्षमता हुनुपर्छ ।’
त्यस क्रममा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले, स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्ने विषयलाई राजनीतिक तहबाट नीति निर्माण र बजेटको व्यवस्था गरेर पूरा गरिएको बताउनुभयो । ‘यसलाई शिक्षकहरुको प्रयत्नले व्यवहारमा प्राप्त गर्न सकिन्छ । यसकारण हामीले सक्रिय शिक्षकको अपेक्षा गरेका छौँ ।’ उहाँको भनाइ थियो ।
भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्नमा काठमाडौँ महानगरपालिकाले सिकाइ स्थापित गरेको बताउनुभयो ।
‘महानगरपालिकाले पाठ्यक्रम तर्जुमा गर्यो । पाठ्यपुस्तक तयार पार्यो । यसले नेपाल भाषाको अध्यापनमा उपत्यकामा मात्र होइन । अन्य स्थानीय तहका लागि पनि अनुसरण योग्य सिकाइ बन्यो ।’ मानन्धरले धारणा राख्नुभयो ।
शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार १ देखि ३ सम्म आवधिक मूल्याङ्कन हुँदैन । यसलाई जुन दिन जुन विषय पढायो । त्यही दिन, मूल्याङ्कन गरिन्छ । यो अभ्यासगत मूल्याङ्कन प्रणाली हो । नेपाल भाषाको सिकाइअन्तर्गत कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन तथा मूल्याङ्कन हुन्छ । यस्तै कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन र मूल्याङ्कन हुने व्यवस्था गरिएको छ ।
महानगर शोधवृत्तिका शोधकर्ता ऋतु रुपाखेतीले अन्तर्वार्तामा आधारित तथ्य उधृत गर्दै भन्नुभयो, ‘नेपाल भाषा अध्यापन गराउन थालेपछि विद्यार्थीले थप भाषा सिक्न पाएकोमा अभिभावक र विद्यार्थीहरुमा खुशी बढेको छ ।’
‘येँ देय् म्हसिके’ अर्थात् काठमाडौँलाई चिनौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत तहका लागि कार्यान्वयनमा ल्याएको स्थानीय भाषाको पाठ्यक्रम हो । नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । यही व्यवस्था कार्यान्वयन गर्दै नेपाल भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
ठाउँको मौलिक नामले जनाउने धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, मान्ने गरिएका, मनाउने गरिएका जात्रा, चाडपर्व, संस्कार संस्कृति, बालबालिकाले चिन्न सकुन् । ढुंगेधारा, पाटी, सत्तलजस्ता संरचना पहिचान गर्न सकुन् । काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, सिप, कौशल, व्यवसाय, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, बोल्ने भाषा, लेख्ने लिपि, परम्परागत खेलका बारेमा जान्न सकुन भन्ने उद्देश्यले नेपाल भाषाको पाठ्यक्रम कार्यान्वयन गरिएको हो ।
यसको सिकाइ गर्दा बालबालिकालाई नेपाल भाषा लाद्ने शैली अपनाइँदैन । हार्दिकतापूर्वक बुझ्न सक्ने गरी सिकाइन्छ ।
तालिममा प्रशिक्षकहरुमा यसप्रकारको सिप प्रदान गर्ने र मूल्याङ्कन सिप सिकाउने गरी पाठ्यक्रम तर्जुमा गरिएको छ । बागमती प्रदेश सरकारले नेपाल र तामाङ् भाषालाई सरकारी कामकाजी भाषाका रुपमा मान्यता दिएको छ । यस परिवेशमा भाषाको शुद्ध प्रयोगका लागि तालिममा व्याकरणको समेत अभ्यास गराइनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल भाषा शिक्षण काठमाडौँको 'पहिचान' र 'प्रतिष्ठा'सँग जोडिएको उपप्रमुख डंगोलको भनाइ
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्