Techie IT
शुक्रबार, माघ ११,२०८१

टोखामा मेयर प्रकाश अधिकारीको एक बर्ष : के के भए काम ? (सूचि सहित )


काठमाडौं । स्थानीय तहको दोस्रो कार्यकालमा टोखा नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको एक वर्ष पुरा भएको छ ।  नगर प्रमुख प्रकाश अधिकारी दोस्रोपटक निर्वाचित भइसकेपछि पुरानै बाँकी रहेका कामहरुलाई अगाडी बढाएका छन् । स्थानीय तहको पहिलो कार्यकालमा नगर प्रमुख प्रकाश अधिकारीले पूर्वाधार क्षेत्रमा अत्यधिक काम गरी काठमाडौं जिल्लाकै सफल मेयरमा पर्न सफल भएका थिए । उनले स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा पनि सफलतापूर्वक काम गरेका कारण बाँकी काम र पहिलो कार्यकालको सफलता कै कारण जनताले दोस्रो कार्यकालको लागि पुनः निर्वाचित गराए । नेकपा एमालेबाट निर्वाचित अधिकारी उर्जासिल र अनुभवका साथ काममा लागेका छन् । विगतमा गाविस अध्यक्ष भई प्रसासनिक ज्ञान आर्जन गरेका नगर प्रमुख अधिकारीले स्थानीय तहको पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

त्यस्तै स्थानीय तहको दोस्रो कार्यकालमा नेपाली काँग्रेसबाट निर्वाचित उप–प्रमुख मुरारी तामाङको भने यो पहिलो कार्यकाल हो । खेलकुद पृष्ठभुमि भएका तामाङ समाजसेवा र खेलकुद मार्फत् जनताको सेवामा सक्रिय थिए । कसैलाई नबिझाउने तामाङ सबैका मनमा बस्न सफल व्यक्ति हुन । त्यहि कारण उनले अत्याधिक मतका साथ विजयी भए । उनमा नगरको विकास र समृद्धिको लागि काम गर्ने नयाँ जोश, विकासको स्पष्ट खाका र उर्जाले भरिपूर्ण भावना छ ।
नगर प्रमुख प्रकाश अधिकारीकाअनुसार टोखामा विविध क्षेत्रमा भएका विकास निर्माणका कार्यहरु यसप्रकार रहेका छन्

भौतिक पूर्वाधार

नगरपालिकाको भौतिक पुर्वाधारमा पनि धेरै काम भएको पाइन्छ । नगर भित्रका अधिकांश सडक कालोपत्रे र ढलान भएका छन् । त्यसैगरी नगरको गौरव योजना मध्येको एक टोखा नगरपालिका वडा नं. ८ र ११ जोड्ने बानियाँटार विष्णुमति खोलामा पुल निर्माण भइरहेको छ । अन्य गौरवका योजनाहरु निर्माणकै क्रममा रहेको नगर प्रमुख अधिकारीले जानकारी दिए । एक वडा एक पार्क नीतिअन्तर्गत अहिले केहि वडामा पार्क निर्माण भइसकेका छन् भने अन्यमा बन्ने प्रक्रियामा रहेको प्रमुख अधिकारीले बताए । उनका अनुसार अहिले नगर भित्र रहेका मन्दिरको जिणोद्धार भएका छन् भने केहि नयाँ मन्दिर पनि बनेका छन् । त्यसैगरी टोखा चण्डेश्वरी देखी महांकाल हुँदै बौडेश्वर जाने पदर्मागको निर्माण भएको उनले जानकारी दिए ।

नगरपालिकाको प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा रहेको छ भने नगर भित्रका वडाहरुको आफ्नै भवन निर्माण भएका छन् भने केहि निर्माणको अन्तिम अवस्थामा रहेका छन् । अबको केहि समय पश्चात नगरपालिकाका प्रशासनिक कामहरु आफ्नै भवनबाट सेवा प्रवाह हुने नगर प्रमुख अधिकारीले जानकारी दिए ।

टोखा नगरपालिकामा मेयर उज्यालो कार्यक्रम पनि एक महत्वपूर्ण कार्यक्रम हो । यस अन्तर्गत सबै वडामा सडक बत्ति जडान गरिएको छ । त्यसको मर्मतका लागि प्राविधिक टोली समेत खटाएको नगर प्रमुख अधिकारीले जानकारी दिए ।

