Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेको मिसन ग्रासरुट अभियान : पढ्नुहोस् आठ जिल्लाका ११ गतिविधि


काठमाडौं, २३ फागुन । नेकपा एमालेको पार्टी सुदढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज पनि देशभरका स्थानीय तहहरूमा विभिन्न गतिविभि भएका छन् ।

अभियानअन्तर्गत पार्टी कमिटीहरूको बैठक, भेला, अभिमुखीकरण, सदस्यता वितरण र नवीकरणलगायत कामहरू भइरहेका छन् । साथै तल्लो तहका कार्यकर्ता पंक्ति र जनतासँग समेत साक्षात्कार गरेर एमालेले आफ्नो अभियानलाई प्रभावकारी र फलदायी तुल्याइरहेको छ ।

रामेछाप

नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुट अन्तर्गत आज रामेछापको खाँडादेवी गाउँपालिकामा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको आतिथ्यतामा स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षणमुलक बैठक सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले देशको आर्थिक अवस्था अझ बिग्रने संकेत देखिएको बताउनुभयो । राजश्व सङ्कलन लक्ष्य अनुसार नभएको र बजेटमा नछुट्याइएको क्षेत्रमा खर्च बढेको कारण आर्थिक अवस्था थप बिग्रिँदै गएको पूर्वअर्थमन्त्री समेत रहनुभएका पाण्डेको भनाइ छ ।

यस वर्ष विदेशको पैसा पनि नआउने उहाँले बताउनुभयो । यस वर्ष ५८ अरब विदेशी अनुदान आउने भनेकोमा जम्मा ७ अर्ब रूपैँयमात्र आएको उहाँले बताउनुभयो । पाण्डेले राजनीति बुझ्नका लागि अर्थशास्त्र बुझ्नु पर्ने बताउनुभयो । अर्थशास्त्र नबुझ्ने मान्छेले अब राजनीति गर्न नसक्ने उहाँले बताउनुभयो ।

हुम्ला

हिमाली जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिका र कास्कीको रूपा गाउँपालिका नेकपा एमालेको देशभर सञ्चालन भइरहेको संगठन सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुटको काम पूरा गर्ने पहिलो पालिका बनेका छन् ।

ताँजाकोट गाउँपालिका अन्तर्गतका सवै वडाका बैठकहरू सम्पन्न भएको एमाले केन्द्रीय सदस्य एवं ताँजाकोट गाउँपालिकाका लागि केन्द्रीय प्रतिनिधि निरज आचार्यले जानकारी दिनुभयो । ताँजाकोटका सबै वडाहरूमा पार्टी सदस्यता नविकरणको काम पनि पूरा भएको छ ।

ताँजाकोट गाउँपालिका कमिटीको आयोजनामा जनसभा, पालिका कमिटीको बैठक, अभिमुखीकरण तथा प्रशिक्षण र सबै वडाका बैठकहरू सम्पन्न भएका छन् । पार्टी सदस्यता नवीकरणको काम पनि पूरा भएको छ ।

फागुन १३ गते देउडा खेलसहित सुरू भएको जनसभामा १५ सय बढी जनसहभागिता थियो । देउडाखेलमा खेलाडीहरूले बर्तमान राजनीतिको चरित्र चित्रण हुने गरी गितहरू गाएका थिए । अभियानमा कर्णाली प्रदेश सचिवालय सदस्य ज्ञमी बुमी, प्रदेश सदस्य पूर्ण ढकाल, टीका शाही, जिल्ला कमिटीका उपसचिव चन्द्र प्रकाश ढकाल लगायतका नेताहरूको सहभागिता थियो ।

कास्की

यसैगरी, कास्कीको रूपा गाउँपालिकामा सबै वडाको बैठक सम्पन्न भएको छ । रूपा गाउँपालिकामा पालिकास्तरको बैठक एवम् अभिमुखीकरण, ७ वटै वडामा वडा कमिटीको बैठक सम्पन्न भएको केन्द्रीय सदस्य एवं रूपा गाउँपालिकाकी केन्द्रीय प्रतिनिधि भगवती न्यौपानले जानकारी दिनुभयो ।

जनसंगठनका भेला, पार्टी र जनप्रतिनिधिबीच अन्तरक्रिया, सबै टोल स्तरका भेला र प्रशिक्षण तय भैसकेको र पार्टी सदस्यता नवीकरणको अभियान पनि सँगै चलिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, अभियानकै क्रममा नागरिक समाज एवम् बौद्धिक एवम् प्रबुद्ध वर्गसँग अन्तरक्रिया गरिने कार्यक्रम पनि रहेको छ । अभियानकै अवसरमा कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याउँदै आउनुभएका अग्रजहरूको सम्मान गरिएको छ । अभियानमा प्रदेश कमिटीबाट धनबहादुर नेपाली, कालिदास सुबेदी लगायतका नेताहरू परिचालित हुनुभएको छ ।

