Techie IT
बिहीबार, माघ ३,२०८१

गोरखा नगरपालिकाको नाम ‘ पृथ्वीनारायण ’ राख्न राप्रपा गोरखाको माग


गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरेर ‘पृथ्वीनारायण नगरपालिका’ राख्न माग गरेको छ ।

नगरप्रमुख कृष्णबहादुर रानामगरलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा गोरखाले नाम परिवर्तन गर्न माग गरेको हो । राप्रपाका जिल्ला उपाध्यक्ष सुदीप ढकाल नेतृत्वको टोलीले नगरप्रमुख रानामगरलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा गोरखा नगरपालिकाको अगुवाइमा सदरमुकामको ठूलो आँगनमा पृथ्वीनारायण शाहको शालिक राखिएकामा नगरपालिकालाई धन्यवाद राप्रपाले धन्यवाद दिएको छ ।

मुलुक सङ्घीय संरचनामा जानुअघि गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका रहेको थियो । सङ्घीयता कार्यान्यनसँगै नगरपालिकाको नाम परिवर्तन गरी ‘गोरखा’ राखिएको हो ।

यसैबिच नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती मनाउन गोरखामा धुमधामका साथ तयारी थालिएको छ । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा गोरखा सदरमुकाम क्षेत्र राष्ट्रिय झण्डासहितको ध्वजापताकाले सजाइएको छ । बुधबार ठूलो आँगनमा नेपाली सेना र गोरखा नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

राष्ट्रनिर्माताको सम्मानमा गोरखामा विगुल बजाउँदै सेना
नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

सोही क्रममा गोर्खा दरबारको ठूलो आँगनमा राष्ट्रनिर्माताको पूर्णकदको शालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गर्नुहुने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । गोर्खा नगरपालिका र सेनाको स्थानीय पल्टनको सहकार्यमा उक्त कार्यक्रम हुनेछ ।

सेनाले बुधबारदेखि नै त्यहाँ हरेक दिन बिहान र बेलुका राष्ट्रनिर्माताको सम्मान विगुल बजाएर सलामी दिने कार्यको शुभारम्भ गर्नेछ ।

यसैबीच, राष्ट्रनिर्माताले राज्य एकीकरण गर्ने क्रममा प्रयोग गरेको मार्गमा विसं २०७६ देखि सेनाले पृथ्वीजयन्तीका अवसर पारी हरेक वर्ष ‘एकीकरण पदयात्रा’ गर्दैआएको छ । यस वर्ष पनि गोरखाबाट पुस २१ गतेदेखि सुरु भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै आज हनुमानढोका दरबारमा आइपुगेको छ ।

उक्त पदयात्रामा सेनाका पृथ्वीनारायण कालिन पाँचवटा पल्टनका झण्डा, राष्ट्रिय झण्डा र दीपज्योति बोकेर सैनिक टोलीले मार्चमा निस्केकोमा निर्धारित यात्रा पूरा गरी आज हनुमान ढोका आइपुगेको छ ।

उक्त पदयात्रा टोली बुधबार बाजागाजासहित हनुमान ढोकाबाट निस्केर नगर परिक्रमा पछि जङ्गीअड्डास्थित राष्ट्रनिर्माताको पूर्णकदको शालिक नजिक आयोजना गरिने विशेष समारोहमा सहभागी हुनेछ । त्यहाँ सेनाले संस्थापकप्रति सलामीसहित श्रद्धाञ्जलि अर्पण गर्नेछ ।

पृथ्वीजयन्तीकै अवसरमा सैनिक मुख्यालयमै नेपाली सेनाव्यापी कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिने कार्यक्रम छ । सेनाले बुधबार नै त्यहाँ इतिहासविद् र प्राज्ञबाट दिव्यपदेश सम्बन्धमा प्रवचन कार्यक्रमको आयोजना गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम मूलद्वारा अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलिका साथ सम्मान व्यक्त गर्ने कार्यक्रम छ ।

सरकारले धेरै वर्षपछि पृथ्वीजयन्तीका अवसरमा मुलुकभर र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियागमा समेत बुधबार सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर हरेक वर्ष जलपान समारोहको आयोजना गर्दैआएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोरखा नगरपालिका, #राष्ट्रिय प्रजातन्त्र पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545