स्वास्थ्य

सांस्कृतिक नगरको रुपमा रहेको टोखा नगरपालिकामा भौतिक विकाससगैं स्वास्थ्य क्षेत्रमा धेरै काम भएका छन् । टोखा नगरपालिकाले “मेयर दिर्घायु कार्यक्रम” सबै भन्दा प्रभावकारी भएकोे देखिन्छ । मेयर अधिकारीले भने टोखामा – ६० वर्षभन्दा माथिका सबैको निःशुल्क स्वास्थ्य परिक्षण गरेका छौं । कमजोर आय हुने र एकल महिला र द्धन्द्धपीडितहरुका लागि ५० वर्षभन्दा माथिकालाई निःशुल्क औषधि (सुगर र प्रेसर) किनिदिने काम गरिरहेको छ । त्यस्तै टोखा नगरबासीका लागि निःशुल्क रगतको व्यवस्था नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवाबाट उपलब्ध गराउँदै आएको छ । ११ वटै वडामा स्वास्थ्य चौकी मार्फत पनि नगरबासीलाई सरल, सहज तथा गुणस्तरिय स्वास्थ्य सेवा दिईदै आएको नगर प्रमुख अधिकारी बताउँछन् । त्यसका साथै सबै वडामा नियमित कोभिड बुस्टर मात्राको खोप अभियान जारी रहेको छ । त्यसैगरी वडा नं. २ मा नयाँ आधारभुत स्वास्थ्य संस्थाको स्थापना भएको छ भने वडा नं. ११ मा ल्याव सेवाको स्तरोन्तति हुन लागेको प्रमुख अधिकारीले जानकारी दिए । जनतालाई निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम गर्ने अधिकारीले स्पष्ट पारे ।

शिक्षा

भूकम्पबाट क्षतीग्रस्त भएका नगरपालिका भित्रका सार्वजनीक विद्यालय बन्द हुँदा बालबालिकालाई विद्यालयहरुको पूर्ननिमार्ण तथा स्तरोउन्नतीको कार्य समपन्न भइसकेको छ । विभिन्न शैक्षीक योजना मार्फत् नगरभित्रका सामुदायीक विद्यालय सुधारउन्मुख रहेका छन । तिलिङ्गटार मा.वी.मा इन्जीनीयरीङ्गको कक्षा सुरु भैरहेको छ । टोखाभित्र झोर महाँकाल मावि, बौडेश्वर मावि, चण्डेश्वरी मावि, धापासी मावि, तिलिङ्गाटार मावि, सरस्वती मावि, जालपा मावि र मनोहर मावि रहेका छन। यी सामुदायिक विद्यालयमा चार हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । टोखा नगरवासीलाई प्राबिधिक शिक्षा मार्फत् आत्मनिर्भर तथा स्वरोजगार बनाउन वडा नं ३ मा प्राबिधिक विद्यालय स्थापना गर्ने प्रकृया अगाडी बढीसकेको छ । सामुदायिक विद्यालयहरुमा “मेयर दिवा खाजा कार्यक्रम”, सेनिटरी प्याड वितरण, एसइई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम सूरु गरिएको छ । जसको कारण सबैलाई उत्कृष्ट बन्न प्रेरित गर्ने नगर प्रमुख अधिकारीको भनाई छ ।

युवा तथा खेलकुद

टोखा नगरपालिकाले खेलकुदलाई पनि विशेष प्राथामिकतामा राखेको पाइन्छ । राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपहरु भएका छन् । विभिन्न क्लवको संयोजकत्वमा विभिन्न खेलकुदका गतिविधिहरु नगर भित्र हुने गरेको छ । युवाहरुलाई लागु पदार्थ दुव्र्यसनबाट जोगाउन पनि नगरपालिकाले ठुलो काम गरि रहेको छ । त्यसका साथै अध्ययन गर्ने बानी विकासका लागि तिन स्थानमा पुस्तकालय पनि सञ्चालनमा रहेको छ ।

कृर्षि तथा पशुपालन

कृषि तथा पशु प्रर्वद्धन अन्तर्गत टोखा नगरपालिकाले कौशी खेतीलाई जोड दिँदै आएको नगर प्रमुख अधिकारी बताउँछन् । यसबाट घरबाट निस्केको कुहिने फोहोरको व्यवस्थापन हुनुका साथै अर्गानिक तरकारी प्राप्त हुने भएको कारण नगरबासीले यसको फाइदा लिएको अधिकारीले जानकारी दिए । नगर भित्रका किसानलाई हिउँदे तरकारीको विउ, इएम मल, गहुँको विउ, धानको विउ, टनेल प्लास्टिक वितरण, ५० प्रतिशत अनुदानमा डिजेल मिनि टिलर वितरण, प्रांगारिक तथा व्यवसायीक खेती तालिम, स्थलगत घुम्ति तालिम, कृषि चुन तालिम, कम्पोष्ट मल, स्प्रे वितरण लगायतका काम भएको अधिकारीले बताए । पशुकार्यक्रम अन्तर्गत नगरपालिका किसानहरुले पालेको पशुहरुको निशुल्क उपचार, गाईभैसीलाई विभिन्न रोग विरुद्धको खोपका साथै गाईभैसीको कृतिम गर्भारणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कुकुरलाई रेविज विरुद्धका साथै कुकुरको बन्ध्याकरण पनि नगरपालिकाले गरेको छ ।

सूचना प्रविधि

टोखा नगरपालिकाले अहिले सुचनाप्रविधिलाई विशेष जोड दिएको पाइन्छ । नगरबाट प्रदान हुने सेवाहरुलाई प्रविधिको माध्यमबाट सहज बनाउँदै लगेको छ । हाल अनलाईन भुत्तानी भइरहेको छ भने एकिकृत स्वःचालित प्रणाली पनि लागु गर्ने तयारीमा नगरपालिका रहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट नगर भित्रका ५० जनालाई ८० दिन रोजगारी दिइएको छ । यस कार्यक्रम अन्तर्गत पहिरो पन्छाउने, नालि सफा गर्ने, बाटो साइड ड्रेन, कुलो सरसफाई, मन्दिर आदि ममर्त सम्भार काम भएका छन् ।

