Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रहरीभित्र “चेन अफ कमान्ड” को धज्जी उड्यो : डिआइजीको निर्देशन चितवन प्रहरीद्वारा अवज्ञा


चितवन । बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएलगत्तै डीआईजी किरण राणाले प्रदेश मातहतको विभिन्न जिल्लाको स्थलगत निरीक्षण गरे । निरीक्षण भ्रमणका क्रममा देखिएका बेथितीलाई औल्याउँदै उनलेे सुधार गर्न समेत सम्बन्धित जिल्ला र ईलाकाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । साथै, उनलेे अन्यत्र दरबन्दी भई एकछत्र राज गर्दै आएका प्रहरीलाई साविककै स्थानमा फिर्ता गर्न समेत कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका थिए । डीआईजी राणाको निर्देशन लगत्तै केही प्रहरीको काज र दरबन्दी समेत फिर्ता भयो ।

तर, विवादित र १२ बर्षसम्म एकछत्र रूपमा राज गर्दै आएका प्रहरी लाई भने उनलेे अझै दरबन्दीमा फिर्ता गर्न सकिरहेकी छैनन् । अर्कै प्रदेश दरबन्दी भएपनि बर्षौदेखि एकछत्र राज गर्दै आएका प्रहरीलाई डीआईजी राणाले चलाउन नसकेको गुनासो छ नै उल्टै दरबन्दी फिर्ता गर्न प्रदेश प्रहरी कार्यालयले विभिन्न मितिहरुमा गरेको परिपत्रलाई समेत लत्याउने काम चितवनमा भईरहेको देखिन्छ । प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले प्रहरी नियमावली २०७१ को नियम ५२ विपरीत काज सरुवा माग्ने र दिने गर्दा त्यसको दुरुपयोग भएको भन्दै दरबन्दी फिर्ता गर्न पटकपटक निर्देशन जारी गरे पनि त्यसको चितवनमा अवज्ञा हुँदै आएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयले जथाभावी रूपमा काज सरुवा हुँदा त्यसले बेथिति निम्त्याएको भन्दै काजमा खटिएका र सरुवा, बढुवा भई पदस्थापना भएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता गरिदिन भन्दै अन्तिमपटक बैशाख १२ गते (मंगलबार) जिल्ला प्रहरी कार्यालय चितवनलाई सर्कुलर जारी गरेको थियो । तालुकदार कार्यालयबाट आएको सर्कुलर पश्चात जिल्ला प्रहरी कार्यालय चितवनले पनि आफ्नो मातहतका प्रहरी कार्यालयलाई सरुवा भएका प्रहरीलाई यथाशीघ्र दरबन्दीमा रवाना गर्न भनिएको छ । पत्र अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सि.नं. १०७८७, ८२०,८५३, १५७ र ३२२ को संचारपत्र अनुसार हालसम्म पनि सरुवा भएका कुनै प्रहरीलाई रवाना नगरिएको र रवानाको लागी पटकपटक निर्देशन भए पनि कार्यान्वयन नभएकोले कार्यालय प्रमुख स्वयंले दिलचप्सी दिइ सम्बन्धि क्षेत्रको तत्काल रवाना गराई सो, को जानकारी गराउनहुन भनी स्पष्ट निर्देशन दिएपनि वर्डा प्रहरी कार्यालय नारायणगढ, ईलाका प्रहरी कार्यालय खैरहनी र ईलाका प्रहरी कार्यालय रत्ननगरले भने यतिबेला खासै कार्यान्वयन गरेको पाइदैन । तर, संरक्षण गरेको प्रष्ट देखिन्छ । परिपत्रमा सम्बन्धित प्रहरी कर्मचारीलाई पुनः ताकेता गर्नु नपर्ने गरी ठेकिएको दरबन्दीमा फिर्ता गर्न निर्देशन दिइएको छ ।

