Techie IT
बुधबार, माघ २,२०८१

धाँधली ढाकछोपमा बद्री केसी व्यस्त अदालत गएपछि थप चिढियो सरकार

काठमाडौँ । धाँधलीकै कारण १० वर्षमा हुनुपर्ने संस्था नवीकरण समेत हुन नसकेपछि गैरआवासीय नेपाली संघको बद्री केसी समूह संकटमा फसेको छ । सरकारले धाँधलीको कारण देखाउँदै संस्था नवीकरण नगरिदिएपछि केसी समूहको वैधानिकता नै संकटमा परेको हो । त्यसमाथि सरकारलाई चिढ्याउने गरी अदालत नै गएपछि सरकारले पनि आवश्यक कदम चाल्दै छानबिन समिति गठन गरिसकेको छ ।
यस्तो अवस्थामा बद्री केसी समूह नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मालाई लाञ्छना लगाउन तल्लीन देखिएको छ । ११ औँ निर्वाचनका क्रममा भएको धाँधलीको वास्तविकता लुकाउँदै केसी समूहले उल्टै आरके शर्मा पक्षले अवरोध उत्पन्न गरिरहेको आरोप लगाएका हो ।
यतिबेला आगामी दुई वर्षे रणनीति तयार गर्न भन्दै काठमाडौँमा आएका केसी पक्षका अभियन्ताहरु सरकारमाथि दबाब बढाउन प्रयासरत देखिएपनि सरकार नै चिढिएको अवस्था रहेकाले संकटमा फसेका हुन् । यही संकटका बीच उनीहरु विरोधी समूहको आलोचनामा समय खर्चिनदेखि वास्तविकता लुकाउँदै धाँधलीको बचाउमा व्यस्त छन् ।
सोहीक्रममा केसी शनिबार आयोजित पत्रकारसम्मेलनमा पनि आरके शर्मा पक्षप्रति आक्रामक ढंगले प्रस्तुत भए । केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष (आरके शर्माको नेतृत्वको एनआरएनए) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको मान्छे भएको दाबी गरे ।
उनले देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउने भएपनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको स्पष्ट पारे । उनले एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर निर्वाचन आफूहरूले गरेको दाबी गरे । उनले निर्वाचन अघिसम्म सबैले सहमति गरेर निर्वाचन गराए पनि नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको बताए । उनले अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको बताए ।
उनले भने, ‘चुनावको बेलामा साँच्चिकै एकजना उपाध्यक्षको उम्मेदवारमा केही इरर आएको हो । तर तत्काल नै भेरोभोटिङसँग इन्फरमेसन लिएर समाधान गरेका हौँ । अहिले निर्वाचित समिति एउटा मात्रै छ । देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउन सक्छ । गैरआवासीय नेपाली भनेको गैरराजनीतिक अभियान हो । जात र धर्म, भाषा भन्दा माथिको अभियान हो । हामी सरकारलाई सघाउन चाहन्छौँ र सरकारबाट पनि त्यही अपेक्षा गरेका छौँ । जितेर आएको समितिलाई सरकारले सहयोग गरोस् । पराजित साथीहरूले सरकारलाई अन्योलमा पारिदिनुभयो । पराजित साथीहरू सरकारका नजिकका व्यक्तिहरू हुनुहुन्थ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका नजिकका व्यक्तिहरू हुनुहुन्थ्यो र उहाँहरूले भ्रम फैल्याएर गलत कुरा मन्त्रीहरूलाई दिनुभयो । सरकारले आफ्नो ठोस निर्णय अझैसम्म ल्याएको छैन ।’
केसीले ११ औँ महाधिवेशन सफल र भव्य र विवादरहितको कुरा चुनावको दिनको मात्रै कार्यक्रम हेरेर नहुने बताए । ५९ देशमा चुनाव हुँदा र सदस्यता वितरण हुँदा कुनै समस्या नभएको भेरो सिस्टममा शर्मा र महेश श्रेष्ठले हार्नेबित्तिकै समस्या कसरी देखियो भन्दै व्यङ्ग्य समेत गरे । उनले भेरोको छनौट पनि सबैको सल्लाह बमोजिम नै गरिएको बताउँदै त्यसमा अहिले पराजित समूहमा रहेकाहरुको बाहुल्यता रहेको बताए । सो समितिमा केशव पौडेलदेखि, गौरीराज जोशी, आरके शर्मा, महेश श्रेष्ठ र सुनील साह रहेको भन्दै चुनावअघि उनीहरुले नै भेरो संसारको उत्कृष्ट सिस्टम रहेको बताउने गरेको दाबी गरे ।
चुनावमा अराजकता र अलोकतान्त्रिक पद्धति अपनाउने काम आफूहरुबाट हुन नसक्ने र असन्तुष्ट पक्षले गरेको हर्कत पनि स्वीकार्य नहुने उनके भनाइ थियो ।
उनले आफूहरु सरकारलाई सघाउन आएको उल्लेख गर्दै पराजितहरुले नै सरकारलाई अन्योलमा पारिदिएको दाहोर्याए । यद्यपि आजको दिनसरमम पनि सरकारले आफूहरुलाई पूरै असहयोग भने नगरेको उनको भनाइ थियो । उनले आफूहरु परराष्ट्रको विरोधमा नगएको पनि जिकिर गरे । ‘हामी परराष्ट्र मन्त्रालय विरुद्ध गएको होइन । नवीकरणमा दबाब दिन चाहिँ गएको हौँ । म विश्वस्त छु । हामीलाई सरकारले नवीकरण दिनेछ’, उनले भने ।
तर एनआरएनएका अध्यक्ष आरके शर्माले भने बद्री केसी गल्ती ठाकछोपमै व्यस्त रहेको बताए । उनले आफूहरु छानबिन समितिको रिपोर्टको प्रतिक्षामा रहेको भन्दै सबै विषयमा समयले नै जवाफ दिने बताए । बद्री केसी सानो समूहमा रमाइरहेको भन्दै बास्तविक एनआरएनएको प्रवाह आफूहरु भएको उनको भनाइ छ । ११ औँ महाधिवेशनमा भेरो सिस्टमबाट भएको विद्युतीय मतदानमा सिस्टम ह्याक गरेर निर्वाचन आफ्नो पक्षमा पारेको केसीमाथि आरोप छ । यही विवादका बीच केसीले शपथ लिएपछि एनआरएनएमा आरके शर्मा नेतृत्वमा नयाँ कमिटी बनाइएको थियो । अक्टोबरको यो विवादपछि तीन महिनायता एनआरएनए विभाजित छ । विवादकै बीच केसी समूह अदालत गएपछि परराष्ट्रले ४ सदस्यीय छानबिन समिति बनाएर निकायका लागि अग्रसरता देखाएको छ भने यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धाँधली भएको प्रशस्त आधारहरु रहेको व्यहोरोको रिपोर्ट दिएको थियो ।