नेपाली चलचित्रहरु उतारेर हलहरुमा ‘पुष्पा २’ लाई एकलाैटी शाे

काठमाडौं । बिहीबार प्रदर्शनमा आउन लागेको दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ ले नेपालका हलहरु कब्जा गरेको छ । हल सञ्चालकहरुले दर्शकको रोजाइमा परिरहेका नेपाली चलचित्रहरु उतारेर ‘पुष्पा २’ लाई ऐतिहासिक संख्यामा शो दिएका छन् ।
दशैंयता नेपाली चलचित्रहरुले हलहरुमा उच्च व्यापार गरिरहेका थिए । ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’, हुँदै ‘पूर्णबहादुरको सारंगी’ सम्म आइपुग्दा हलहरुले करोडौंको बिजनेस गरेका छन् । अहिले पनि हलमा ‘पूर्णबहादुरको सारंगी’सँगै ‘ह्रस्व-दीर्घ’ र ‘तेल भिसा’ चलिरहेका थिए, तर हलहरुले भोलिबाट यी तीनवटै नेपाली चलचित्रलाई नगण्य शोमा खुम्च्याइदिएका छन् । ह्रस्व-दीर्घ त लगभग खाली भएको छ ।
देशभरका १६६ हलमा ‘पुष्पा २’ ले ५९१ शो पाएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस चलचित्रलाई काठमाडौंभित्र मात्रै ८१ शो दिएको छ । बिहान ४ः३० देखि राति १२ बजेसम्मको शो दिइएको छ । ‘पुष्पा २’ ले नेपालमा ३ करोडको ओपनिङ गर्ने प्रक्षेपण गर्दै हल सञ्चालकहरुले नेपाली चलचित्रहरुलाई पाखा लगाइदिएका हुन् ।
‘पुष्पा २’ कै कारण ५० करोडको माइलस्टोनतर्फ अग्रसर भएको ‘पूर्णबहादुरको सारंगी’ को यात्रा अवरुद्ध बनेको छ ।
क्यूएफएक्सले बिहीबारका लागि ‘पूर्णबहादुरको सारंगी’लाई जम्मा १० शो दिएको छ भने आईएनआईले जम्मा ३ शो दिएको छ ।
उच्च प्रशंसा पाइरहेको चलचित्र ‘तेल भिसा’ लाई क्यूएफएक्सले बिहीबारका लागि जम्मा ४ शो दिएको छ । ‘ह्रश्व-दीर्घ’ लाई क्यूएफएक्सले भोलिका लागि कुनै शो उपलब्ध गराएको छैन ।
भोलिबाट कुनै शो उपलब्ध नगराउनुको कारण के हो आफूहरुलाई थाहा नभएको बताउँछन् ‘ह्रश्व-दीर्घ’ का कलाकार हरिहर अधिकारी ।
उनी भन्छन्, ‘खै, हाम्रो चलचित्र राम्रै चलिरहेको छ । हामी नयाँ मान्छे, के कसो हो केही थाहा छैन । प्राविधिक कुरा पनि थाहा छैन । कमन सेन्सले भन्दा राम्रै चलिरहेको हाम्रो चलचित्र हलबाटै चाहिँ पूर्ण रुपमा नउतारिदिनु पर्ने हो । चलचित्रले व्यापार नै नगरेको भए अर्कै कुरा ।’
भित्री कुरा केही थाहा नभएकाले अनभिज्ञ भएर बसिरहेको अधिकारीले बताए । वितरक पनि नेपाल बाहिर भएकाले अहिले गर्न सकिने केही नभएको र भोलिबाट शो राखिदेलान् कि भन्ने आशमा रहेको उनको भनाइ छ । गत कात्तिक ३० गतेबाट प्रदर्शन आएको ‘ह्रश्व-दीर्घ’ले नौ करोडमाथि ग्रस गरिसकेको निर्माताको दाबी छ । यो चलचित्र ६ करोड लागतमा बनेको हो ।
बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागेको दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ले भने रेकर्ड नै रेकर्ड राखेको छ । स्याकनिल्क डटकमका अनुसार यस चलचित्रले एडभान्स बुकिङमा ‘बाहुबली २’ र ‘केजीएफ २’लाई पछाडि छाडेको छ । विश्वव्यापी रुपमा सय करोडको एड्भान्स बुकिङ हुने पहिलो भारतीय चलचित्रको समेत रेकर्ड बनाएको छ । ट्रेड एनालिस्ट रमेश बालाले ‘पुष्पा २’ले विश्वव्यापी रुपमा २५० देखि २७५ करोड भारुको ओपनिङ गर्ने बताएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #hot, #नेपाली चलचित्रहरु उतारेर हलहरुमा ‘पुष्पा २’ लाई एकलाैटी शाे
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्