तर, त्यो निर्देशन पहुँच नहुनेलाई लागू हुने र पहुँच हुनेलाई लागू नहुने देखिएको हो । प्रदेश प्रहरी कार्यालयले पटकपटक चितवन प्रहरीलाई अन्यत्र दरबन्दी भएका प्रहरीलाई रवाना गरी सो, को जानकारी गराउनुहुन स्पष्ट निर्देशन दिए पनि त्यसलाई लत्याउने काम कार्यालय प्रमुख स्वयंमले गरिरहेको पाइन्छ । प्राय : एउटै जिल्ला र एउटै स्थानमा दरबन्दी भएका प्रहरीहरुमध्य सोर्सफोर्स भएकालाई रवाना नगरी ढाकछोप गर्ने काम यहाँ भएको छ भने सोझासाझालाई मात्र रवाना गरी विभेदित कार्य चितवनमा ब्यापक भइरहेको देखिन्छ । काज सरुवा र बढुवाका लागि “चेन अफ कमाण्ड” तोड्दै विभिन्न शक्तिकेन्द्रबाट सिफारिस गर्न लगाउने कार्यले प्रहरी संगठनको अनुशासन विपरीत भएको भन्दै यस्तो गर्ने गराउनेलाई कडा कारबाही गर्ने चेतावनी प्रहरी प्रधान कार्यालयले यसअघि नै दिइसकेको छ । तर , सो निर्देशन बोलीमा मात्रै सिमित छ । तर, पनि चितवन प्रहरीको मातहत रहेका प्रहरी कार्यालयहरुले भने हाकिमको परिपत्रलाई यो वा त्यो बहानामा लत्याइदिएका छन् । बदनाम भएर गन्हाएका र लामो सयदेखि एकछत्र राज गर्दै आइरहेका ब्यक्तिलाई जोगाउने काम समेत चितवन प्रहरीले नै बर्षौंदेखी गर्दै आईरहेको छ ।

कसको दरबन्दी कहाँ ?
सबैभन्दा बढी बेथिति ईलाका प्रहरी कार्यालय रत्ननगरमा छ । यहाँ दर्जन भन्दा बढी प्रहरीलाई दरबन्दीमा फिर्ता नगरी काखी च्याप्ने र तालुक कार्यालयलाई नै यो वा त्यो बहानामा चुनौती दिने, फर्जी प्रतिवेदन बनाइ प्रहरीका कमीकमजोरीलाई ढाकछोप गरी प्रतिवेदन हेड्क्वाटर पठाउनेसम्म काम हुँदै आएको पाईएको छ । प्रहरी नेतृत्व नै कमजोर भएपछि पुलिसिङ त बिग्रेको छ नै प्रहरीभित्रको चेन अफ कमान्डलाई समेत धज्जी उडाउने काम यहाँ हुँदै आएको छ ।

प्रहरी अनुशासनको उल्लंघन हुने गरेको छ भने दरबन्दीमा फिर्ता गर्न समेत डिएसपी अनिल कुमार खड्का निरीह जस्तै बनेका छन् । यहाँ प्रहरी जवान देखी प्रहरी नायब निरीक्षकसम्मको दरबन्दी अन्यत्र छ भने १२ बर्षदेखी एकछत्र राज गर्दै आउने भाग्यमानी प्रहरी समेत यहीँ छन् । तर, डिएसपी खड्का उनीहरूको विरुद्ध जतिसुकै ताकेता आए पनि दरबन्दीमा फिर्ता पठाउन चाहदैनन् । अझै सोझो अर्थमा भन्ने हो भने डिआइजीलाई नै डिएसपीले चुनौती दिइरहेका छन् ।

यहाँको प्रशासन शाखामा रहेका प्रहरी नायब निरीक्षक रोशन कुमार मल्लको दरबन्दी तनहुँ छ । तत्कालीन प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई ईलाका प्रहरी कार्यालय रामनगर चितवनबाट श्रावण ११ गते मात्रै जिल्ला प्रहरी कार्यालय चितवन तानेका थिए । जिल्ला तानेको केही समयमै उनलेे शक्तिकेन्द्रमा फोन घुमाएर ईलाका प्रहरी कार्यालय रत्ननगर आएको स्रोत बताउँछ । पहुँच र शक्तिशाली प्रहरीको रूपमा चिनिने मल्लको दरबन्दी गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको सशस्त्र प्रहरी सेनामुख तनहुँ भए तापनि उनलाई अझै दरबन्दी फिर्ता गर्न डिएसपी खड्काले सकिरहेको छैनन् ।

