Techie IT
शनिबार, वैशाख ६,२०८२

मकवानपुर ट्राफिकमा यसरी हुन्छ सांगठित भ्रष्टाचार, मुख्यालयमा उजुरी


मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा प्रहरीको असुली धन्दा बढ्दै गइरहेको छ । ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक वसन्त कुमार आचार्यको नेतृत्वमा यहाँ संगठित भ्रष्टाचार बढेको प्रहरी स्रोत बताउँछ ।

स्रोतका अनुसार प्रहरी निरीक्षक आचार्यले हवल्दार मेजर नवल किशोर साह मार्फत समय अवधी पुगेका र नपुगेका ट्राफिक पोष्टहरुमा सरुवा गर्न आफ्नै प्रहरी कर्मचारीसँग मासिक पैसा उठाउने गरेको गम्भीर आरोप छ । यद्यपि, प्रहरी निरीक्षक आचार्य सो कार्यमा संलग्न छन् कि छैनन् त्यो पुष्टि भने भइसकेको छैनन् ।

हवल्दार मेजर साह मार्फत प्रत्यक ट्राफिक पोष्टमा सरुवा हुन मासिक पाँच देखि दस हजार रुपैयाँसम्म बुझाउनुपर्ने बाध्यता मकवानपुर ट्राफिकमा रहेको प्रहरी स्रोत बताउँछ । तोकिए बमोजिम हवल्दार मेजरलाइ पैसा बुझाएकै दिन पोष्टमा सरुवा हुने र नबुझाए तत्कालै हटाउनेसम्मको कार्य यहाँ हुने गरिएको छ ।

बर्षौंदेखी नै हवल्दार मेजर साहको ट्राफिकमा हालीमुहाली हुने र संगठित रुपमा भ्रष्टाचार मौलाउदै गएको स्रोत बताउँछ । प्रहरी निरीक्षकको नाममा मातहतका प्रहरी कर्मचारीसंग माग गरे बमोजिम रकम बुझ्दै आएका हवल्दार मेजर साहले उक्त रकम प्रहरी निरीक्षक आचार्यलाई दिन्छन् कि दिदैनन्, त्यो अनुसन्धान पछि थाहा होला ।

एक प्रहरीले भने, आफ्नै प्रहरी कर्मचारीसंग पैसा मागी पोस्ट पठाउने मेजर साहको यो रोग भने पहिलो होईन । यसअघि पनि उनी पटकपटक बिवादतमा तानिदै आएका छन् । २०७८ सालमा तत्कालीन प्रहरी निरीक्षक प्रकाश पाण्डे हुँदा उनलेे यसरी नै मातहतका पोस्टहरुबाट पैसा अर्थात (अतिरिक्त रकम) लिने गर्थे, स्रोतले भन्यो । पैसा नबुझाउनेहरुलाई इन्सपेक्टर आचार्य र हवल्दार मेजर साहले कठिन हुने ठाउँमा ड्युटीमा खटाउने गरेको गुनासो ट्राफिक प्रहरीको छ ।

यता, उनै हवल्दार मेजर साहले लाइसेन्सको ट्रायल परीक्षामा पनि सेटिङ भित्रका निश्चित प्रहरीलाई मात्र पठाउने गरेको पाइएको छ । सेटिङमा फेल हुनेलाई समेत पास गराउने र भत्ता समेतको दुरुपयोग हुने गरेको स्रोत बताउँछ । जून सेटिङमा असई श्री प्रसाद थापा मगर, हवल्दार नवल किशोर साह, हवल्दार सुधीर गिरी रहेका छन् ।

तीन वर्षदेखी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा रहेका उनी लाईसेन्स ट्रायल परिक्षणमा कहिलै छुटदैनन् । प्रहरी निरीक्षक आचार्यले उनलाई मात्र लाईसेन्स ट्रायलमा खटाउदै आएपछि प्रहरी भित्र नै यतिबेला  चर्को आलोचना हुन थालेपछि हवल्दार मेजर साह लाईसेन्स ट्रायलमा जान समेत छाडेका छन् ।

शक्ती र पहुँचका आधारमा मधेश प्रदेश दरबन्दीका उनी तीन बर्षदेखी ट्राफिक प्रहरी कार्यालय मकवानपुरमै अड्डा जमाएर बसेको प्रश्नमा प्रहरी निरीक्षक आचार्यले उनको परिवार बिरामी भएकोले माथिबाट नै काज गरेर बसेका बताए । तपाईंलाई कहाँबाट सूचना आयो, मलाई थाहा छैनन् । पहिले के थियो, मलाई थाहा छैनन् । तर, अहिले त्यस्तो छैनन् । साथै, उनलेे आरोप निराधार रहेको समेत बताए ।

उता, असइ श्री प्रसाद थापा मगरलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगर चितवनका तत्कालीन प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले धेरै नै बदनाम भएको भन्दै चितवन तानेका थिए । चितवन तानिएको ७ दिन नबित्दै उनी पुनः मकवानपुर फिर्ता भएका थिए । स्रोत भन्छ : सिभिल दरबन्दीका उनलाई चितवन काजमा ल्याइएको थियो । चितवन हाजीर नभइ प्रदेश ट्राफिक हाजीर भएर भनसुन गरी एक साता नबित्दै फिर्ता हुन सफल भए, उनलेे भने ।

प्रहरी प्रधान कार्यालयको आदेश अनुसार एउटा प्रदेशबाट अर्को प्रदेशमा दरबन्दी भएका सम्पुर्ण प्रहरी कर्मचारीलाई रमाना गर्नु भनी मातहतका सबै प्रहरी कार्यालयलाई पटकपटक दिएको आदेश/निर्देशन समेतलाई लत्ताएर माथिको आदेश भन्दै आचार्यले साहलाई नै नियमित राख्ने गरेका छन् ।

स्रोतका अनुसार ट्राफिक प्रहरीको संगठित भ्रष्टाचार बारे प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको छ । तालुक कार्यालयले सत्यतथ्य छानबिन गरी नतिजा जाहेर गर्न आज (शुक्रबार) बागमती प्रदेश प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिइएको स्रोत बताउँछ ।

तीन बर्ष अघि पनि उनै हवल्दार मेजर विरुद्ध तालुक कार्यालयमा उजुरी परे पनि त्यतिबेला जोगाएर प्रतिवेदन लेखी पठाइएको थियो । त्यतिबेला त्यहाँ (इन्स्पेक्टर) प्रकाश पाण्डे थिए भने प्रदेशमा (डिआइजी) प्रकाश जंग कार्की थिए । तत्कालीन प्रहरी निरीक्षक पाण्डेले त डिआइजी कार्की समेतलाई टेर्ने गरेका थिएनन् । जिल्लामा आउने हरेक कार्यालय प्रमुखले उनैको माध्यम बाट अतिरिक्त रकम असुल्ने भएकोले पनि उनलाई पक्षपोषण गर्ने गरेको एक प्रहरीले बताए ।

(हामी यस बिषयमा निरन्तर फ्लोअपमा रहि रहने छौं) ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545