Techie IT
शनिबार, वैशाख ६,२०८२

सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेको माग


काठमाडौं, ७ असोज । सुन तस्करी प्रकरणबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने विषयमा दलहरुबीच विवाद हुँदा आयोग गठनमा ढिलाई भएको छ ।

यही असोज ५ गते नै आयोग गठन गर्ने सहमति दलहरुबीच यसअघि नै भए पनि आयोगको कार्यदेशका विषयमा विवाद हुँदा आयोग गठनमा ढिलाई भएको हो ।

सत्तारुढ दल र प्रतिपक्षीबीच आयोगको कार्यदेशका बारेमा पटक–पटक छलफल भएपछि सहमति नजुटेपछि शीर्ष तहमा नै छलफल गर्ने दलहरुको तयारी छ । आयोगको कार्यदेशका बारेमा आज आइतबार सिंहदरबारमा विभिन्न दलका सचेतकबीच मौजुदा कानून, घटनाको अनुसन्धानलगायतमा छलफल भएको थियो । तर, उनीहरू निष्कर्षमा भने पुग्न सकेनन् ।

सो क्रममा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान सुरुबाटै गर्नुपर्ने माग राखेको थियो । छलफलपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सीआईबीले राम्रो काम गरे पनि आयोगलाई सबै अनुसन्धान गर्ने अधिकार दिनुपर्ने बताए ।

उनले तस्कारीको पर्दा पछाडीको व्यक्तिमाथि छानविन गर्न आयोग गठनको माग गरेकाले सबै अनुसन्धान गर्ने क्षेत्राधिकार दिएर आयोग गठन गर्नुपर्ने जिकिर गरेका छन् । सुन तस्करीको समग्र अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा राज्यको निकायले अभियोजन प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दा असहमति राख्नुपर्ने कुनै कारण नरहेको सचेतक बर्तौलाले बताए ।

उनले अदालत वा सो सरहको काम गर्नेगरी कार्यादेश तयार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । यसतै, विद्युतीय चुरोटबाट भएको सुन तस्कारीका सम्बन्धमा पनि छानविन र अनुसन्धान गरी त्यसमा संलग्नहरुमाथि कारबाही गर्नुपर्ने एमालेको माग रहेको उनले बताए ।

त्यस्तै, कांग्रेस मुख्य सचेतक रमेश लेखकले सुन तस्कारी नियन्त्रणका लागि आवश्यक कानुनको सिफारिस गर्ने, अहिलको संरचनामा गर्नुपर्ने सुधार र अहिलेस्म्म भएका अनुसन्धानमाथि अध्ययन गरेर प्रतिवेदन दिने मुल आशय रहेको बताए । सीआईबीले गरेको अनुसन्धानलाई शून्यमा झार्न नहुने र सीआईबीको प्रतिवेदनमाथि अध्ययन गर्न सकिने उनको भनाइ छ ।

अहिलेसम्मको अनुसन्धानलाई शून्यमा झारेर नयाँ ढंगले अनुसन्धान गर्ने आशय एमालेबाट आएकाले सहमति हुन नसकेको उनको भनाइ छ ।

ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो भन्दा बढी सुन प्रकरणलाई लिएर एमालेले निरन्तर संसदमा अवरोध गरेपछि दलहरुबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको थियो । सहमतिमा सीआईबीको अनुसन्धान सकिएपछि असोज ५ गतेदेखि काम थाल्ने गरी आयोग गठन गरिने उल्लेख थियो ।


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545