धनुषा

धनुषा जिल्लाको नगराई नगरपालिकामा पनि मिसन ग्रासरुट अभियानले तीव्रता पाएको छ । नेकपा एमालेकी पोलिटव्युरो सदस्य जुली कुमारी महतो तथा नेकपा एमाले केन्द्रीय सदस्य लिला श्रेष्ठको आतिथ्यतामा नगराई नगरपालिकामा पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियानका लागि विविध कार्यक्रमहरू भएका छन् । मिसन ग्रासरुट अभियानले धनुषामा कार्यकर्ता पंक्तिमा उत्साह देखिएको छ ।

कास्की

कास्कीको पोखरा महानगरपालिकामा पनि मिसन ग्रासरुट अभियानले तीव्रता पाएको छ । अभियान अन्तर्गत महानगरपालिका कार्यक्षेत्र भएका प्रदेश सचिवालय सदस्यहरूको बैठक गरी कार्यविभाजन, प्रदेश कमिटी सदस्यहरूको पनि छुट्टै बैठक, अभिमुखीकरण र कार्यविभाजन, अनेमसंघको पोखरा महानगरपालिकाको सम्मेलन, पार्टीको महानगर कमिटीको बैठक र अभिमुखीकरण, महानगरको पार्टी नेतृत्व र ३३ वटै वडाका वडा कमिटीका पदाधिकारीहरूको बैठक तथा अभिमुखीकरण, जनसंगठनको बैठक र १ सय ९७ जना जेष्ठ कम्युनिष्टको सम्मान लगायतका कार्यक्रमहरू सम्पन्न भएका छन् ।

अहिलेसम्म ३ वटा वडा कमिटीको बैठक सम्पन्न भएको छ भने यही महिनामा सबै वडा कमिटीको बैठक सम्पन्न गर्ने कार्ययोजना बनेको छ । पोखरा महानगरपालिकामा पार्टीका गण्डकी प्रदेश सहइन्चार्ज एवं केन्द्रीय सदस्य मायानाथ अधिकारी केन्द्रीत प्रतिनिधिका रूपमा खटिनुभएको छ ।

जुम्ला

नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत आज जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा वडास्तरीय कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटीका अध्यक्ष मिमबहादुर बुढ्थापाको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल, जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य शान्ता शाही, प्रदेश प्रतिनिधि आदिप्रसाद न्यौपाने, नारायणी चौलागाईं, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, सचिव धनकृष्ण पाण्डे, सदस्य धीरज जैसीलगायतको उपस्थिति थियो ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का प्रचार विभागका उपप्रमुख समेत रहनुभएका रिजालले कुनै शक्तिका सामु नझुक्ने राष्ट्रवादी पार्टी भएका कारण एमाले पार्टीलाई घेराबन्दीमा पारिएको बताउनुभयो । आफ्नो संविधान आफैँ बनाउँदा, नाकाबन्दीको डटेर सामना गर्दा, आफ्नो लुटिएको भूमिसहित नक्सा जारी गर्दा र चीनसँग पारबहन सम्झौता गर्दा एमालेमाथि प्रहार गरिएको बताउँदै उहाँले जति गरे पनि कुनै विदेशी प्रभुका सामु नझुक्ने धारणा राख्नुभयो ।

वटा ८ वडा रहेको तातोपानी गाउँपालिकका ३ वटा वडामा एमालेले अभियान सम्पन्न गरेको छ । बाँकी वडाहरूमा अभियान सञ्चालन गरिने पालिका अध्यक्ष पूर्ण पाण्डेले बताए ।

जुम्ला

यसैगरी, गोठीचौर गाउँपालिका वडा नम्बर ३ मा कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले केन्द्रीय सदस्य एवं गोठीचौर गाउँपालिकाका लागि केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही नेशनलको प्रमुख आतिथ्यता र एमाले जिल्ला कमिटी सदस्य लालबहादुर बोहोराको अध्यक्षतामा भएको भेलाले रामकृष्ण बढुढाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

