सुनसरी । चाइनिज पेस्तोल, गोली, लागुऔषध र चोरिएको मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय इटहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इटहरी–१५ का ३० वर्षीय सुजित मग्राती माझी र इटहरी १० का १९ वर्षीय मुकेश कोइरालाले चोरीको मोटरसाइकल कुदाई रहेको र पेस्तोलसमेत रहेको भनी सूचना पाए सँगै ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई इटहरी–१२ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले १ थान चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने ६ राउण्ड गोली, १५० मिलिग्राम ब्राउन सुगर, र नाईट्रोसन ट्याब्लेट तथा प्रदेश नं. १–०२–०४३ प ६८९७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी इटहरी–११ का ३३ वर्षीय मणि कुमार राईलाई मोटरसाइकल चोरी गरेको आरोपमा चोरी भएको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ ।
माघ १७ गते इटहरी–१ बाट मोटरसाइकल चोरी भएको भन्ने सूचना पाए सँगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४६ प ३१२९ नम्बरको बुलेट मोटरसाइकल सहित राईलाई पक्राउ गरेको हो । हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा ईलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।