त्यस्तै, अर्का प्रहरी संगठनमा अत्यन्तै गन्हाएका र बदनाम भएका घुमुवा प्रहरी सहायक हवल्दार दीपेश बस्नेत हुन् । उनलाई दरबन्दीमा फिर्ता गर्न डिएसपी खड्काले मानिरहेका छैनन् । बस्नेतको दरबन्दी कारागार सुरक्षागार्ड तुलसीपुर दाङ हो । उनलाई पनि अहिले सम्म दरबन्दीमा फिर्ता गरिएको छैनन् । प्रहरी प्रधान कार्यालयमा उनी विरुद्ध पटकपटक उजुरी तथा गुनासोको ठेली परे पनि जोगाउन स्वयं कार्यालय प्रमुखले नै माथिल्लो निकायलाई गलत, झुठा, तथ्यहिन एवं भ्रामक प्रतिवेदन तयार बनाई जाहेर गर्न लागिपर्दा उनको मनोबल समेत बढ्ने गरेको पाइन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालीन प्रहरी उपरीक्षक नवराज अधिकारीले उनको विरुद्ध धेरै गुनासो आएपछि माघ १५ गते मात्रै दरबन्दीमा रवाना गर्न मौखिक निर्देशन दिदा समेत त्यसको अझै पालना भएको छैन । यसअघि उनलाई बागमती प्रदेश प्रहरी कार्यालयका तत्कालीन डिआइजी हाल अवकाशप्राप्त एआइजी वसन्त कुमार लामाले समेत घुमुवाबाट हटाइ आन्तरिक ड्युटीमा खटाउन टाँडीका तत्कालीन डिएसपी इन्द्रबहादुर रानालाइ निर्देशन नै दिइएका थिए । त्यसपछि उनलाई केही समय डिएसपी रानाले आफ्नो मोबाईल गाडी मै आन्तरिक ड्युटीमा खटाएका थिए । पछि गोप्य रूपमा कसैले थाहा नपाउने गरी पुनः सादा पोशाकमा खटाएको कुरा प्रहरी कार्यालयमा चर्चा हुने गर्छ । घुमुवा छैनन् भनी देखाउन उनलाई कोर्टमास्टरको जिम्मेवारी समेत दिइएको छ । त्यसैले पनि बारम्बार तालुकदार कार्यालयले दरबन्दीमा रवाना गर्न निर्देशन हुँदा समेत त्यसको कुनै सुनुवाइ हुँदैन । तालुकदार कार्यालयले बारम्बार लिखित एवं मौखिक रूपमा पत्राचार गर्दा समेत टाँडी प्रहरीले त्यसको कुनै सुनुवाइ नगर्दा उनी शक्तिशाली घुमुवा प्रहरी रहेको चर्चा यहाँ हुने गर्दछ । बदनाम प्रहरीलाई हटाउन पटकपटक मौखिक निर्देशन भए पनि कार्यालय प्रमुखले नै टेर पुच्छर लगाएको पाइदैन । जसले गर्दा प्रहरी अनुशासनलाई समेत यसले नराम्रोसंग गिज्याइरहेको छ । चारैतिर हाकिमको आशीर्वाद रहेकोले पनि उनलाई दरबन्दीमा रवाना गर्न कसैको हिम्मत हुँदैन । कहिँकतै उजुरीका ठेली पुग्दा समेत फर्जी प्रतिवेदन बनाइ पठाउन यहाँका हाकिम नै सक्रिय छन्, स्रोतले भन्यो । कार्यालय प्रमुखकै संरक्षण पाएपछि उनलेे यतिबेला उजुरीले केही नहुने र आफूलाई कसैले हल्लाउँन नसक्ने भनी बताउदै आएका छन् । यसअघि पनि उनी पटकपटक बिवादतमा तानिएका थिए । उनलाई मुद्दामा रहेका वरिष्ठ सई विश्व सुवेदीको पहलमा जोगाउने काम हुँदै आएको बुझिन्छ ।

