Techie IT
शनिबार, वैशाख ६,२०८२

टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित


सेन्ट भिन्सेन्ट, असार ३ गते । ब्याटिङ नचलेपछि नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ ।

किङ्सटाउनमा सोमबार बिहान जितका लागि बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछयाएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले २७ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले २५ र ओपनर आशिफ शेखले १७ रन बनाउनुभयो । अन्य ब्याटसम्यानले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न बङ्गलादेशका तानजिम हसन सकिवले चार विकेट लिनुभयो । मुस्ताफिजुर रहमानले तीन, सकिव अल हसनले दुई तथाा तास्किन अहमेदले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । बङ्गलादेशका लागि सकिव अल हसनले १७ रन बनाउनुभयो ।

यस्तै महमुदुल्लाह र रिसद हुसेनले १३/१३ तथा तास्किन अहमेद र जाकेर अलीले १२/१२ तथा लिटन दासले १० रन बनाउनुभयो । ओपनर तानजित हसन सोमपालको पहिलो बलमै आउट हुनुभयो । अन्य ब्याट्सम्यानले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो । बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्नुभएको छ । उहाँले चार ओभरमा १७ रन खर्चिएर विकेट लिनुभएको हो ।

सात महिनापछि पुन: मैदानमा फर्किनुभएका सन्दीपले यसअघि दक्षिण अफ्रिकासँग विश्वकपको पहिलो खेल खेल्नुभएको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उहाँले अमेरिकामा भएको विश्वकपको खेल भने गुमाउनुभएको थियो ।

यस नतिजासँगै बङ्गलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर आठमा पुगेको छ । यस्तै समूहमा अपराजित दक्षिण अफ्रिका लगातार चार खेल जित्दै आठ अङ्कसहित शीर्षस्थानमा रह्यो । दक्षिण अफ्रिका एक खेल अगावै सुपर आठमा पुगेको थियो ।

नेपाल र बङ्गलादेशबीचको नतिजाले नदेरल्यान्ड्सपनि विश्वकपबाट बाहिरियो । श्रीलङ्का र नेपाल यसअघिनै बाहिरिएका थिए । यससँगै जार विश्वकपमा सुपर आठको समिकरण पनि पूरा भएको छ । नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।

नेपाल यसअघि अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबिचको दोसो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545