वडा कमिटीको उपाध्यक्षमा कालीबहादुर ऐडी, सचिव कालीबहादुर बोहोरा, उपसचिव बिर्ख ऐडी र बुद्धि बोहोरा रहनुभएको छ । कार्यकर्ता भेलामा कर्णाली प्रदेश कमिटी सदस्य जयबहादुर खत्री लगायतका नेताहरूले प्रशिक्षण दिनुभएको थियो ।

काठमाडौं

काठमाडौंको कीर्तिपुरमा मिसन ग्रासरुट अभियानलाई स्ववियु निर्वाचनमा केन्द्रीत गरिएको छ । त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अनेरास्ववियुलाई बिजय गराउनका लागि नेकपा (एमाले) कीर्तिपुर नगर कमिटी, त्रिभुवन विश्व विद्यालय प्रगतिशील प्राध्यापक सङ्गठन र कर्मचारी सङ्गठनको संयुक्त बैठक नेकपा एमाले केन्द्रीय सदस्य किशोर बिक्रम मल्लको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ । बैठकले फागुन २७ गते पार्टी नगरस्तरीय भेला, फागुन २८ गते प्राध्यापक र कर्मचारीको संयुक्त भेला गर्ने निर्णय गरेको छ ।

भेलामा पार्टी नेताहरू चिरञ्जीवी पौडेल, वाइ पी आचार्य, केश रत्न बज्राचार्य, राधाकृष्ण बस्नेत, हिमेश केसी, प्रगतिशील प्राध्यापक सङ्गठनका महासचिव पदम खतिवडा ,उप–महासचिव सुमन खरेल, कर्मचारी सङ्गठनका अध्यक्ष अनन्त पौडेल र अनेरास्ववियुका नेताहरूको उपस्थिति थियो ।

कास्की

यता, कास्कीको अन्नपूर्ण गाउँपालिकामा पनि मिसन ग्रासरुट अभियान अन्तर्गत वडा बैठकले तीव्रता पाएको छ । अन्नपूर्ण गाउँपालिका कमिटीको आयोजनामा आज वडा न .६ लुम्लेमा वडा कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ ।

बैठकमा पार्टीका प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य दिपक पौडेल, प्रदेश कमिटी सदस्य गौरीप्रसाद सुवेदी, पार्टी गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजीप्रसाद लम्साल, जिल्ला कमिटी सदस्यद्वय कृतिनाथ देबकोटा र दामोदर शर्मा रिमाल, जिल्ला समन्वय समिति कास्कीका सदस्य गणेश बहादुर जिसी, अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष बिबेक देबकोटा, साबिक लुम्ले गाबिसका अध्यक्ष गोलमान गुरुङ ,वडा अध्यक्ष एकदेब देबकोटा लगायतले मिसन ग्रासरुट अभियानको बारेमा प्रकाश पार्नुभएको थियो ।

यसअघि नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कमिटीको पूर्ण बैठकले संगठन सुदृढीकरण अभियानका लागि टोलदेखि वडासम्मका विभिन्न कार्ययोजना तयार गरेको छ । बैठक अन्नपूर्ण गाउँपालिका वडा न. ६ कमिटीका अध्यक्ष बाबुराम देबकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अर्घाखाँची

नेकपा एमालेले मिसन ग्रासरूट अभियानअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किम डाँडामा अभिमुखीकरण बैठक सम्पन्न भएको छ ।

पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालको प्रमुख आतिथ्यतामा र पार्टी वडाअध्यक्ष सुमन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी, नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल, अभियानमा जिल्ला कमिटीबाट वडामा खटिनुभएका संयोजनकर्ता शोभाखर पन्थी लगायतले प्रशिक्षण मुलुक मन्तव्य राख्नुभएको थियो ।

मुगु

भौगोलिक रूपमा अत्यन्तै विकट रहेको मुगुको कार्मारोङ गाउँपालिकामा पनि मिसन ग्रासरूट अभियान तिब्र रूपमा अघि बढेको छ । फागुन १३ गतेदेखि शुरू गरिएको अभियानअन्तर्गत पहिलो चरणमा गाउँ कमिटी बैठक, वडा कमिटी बैठक र भेलाहरू सम्पन्न भएका छन् ।

अभियानकै क्रममा स्थानीय वडादलसमेत गठन गरिएको छ । अभियानको संयोजनका लागि एमाले केन्द्रीय सदस्य दल फडेरा, प्रदेश कमिटी सदस्य राजु कार्की, राधिका मल्ललगायतका नेताहरूलाई कार्मारोङ गाउँपालिकामा खटिनुभएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमालेको मिसन ग्रासरुट अभियान : पढ्नुहोस् आठ जिल्लाका ११ गतिविधि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545