त्यस्तै, धादिङ दरबन्दी भएका प्रसह केशव पाण्डे अहिले बछौली प्रहरी चौकीमा कार्यरत छन् । उनलाई उनको काका एसपी बेलबहादुर पाण्डे (हाल एसएसपी बढुवा सिफारिसमा) परेकोले जोगाउने काम हुँदै आएको छ । एसपी पाण्डे अहिले कर्मचारी प्रशासन शाखामा छन् । उनलेे नै आफ्नो भतिज केशवको धादिङबाट चितवन काज गरेका हुन् । यस अघि उनी शान्तिचोक प्रहरी बिटमा लामो समय बसेका थिए । घर नै बकुल्हर रहेका उनी यहाँका स्थानीय समेत हुन् । अत्यन्तै चलाख मानिने उनी शान्तिचोक प्रहरी बिटमा हुँदा तत्कालीन डिएसपी रविन बाबू रेग्मीले बछौली पठाएका थिए । गुनासो आएपछि उनलाई त्यहाँबाट हटाइएको स्रोत बताउँछ ।

त्यसको अलावा पञ्चकन्या प्रहरी चौकीमा बिगत १२ बर्षदेखी प्रहरी हवल्दार गिता खड्काले एकछत्र राज गर्दै आइरहेकी छिन् । उनको दरबन्दी सिन्धुपाल्चोक रहे पनि उनलाई समेत अहिलेसम्म कसैले हटाउन सकेको छैनन् । ईलाका प्रहरी कार्यालय रत्ननगरको मुद्दाका प्रह शंकर यादव लामो समयदेखि राज गर्दै आइरहेका छन् । उनको दरबन्दी बारा हो । यद्यपि, उनलाई मुद्दाका वरिष्ठ सई विश्व सुवेदीको आशीर्वाद रहेको स्रोतले बताएको छ । प्रसह रेखा कुमारी गुरौको दरबन्दी हेटौंडा हो भने प्रसह अम्बिका भुलनको दरबन्दी सिन्धुपाल्चोक रहेको स्रोतको भनाई छ । उनीहरू दुवै चितवन काज आएका हुन् । यद्यपि, उनीहरूको समेत काज अवधी समाप्त भइसकेको छ । त्यस्तै, प्रसह सुवास लोप्चन प्रहरीको मोबाईल गाडीका चालक हुन् । उनको दरबन्दी काभ्रे रहेको बुझिएको छ । यद्यपि उनलाई समेत हालसम्म रवाना गरिएको छैनन् । उनले अहिले चालकलाई नहटाउनु भन्ने आदेश छ भन्दै हिंड्ने गरेका छन् । अधिकांश ठाउँमा उधारो खाँदै र  खाएको बिल समेत नतिरी हिंड्ने गरेका उनलाई डिएसपी अनिल कुमार खड्काले नै संरक्षण गरिरहेको स्रोतले बताएको छ ।

उता, वर्डा प्रहरी कार्यालय नारायणगढका प्रज नरेन्द्रबहादुर राउत र अस्थायी प्रहरी बिट देवघाटमा लामो समयदेखि प्रसनि जीतेन्द्र मिश्रको रजगज छ । उनीहरूलाई भने वर्डाका प्रहरी निरीक्षक गोपाल पौडेलले संरक्षण गरिरहेका छन् । राउत बिगत ४ बर्षदेखी वर्डा प्रहरी कार्यालय नारायणगढको कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । भने, अर्का देवघाटका असई २५ महिनादेखि इन्चार्जको रूपमा छन् । उनीहरूको दरबन्दी क्रमश : धादिङ र नुवाकोट हो । प्रहरी तालिम केन्द्र भरतपुरबाट २०५५ भाद्र ०१ गतेदेखि प्रहरी जवानमा औपचारिक प्रवेश गरेका निज प्रसनि मिश्रको सरुवा जहाँ भए पनि एउटै क्षेत्रमा किला गाडेर बस्न सफल एक जुनियर प्रहरी अधिकारी रूपमा चिनिन्छन् । जिल्लामा रहेका कनिष्ठ प्रहरी अधिकृतहरुलाइ पन्छाएर मिश्रलाइ २५ महिना देखी देवघाट प्रहरी चौकीको इन्चार्जमा निरन्तरता दिइरहेको देखिन्छ ।

