Techie IT
बिहीबार, माघ ३,२०८१

गण्डकी प्रदेशका नव नियुक्त मन्त्रीहरुद्वारा पदबहाली


गण्डकी प्रदेश । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको थियो । यसअघि नियुक्त मन्त्रीहरूको कार्य विभाजन तोकिएपछि आज बिहान मन्त्रीहरूले पदभार ग्रहण गर्नुभएको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले बिहान पदबहाली गर्नुभएको हो ।

यसैगरी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ र कृषि तथा जलस्रोत मन्त्री बेदबहादुर गुरुङले भने मङ्गलवार साँझ नै पदबहाली गर्नुभएको थियो । पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चुमानले प्रदेश सरकारको गौरवका आयोजनाका रुपमा रहेको तनहुँको बन्दीपुर र देवघाट गाउँपालिकाको सिमाना सेती नदीमा बन्ने एक सय १५ मिटर लामो पक्की पुल निर्माणका लागि संक्षिप्त वातावरणीय प्रभावको अध्ययन प्रतिवेदन स्वीकृतिका लागि पेस भएको टिप्पणी सदर गर्नुभयो ।

सो क्रममा उहाँले सङ्घीयताको कार्यान्वयनमा लाग्न र सबै खालका प्रयासमा साथ दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“अहिलेको कार्यभार सङ्घीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्नु हो । सेवा प्रवाहलाई सहज बनाउँदै जनताको छिटो सम्पन्न गर्ने गरी लाग्न विशेष आग्रह गर्दछु ।”

अन्य मन्त्रीहरूले समेत पद बहालीसँगै मन्त्रालयसँग सम्बन्धित निर्णय सदर गर्नुभएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालयले बनाइएको छ । यसअघि १२ मन्त्रालय रहेकामा व्ययभार कम गर्न त्यसलाई घटाइएको मुख्यमन्त्री अधिकारीले बताउनुभयो । गण्डकी प्रदेशमा सरकारले पूर्णता प्राप्त गर्दा सरकारको नेतृत्व गरेको नेकपा९एमाले०ले मुख्यमन्त्रीसहित चार मन्त्रालय, माओवादी केन्द्रले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक मन्त्रालय लिएका छन् ।

गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीले सुरुमा चार सदस्सीय मन्त्रिमण्डल गठन गरेपनि कार्य विभाजन गर्नुभएको थिएन । अधिकारी नेकपा९एमाले०का २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक गरी ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले संसद्मा विश्वासको मत समेत लिइसक्नुभएको छ । गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख लिने गरी केन्द्रबाट नै पद बाँडफाँट गरिएको थियो । सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भइसक्नुभएको छ । रासस


क्याटेगोरी : समाचार
ट्याग : ##गण्डकी प्रदेश, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545