Techie IT
मंगलबार, वैशाख ९,२०८२

जुम्ली स्याउजस्तै मौलिक स्वादको फिल्म


सर्वहारा, गाइनेको नायकत्वमा बनेको । न त कुनै भयङ्कर स्टारद्वारा अभिनित ! न त बेजोड कमेडियनको पेट मिचिमिची हसाँउने हाँस्य र व्यङ्ग्यका झटाराहरु! सामान्य बजेटमै बनेको सहजै अनुमान गर्न सकिने ! न कुनै ठूलो लगानी ! न त चक्लेटी लबेरिया हिरो हिरोइनको प्रेमकथा वा कुनै भुस्तिघ्रे हिरोको हावादारी धाँसु एक्सन सिन ! तर बिल्कुल सामान्य चलचित्रको असामान्य प्रभाव ! लोभलाग्दो व्यापार ! आहा! ” पूर्णबहादुरको सारङ्गी” मै हुँ भन्ने स्वनामधन्य सुपर स्टारलाई गिज्याउँन सक्ने एउटा भुँइमान्छेलाई नायक बनाएर पनि सफल भएको गतिलो फिल्म ! अहिलेको जेनेरेसन अझ विद्यार्थीले हेर्नै पर्ने एउटा शिक्षाप्रद फिल्म !

चलचित्रमा कथा गण्डकीका गन्दर्बहरुको छ। कथा फ्ल्यास ब्याक अर्थात् पूर्वदीप्ति शैलीमा अघि बढेको छ। गन्दर्ब अर्थात् ारङ्गी बजाएर पेट पाल्ने गाइने जाति जसलाई हाम्रो परम्परागत नेपाली समाजले दलित भन्दै छोइछिटो गर्छ।चरम गरिबीमा बाँचिरहेको पूर्णबहादुर गन्दर्बले एकातिर गरिबी र अर्कातिर अभिजात्य वर्गको हेलाहोचो सहँदै छोरालाई कसरी मागी खाने गाइनेबाट ( मैले भनेको होइन नि मागी खाने गाइने! म त गन्दर्बहरुलाई सङ्गीत शिल्पी कलाकारका रुपमा बुझ्छु) गरी खाने डाक्टर बनाउँछ भन्ने कथानकलाई यस सिनेमामा देखाइएको छ।

सुरुमा त पूर्णबहादुर आफ्नो बालक छोरोलाई गाइने बनाउनै तल्लीन थियो तर स्वाभिमानी श्रीमती बाटुलीको बिद्रोहले गर्दा र श्रीमतीको बिछोडले पनि ऊ छोरोलाई सारङ्गी होइन कापीकलम दिनुपर्छ भन्ने ठाउँमा पुग्छ र सिनेमाको खास कथा यहीँबाट अघि बढ्छ ।

थोरै पन्चायत कालीन झल्को , अलिकति ४६ साल पछिको अवस्था र केही जनयुद्ध कालीन परिवेशलाई देखाउँन खोजिए पनि तिनले पूर्णबहादुरको प्रमुख कथाका अघि पानी पिउँन सकेका छैनन् । मात्र ब्यबस्था फेरिएर पनि गरिब र दलितको अवस्था नफेरिएको भन्न खोजेका हुन कि जस्तो लाग्छ।

फिल्म औशत नै हो कतिपय सानातिना कमजोरी भेटिन्छन् नै तर यसले अभिभावकले आफ्ना सन्तानका लागि कतिसम्म गरेका हुन्छन् भन्ने कुरा सबैभन्दा जोडदार ढङ्गले व्यक्त गर्न सकेको छ।

संवाद र पटकथा सशक्त छ। ” छोरालाई काँधमा बोक्दा ऊ ठूलो देखिने र टाढा सम्म हेर्ने ” भन्ने संवाद सप्रसङ्ग व्याख्याका पङ्क्ति जस्ता लाग्दछन। “बाउको इस्टकोट काटी छोरालाई भोटो! ” सशक्त , बिम्बात्मक अभिव्यक्ति र सिङ्गो सिनेमालाई बोक्ने गीत हो।
भावुकता बेचेको,आँसुको व्यापार गरेको जस्तो लागे पनि यथार्थमा एउटा अभिभावकीय कोणबाट हेर्दा यो फिल्म हरेक बाउआमाले आफ्ना सन्तानलाई हेराउँनै पर्ने फिल्म हो।

यो दलित र गरिबको मात्र फिल्म नभएर छोराछोरीको सुन्दर भविष्य चाहने बाबुआमा र बाबुआमाको सपना पूरा गर्न चाहने छोराछोरीको पनि हो। यसमा देखाइएको धेरथोर कथाब्यथा हामी जो कोहीको विगतसँग साइनो गाँसेका जस्ता लाग्छन् । त्यसैले यो सबैको साझा कथा बोक्ने सिनेमा हो भन्न सकिन्छ ।

यसबेला नेपालका हलहरुमा विदेशी फिल्मका गनिए मानिएका महसुर तिघ्रे स्टारका एक्सन फिल्मलाई पछारेर अझै निकै चल्ने छाँटकाँट देखाइरहेको यो फिल्म लगायत हालै चलिरहेका अन्य नेपाली फिल्म हेर्दा मनमा अलिकति खुसी मडारिएको छ। कमसेकम थोरै नै सही विदेशी फिल्मलाई हाम्रा फिल्मले प्रतिस्थापन गर्ने हुती राख्दा रैछन।

अस्ति दसैँताका जुम्ली स्याउले विदेशी स्याउलाई ढिम्किन नदेको जस्तो । आफ्नै स्याउलाई राम्ररी बजारीकरण गरेर किसान बलियो पार्न र आफ्नै सिनेमालाई हेरेर कलाकार , निर्देशक , निर्मातालाई नेपालमै गरिखाने वातावरण हामीले नै बनाइदिनु पर्छ। तर नेपाली सिनेकर्मीले बुझ्नै पर्ने कुरा नेपाली फिल्म नेपाली जस्तै हुनु पर्ो । जुम्ली स्याउ जस्तै हुनु पर्यो। अर्ग्यानिक आफ्नै स्वादको । सिनेकर्मीहरुले विदेशी स्याउजस्तो रङ्ग न ढङ्गका विदेशी पाराका फिल्म होइन अब मौलिक र सशक्त रैथाने कथाका स्वादिला नेपाली फिल्म बनाइदिए हेर्ने काम सबैले गर्दा रैछन । अब बन्ने नेपाली फिल्म ” पूर्णबहादुरको सारङ्गी” जस्तै बनोस् । कलाकार पनि विजय बराल जस्तै जीवन्त अभिनेता बनून। हामी त हाम्रैलाई माया गर्छौँ र गरी रहन्छौँ। हेक्का रहोस् सिनेमा सिनेमामात्र होइन भाषा , संस्कृति , कला , सभ्यता , साहित्यलाई एक मुस्ट रुपमा अभिव्यक्त गर्न सक्ने सशक्त विधा पनि हो।

 

– लिलानाथ गौतम (शिक्षक)
(२०८१ कात्तिक २२)

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545