पछिल्लो समय उनको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी चौकी सामरी नुवाकोट सरुवा गरेको थियो । २०७७ मंसिर ४ गतेको सरुवामा उनको दरबन्दी नुवाकोटमा छ । तर, उनी ठेकिएको दरबन्दी त जानू परेनन् परेनन् उल्टै देवघाट जस्तो महत्वपूर्ण बिटको इन्चार्ज हुने सुनौलो अवसर समेत पाए । उनै असई मिश्र जागीर खाएको दुई बर्षमै निलम्बन परेको प्रहरी अभिलेखबाट पुष्टि हुन्छ । असई मिश्र प्रहरी जवान हुँदा २०५६ माघ २८ गते ईलाका प्रहरी कार्यालय बल्खुखाना जाजरकोट सरुवा भए पश्चात् २०५७ असार ६ गते त्यहाँ निलम्बनमा परेका थिए । उनी क्षेत्रीय प्रहरी कार्यालय भेरीले खटाएपछि गएको सो, स्थानमा हुँदा उनी दुई महिना सम्म निलम्बनमा परेपछि रोइकराइ गरेर बल्लतल्ल उनको निलम्बन फुकुवा भएको थियो । पछि निलम्बन फुकुवा भएका उनलाई क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जले २०५७ भाद्र २७ गते देखी ईलाका प्रहरी कार्यालय सितलपाटी सल्यानबाट पुनबहाली भएका उनी प्रहरी प्रधान कार्यालयको नियमित सरुवा अन्तर्गत २०५९ मंसिर २४ गते ईलाका प्रहरी कार्यालय मुग्लिङ सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले २०७५ मंसिर २२ गते वर्डा प्रहरी कार्यालय नारायणगढ चितवन दरबन्दी बनाइ यहीँबाट प्रसनि पदमा बढुवा भएका उनी पछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०७७ मंसिर ७ गते प्रहरी चौकी सामरी नुवाकोट सरुवा गरेको भए तापनि उनलाई २५ महिना देखि ठेकिएको दरबन्दीमा रवाना नगराई चितवन प्रहरीले संरक्षण गरिराखेको प्रष्ट देखिन्छ ।

कार्यसम्पादनमा कमजोर र हाकिमलाई ज्युँज्युँ हजुर गरी चाकरी गर्न माहिर मिश्र छट्टु प्रहरीका रुपमा समेत चिनिन्छन् । कहिँ कतैबाट केही गुनासो आए जिल्ला प्रहरी कार्यालयको मन्दिरमा पुजारीको रुपमा काम गर्ने र देवघाट धार्मिक पर्यटकिय स्थल भएकोले उक्त चौकीमा समेत रेखदेख गर्ने गरी खटाईएको र निजको आवस्यकता अनुसार नै धार्मिक स्थललाई मध्यनजर राखि अस्थायी प्रहरी पोष्ट देवघाटमा खटाईएको’ भन्ने गरिन्छ । जिल्लामा इन्चार्ज नपाएका उनी भन्दा दर्जन भन्दा बढी काबिल असईहरु छन् । तर, उनीहरूलाई पन्छाएर चितवन प्रहरीले नुवाकोट दरबन्दीका असई मिश्रलाइ मात्रै त्यहाँको जिम्मेवारीमा निरन्तरता खटाएको देखिन्छ ।