खानेपानी

नगरको मुख्य समस्याको रुपमा रहेको खानेपानी समस्याका लागि पनि सम्बन्धीत निकायसंग सहकार्यमा समाधान गर्नमा नगर केन्द्रीत रहेको बताउँछन् । फोहोरोमैला व्यवस्थापनका लागि पनि नगरले विभिन्न विकल्पमा काम गरिरहेको अधिकारी बताउँछन् । दिघो समाधानको प्रयास भइरहेको उनको दावी छ ।

टोखा नगरपालिकाले विभिन्न विपदमा परेकाहरुलाई राहत तथा पुननिर्माणका लागि आर्थिक सहयोग गर्दे आएको छ । अग्नी नियन्त्रण तथा नेपाली सेनासंगको सहकार्यमा विपद व्यवस्थापन सम्बन्धी पनि तालिम नगरपालिकाले सञ्चालन गरेको थियो ।
टोखाको संस्कृति संरक्षणदेखी यहाँको चाकुको उत्पादनलाई अन्तराष्ट्रिय ब्राण्ड बनाउन पनि नगरले महत्वपूर्ण भुमिका खेलेको नगर प्रमुख अधिकारी बताउँछन् । स्थानिय उत्पादनलाई बजार प्रर्वद्धन गर्न सधै नगरपािलकाले साथ र सहयोग गर्ने प्रतिबद्धता अधिकारीको छ ।

सम्वृद्ध टोखा नगरपालिका बनाउन लागि रहेको र वाँकी कार्यकालमा सम्पूर्ण काम सम्पन्न गर्ने उनले स्पष्ट पारे । आफ्नो कार्यकाल पछि आउने जनप्रतिनिधिलाई कुनै काम गर्न नपर्ने गरी काम गरिरहेको नगर प्रमुख अधिकारी बताउँछन् ।
न्यायिक कार्य सम्पादनदेखी विकास निर्माणलाई गुणस्तरिय बनाउन दृढ रहेको उपप्रमुख मुरारी तामाङ बताउँछन् । अहिले न्याय समिति सफ्टवेयर मार्फत काम हुने थालेको छ । टोखा नगरपालिका भित्र भएका कामको गुणस्तर बनाउन नियमित अनुगमन गर्दै आएको र गुणस्तरमा कुनै सम्झौता नगर्ने तामाङले स्पष्ट पारे । जनतालाई दिएको वाँचा अनुसार काम गर्ने स्पष्ट पारे । जनताको काम गर्न आएको हुँदा अन्य कुरामा ध्यान नदिने उपप्रमुख तामाङ बताउँछन् ।

रोजगारका लागि : लघु उद्यम तालिम

लघु उद्यम कार्यक्रमबाट नगरका महिला, वेरोजगार युवालाई सिप मुलक तालिमबाट सक्षम बनाउँदै स्वरोजगार बनाउन नगर लागेको उपप्रमुख तामाङ बताउँछन् । प्रत्येक वडामा ब्युटिसियन, सिलाईबुनाई, अचार बनाउने, स्यानिटरी प्यान निर्माण तालिम, झोल तथा डल्ले साबुन बनाउने, कफि वारिशठा तालिम, झोला बनाउने, माला बनाउने, मन्टिश्वरी तालिम, नेतृत्व विकास तालिम जस्ता तालिमहरु सञ्चालन भएका छन् । विल्डीङ इलेक्टीसियन, प्लम्बर, वाइल्डिङ, मोवाइल फोन रिपेरिङ टेक्निसियन, अटो मेकानिक, टायल मार्वल फिक्स जस्ता बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसंगको सहकार्यमा दिइएको उपप्रमुख मुरारी तामाङले जानकारी दिए । यसले बेरोजगार तथा सिप नभएका युवालाई प्रभावकारी हुने विश्वास तामाङले लिएका छन् ।

उपमेयरसंग बालबालिका कार्यक्रमले बालबालिकाहरुको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलको छ । नगरभित्र गठन भएका महिला तथा बालबालिका सम्बन्धी विभिन्न समितिहरु प्नि सक्रिय रहेको पाइन्छ । नगरभित्र सञ्चालित बालगृहको अनुगमन तथा सहयोग नगरपालिकाले गर्दै आएको उपप्रमुख मुरारी तामाङले जानकारी दिनु भयो ।

जनताको काम गर्न जनताले पठाएको हुँदा सुशासनका साथ काम गर्न प्रतिवद्ध रहेको बताए । जनताले अनुभुति हुने गरी काम गरेको बताउँछन् । अब बजार अनुगमनलाई पनि तिब्र बनाउने उप–प्रमुख मुरारी तामाङ बताउँछन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा मेयर प्रकाश अधिकारीको एक बर्ष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Fair
6:52 am5:39 pm +0545