हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ : प्रधानमन्त्री दाहाल
काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताउनुभएको छ । युगाण्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ सम्मेलनमा सहभागी भएर फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सम्मेलनमा आफूले हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेको बताउनुभयो ।
‘हिमालयहरु विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो । विश्वका जीवित प्राणीहरुका लागि हिमाल अति महत्पूर्ण छ । पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको छ,’ सम्मेलनमा आफूले आग्रह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको छ । त्यसकारण हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेको छु ।’
प्रधानमन्त्री दाहालले सम्मेलनमा असंलग्न आन्दोलनमार्फत् आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी संमृद्धि हासिल गर्न प्रयास गर्नुपर्नेमा जोड दिएको बताउनुभयो । ‘करिब सात दशक अगाडि दुई महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरु बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौँ मुलुकहरुको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ,’ प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनबारे जानकारी दिँदै अघि भन्नुभयो, ‘असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो । यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ ।’
प्रधानमन्त्री दाहालले सम्मेलनमा नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दै आएको जानकारी गराएको बताउनुभयो ।
‘मैले सम्बोधनका क्रममा असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्तको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारें,’ दाहालको दाबी छ ।
त्यस्तै, कोभिड महामारी पश्चात् विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नुपरेको भन्दै हाल बढिरहेको भू–राजनीतिक ध्रुबीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशिल राष्ट्रहरू थप मारमा परिरहेको बिषयमा समेत ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरु समेत भएको बताउनुभएको छ । कम्पालाबाट आइतबार बिहान कतार ओर्लिएका प्रधानमन्त्री दाहाल बिहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल आइपुग्नुभएको हो ।
प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगाण्डा जानुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, #हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्