स्रोतका अनुसार यतिबेला ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले प्रहरी वरिष्ठ हवल्दार गणेश घिमिरे र वरिष्ठ प्रहरी नायब निरीक्षक बाबू कृष्ण पुडासैनीलाई दरबन्दीमा रवाना नगरी संरक्षण गरी राख्ने काम गरेका छन् ।

हवल्दार मेजर समेत रहेका वरिष्ठ हवल्दार घिमिरे र सुवेदर मेजर समेत रहेका वरिष्ठ सई पुडासैनीको दरबन्दी क्रमशः धादिङ र सिन्धुपाल्चोक हो । घिमिरे बिगत ८ बर्षदेखी खैरहनीमा एकछत्र राज गर्दै आइरहेका छन् । उनको यसअघि दुइ ठाउँमा सरुवा भएपनि अझै दरबन्दीमा फिर्ता हुनु परेको छैनन् । अहिले उनलाई दरबन्दीमा फिर्ता गर्न प्रहरी निरीक्षक भानु खड्का स्वयंले नै मानिरहेका छैनन् । खड्का जिल्ला प्रहरी कार्यालय सप्तरीबाट ईलाका प्रहरी कार्यालय खैरहनीमा आएका हुन् । उनलेे रवाना नगराई संरक्षण गरेका वरिष्ठ हवल्दार घिमिरे कसरी हुन्छ ईलाका प्रहरी कार्यालय टाँडी जान अनेक कसरत गरिरहेका छन् ।

स्रोतले भन्यो : सुवेदार मेजरको उजुरी आएको छ । अब मलाई पनि सिध्याउन्छ यहाँ बस्नु हुँदैन । दरबन्दी जान नपरे हुन्थ्यो भन्ने उद्देश्यले उनलेे यतिबेला टाँडी जान धेरै ठाउँमा फोन घुमाएका छन् । सरुवा भए रवाना लिए ३ महिना बाहिर बसेर पुनः चितवन आउने उनी किन खैरहनी नै बारम्बार आइरहेका छन् भन्ने शंका उब्जिएको छ । विशेष गरेर उनलेे अहिले जिल्ला प्रहरी कार्यालय चितवनको कर्मचारी प्रशासन शाखामा सेटिङ गर्न थालेका छन्, स्रोतले भन्यो । घिमिरे जतिसक्दो चाँडो खैरहनी छाड्ने र दरबन्दी भएको स्थान धादिङ नगई टाँडी आउने प्रयास गरिरहेका छन् । आठ बर्षदेखी खैरहनीमा एकछत्र राज गर्दै आइरहेका उनलाई दरबन्दीमा फिर्ता गर्ने आँट कसैको छैनन् । उनीमाथि यसअघि प्रहरी कर्मचारीहरुको आन्तरिक ड्युटी लिस्ट सामाजिक सञ्जालमार्फत विभिन्न ब्यक्तिलाई पठाउने गरेको आरोप समेत लागेको छ ।

उता, सुवेदार मेजर समेत रहेका अर्का वरिष्ठ सई पुडासैनीको दरबन्दी समेत खैरहनी होईन । उनको दरबन्दी सिन्धुपाल्चोक भएपनि उनलाई एसपी रामेश्वर कार्कीको संरक्षण रहेको बुझिन्छ । उनलेे आफू चितवनका एसपी रामेश्वर कार्कीको साडु पर्ने बताउँदै आएका छन् । यद्यपि, यो बिषयमा पुष्टि भने भईसकेको छैनन् । उनका विरुद्धमा प्रहरी प्रधान कार्यालयबाट लेप हुँदै उजुरी आएपछि केही कुरा बुझ्न भन्दै (शुक्रबार) जिल्ला प्रहरी कार्यालय बोलाईएको थियो । त्यहाँबाट उनी हेटौंडास्थित घर बिदामा गएको बुझिन्छ । उनीहरूको दरबन्दी अन्यत्र भए तापनि प्रहरी निरीक्षक भानु खड्काको आशिर्वाद रहेको बताइन्छ ।

