बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्नु अबको कार्यभारः मन्त्री शर्मा
काठमाडौं, ७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनु अबको कार्यभार भएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन शाखाले राखेको पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्नु अबको दायित्व भएको बताउनुभयो ।
२०६३ साल असोज ७ गते ताप्लेजुङ्को घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिलकुमार सिंहको सम्मानमा हरेक वर्षको असोज ७ गते हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्ने गरिएको छ । यो वर्ष रुकुमका महेश केसी र धादिङका शिव सिलवाललाई सो पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा पुरस्कृत पत्रकारहरुले तयार पारेका रुकुमपूर्वको सिस्ने गाउँपालिकाको जनजीवन र धादिङ राजमार्ग क्षेत्रको रिपोर्ट हेरेपछि मन्त्री शर्माले राजनीतिक र सामाजिक क्षेत्रमा अकल्पनीय परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन आउन नसक्नु ठूलो चुनौतीको विषय भएको बताउनुभयो ।
‘राजनीतिक परिवर्तनको सैद्धान्तिक पुष्टि भइसकेको छ, यसको व्यवहारिक पुष्टिका लागि जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने छ’– मन्त्री शर्माले भन्नुभयो– ‘संघीय लोकतान्त्रिक गणतन्त्र अहिलेसम्मकै उत्कृष्ट व्यवस्था त हो तर लामो समयसम्म जनताको जीवनमा परिवर्तन ल्याउन सकिएन भने व्यवस्थाको गुनगान मात्र गाएर परिवर्तन बचाउन सकिदैन, यसमा सरकार गम्भीर छ र सबै पक्ष गम्भीर बन्नु आवश्यक छ ।’
उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र पनि जोखिमपूर्ण संघर्षबाटै प्राप्त भएकाले यो उपलब्धिलाई स्थापित गरेर लैजानुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनपछि दुर्गम क्षेत्रका व्यक्ति राजनीतिक क्षेत्रको उच्च ओहदामा पुगे पनि त्यस क्षेत्रका जनताको जीवनमा परिवर्तन नआएको भन्दै अब राज्य, मिडियालगायत सबैको ध्यान जनताको जीवनस्तर परिवर्तनमै केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
उहाँले राजनीति, मिडियालगायतका क्षेत्रमा धेरैको विश्वासभन्दा आशंका बढेको उल्लेख गर्दै भन्नुभयो– ‘हरेक क्षेत्रमा राम्रो काम गर्नेहरु किनारामा र नराम्रो काम गर्नेहरु सतहमा हावी हुँदा विश्वासभन्दा आशंका बढिरहेको छ । अब सकारात्मक पक्षलाई सतहमा र नकारात्मक पक्षलाई किनारामा पुर्याउनुपर्ने आवश्यकता देखिएको छ, यसमा मिडिया क्षेत्रको विशेष भूमिका आवश्यक छ । । ’
आम सञ्चार क्षेत्रको सुधारका लागि विभिन्न कानुनको मस्यौदा भइरहेको जानकारी दिंदै उहाँले आम सञ्चार तथा सूचना प्रविधि क्षेत्रका समस्या कानुनबाटै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक सञ्जाल नियमन निर्देशिका मस्यौदा गरेर सहमतिका लागि अर्थमन्त्रालय पठाइएको र चाँडै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिंदै मन्त्री शर्माले साइबर सुरक्षा नीति पारित गरेको र सूचना प्रविधिका क्षेत्रमा विभिन्न कानुन मस्यौदाको क्रममा रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #रेखा शर्मा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्