माथिका त यी केही उदाहरण मात्रै हुन् । यस्ता कयौं प्रहरी कर्मचारी छन्, जो राजनीति एवं शक्तिकेन्द्रको आडमा चितवनको विभिन्न प्रहरी युनिटमा बर्षौंदेखी एकछत्र राज गर्दै आइरहेका छन्, जसले गर्दा प्रहरी संगठनलाई समेत बदनाम बनाइरहेको देखिन्छ । नेपाल प्रहरी निमुखाको हकहित र नीति नियम पालना गराउने निकाय हो तर आफ्नै संगठनमा हाकिमहरुले काखापाखा गर्ने रवैयाका कारण अहोरात्र दिनरात खटीने सोझासाझा प्रहरीको मनोबल गिर्छ । प्रहरी संगठनमा एउटै नीति नियम सबैलाई लागू हुन्छ तर शक्तिकेन्द्रमा पहुँच र पावर भएकालाई यो नियम लागू भएको छैन। प्रहरी प्रधान कार्यालयले देशभर काजमा खाटेका कर्मचारीलाई रवाना फिर्ता गरि दरबन्दी पठाउन सर्कुलर गरे पनि जिल्ला प्रहरी कार्यालय चितवनको मातहतका प्रहरी कार्यालयले तालुक कार्यालयको निर्देशनलाई नै अवज्ञा गर्ने गरेको पाईएको हो ।

दुई प्रहरी जिल्ला तानिए ।
यता, ईलाका प्रहरी कार्यालय भण्डाराका दुई प्रहरी जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी नायब निरीक्षक पदमबहादुर बस्ताकोटी र प्रहरी सहायक हवल्दार निकेश प्रजा जिल्ला तानिएका हुन् । उनीहरू विरुद्ध गुनासो आएपछि चितवनका प्रहरी प्रमुखले जिल्ला तानेको स्रोतले दाबी गरेको छ । बस्ताकोटीलाई अहिलेसम्म त्यहाँ हुँदा कसैले हल्लाउन सकेका थिएनन् । उनैले परिचालन गरेका प्रजालाई समेत जिल्ला फिर्ता बोलाएको छ । उनलेे आफूलाई कसैले हल्लाउन नसक्ने साँढेको उपमा दिने गरेका थिए । ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक स्याम मणि पोख्रेलले भने प्रदेश प्रहरी प्रमुखलाई नै गुम्राहमा राखी आफ्नो कार्यालयमा कुनै प्रकारको घुमुवा नरहेको र कसैलाई पनि सूचना संकलनमा नखटाइएको भनी प्रदेश प्रहरी कार्यालयलाई झुक्याएर जवाफ लेखी पठाइएको थियो ।

ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुर दरबन्दी भई ईलाका प्रहरी कार्यालय भण्डारा चितवनमा कार्यरत बस्ताकोटीले जागीरको अधिकांश समय विभिन्न प्रहरी चौकीमा कहिले ईन्चार्ज त कहिले ट्वाइसीको रूपमा आफ्नो पकड जमाउदै आएका थिए । दरबन्दी जहाँ भएपनि उसले कहिले जिल्ला छाड्नु पर्दैनन् । अन्यत्र दरबन्दी परेपनि चितवन छाड्नुनपर्ने भाग्यमानी सई हुन्, बस्ताकोटी । भरतपुर तालिम केन्द्र अगाडि घर भएका उनी नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरूमार्फत फोन गराई आफ्नो सरुवा भएको स्थानमा समेत नगई एकछत्र रूपमा राज गर्दै आएका छन् । शक्तिकेन्द्रको आडमा चितवनका एसपीलाइ नै उनले नचाउने गरेका छन् । उनै सई बस्ताकोटी यसअघि प्रहरी चौकी जुटपानी थिए । त्यहाँ हुँदा उनले टाँडीका घुमुवा प्रहरी सहायक हवल्दार दीपेश बस्नेतसंग मिलेर काम गर्ने गर्थे । अहिले पनि माओवादीका केही नेताहरूमार्फत चितवनका एसपीलाई फोन घुमाएर उनी जुटपानी वा पदमपुर मध्य एक ठाउँमा जान खोजीरहेका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545