Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रहरीमा बरिष्ठ सई : पद बढ्यो, तलब घट्यो


काठमाडौं । पद बढ्दा तलब समेत घटुवा हुनुपर्ने स्थिति नेपाल प्रहरीमा आएको छ। प्रहरी नियमावली, २०७१ संशोधन गरेर नयाँ पद सिर्जना गरेपछि यस्तो स्थिति आएको हो।

बढुवाको जाम खुलाउने भन्दै गत वर्ष प्रहरी निमायवली संशोधन गर्दै वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारको नयाँ पद सिर्जना गरिएको थियो। तीन वटा नयाँ पद सिर्जना भएपछि यी पदमा २० हजार भन्दा प्रहरी कर्मचारीको बढुवा समेत गरियो।

तर, पद बढेसँगै फुली थपिए पनि तलब भने घटेर आएपछि पदोन्नती भएका कर्मचारी नै निराश बनेका छन्। यो समस्या वरिष्ठ सईको दर्जामा देखिएको छ।

सईमा ८ ग्रेड खाएर वरिष्ठ सईमा बढुवा भएकाहरुले बुझ्दै आएको तलब प्रहरी नियमावली विपरीत रहेको पाइएको छ। ८ ग्रेड खाएपछि वरिष्ठ सईको फुली लगाइसकेकाहरुले सईमा खाएको भन्दा कम तलब पाउनु प्रहरी नियमावली २०७१ विपरीत रहेको हो।

प्रहरी नियमावलीले पद बढेपछि तलब पनि स्वभिक रुपमा बढी हुनुपर्ने स्पष्ट रुपमा उल्लेख गरेको छ। तर नियमावली विपरीत झण्डै एक वर्षदेखि वरिष्ठ सईले सईको भन्दा कम तलबमा काम गर्नुपर्ने स्थिति नेपाल प्रहरीमा रहेको छ।

प्रहरी नियमावली परिच्छेद १२ मा तलबभत्ताका बारेमा उल्लेख गरिएको छ। परिच्छेद १२ को दफा १४६ मा टाइम स्केलका बारेमा उल्लेख गरिएको छ। १४६ को (१) मा टाइम स्केल अनुसार तलब पाउने पदमा नयाँ नियुक्ति पाउने व्यक्तिले सामान्यतयाः स्केलमा लेखिएको न्यूनतम तलब पाउने उल्लेख गरिएको छ।

१४६ को (२) मा माथिल्लो तलबको कुनै पदमा बढुवा पाउने प्रहरी कर्मचारीले बढुवा भएको पदको सुरु तलब पाउने उल्लेख गरिएको छ। यो उपदफा अनुसार सुरुको तलबस्केद पाउने प्रष्ट पारेको छ।

तर यसै उपदफालाई प्रष्ट गर्दै पद बढेसँगै तलब पनि बढी हुनेपर्ने उल्लेख गरिएको छ। हाल पाइरहेको तलबभन्दा माथिल्लो तलबको सुरु तलब बराबर भएमा एक तलब वृद्धि थप गरेर दिने। पाइरहेको तलब बढुवा भएको सुरुको तलबभन्दा बढी भएमा माथिल्लो पदको तलब निर्धारण गर्दा पाइआएको तलब नपुगसम्मको तलब वृद्धि थप गरी माथिल्लो पदको एक तलब वृद्धिसमेत थप गरेर दिनुपर्ने उल्लेख गरिएको छ।

तर नियमावली अनुसार वरिष्ठ सईलाई २ ग्रेड थप गरेर दिँदा समेत आठ ग्रेड खाएका सईको तलब भन्दा २६२ रुपैयाँ कम तलब हुने गरेको छ। सई दर्जामा ८ ग्रेड खाएर वरिष्ठ सईमा बढुवा भएका अधिकारीहरु अहिले सईमा खाएको भन्दा २६२ रुपैयाँ कम तलब थाप्ने गरेका छन्।

सईमा ८ ग्रेड तलब खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ छ तर, अहिले उनीहरु वरिष्ठ सईमा बढुवा भएपछि २ ग्रेडकोसमेत तलब थप गरेर दिँदा पनि सईमा खाएको भन्दा २६२ रुपैयाँ कम, ४३ हजार ७३२ रुपैयाँ तलब थाप्दै आएका छन्।

सरकारले गत साउन १ गतेबाट लागू गरेको नयाँ तलबमान अनुसार वरिष्ठ सईको तलब ४० हजार ९९८ रुपैयाँ छ। सईको भने ३४ हजार ७३० रुपैयाँ छ। तर, १ हजार १ सय ५८ रुपैयाँका दरले सई दर्जाका प्रहरी अधिकारीले ८ ग्रेडसम्म तलब थाप्ने गर्नेछन्। ८ ग्रेड तलब थाप्ने सईको कूल तलब ४३ हजार ९९४ रुपैयाँ हुन्छ।

८ ग्रेड तलब थापेका सईहरुकोभन्दा कम अहिले वरिष्ठ सईको तलब हुने गरेको छ। वरिष्ठ सईमा २ ग्रेडमात्रै हुन्छ। १ हजार ३६७ रुपैयाँ ग्रेडका दरले वरिष्ठ सईको तलब जम्मा ४३ हजार ७३२ रुपैयाँ हुन्छ। जसकारण अहिले पनि ८ ग्रेड खाएका सईको भन्दा वरिष्ठ सईको तलब कम हुने गरेको हो। बढुवा भएपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुने आशा देखेका उनीहरु वरिष्ठ सई भएका थिए। त्यसमाथि पनि सईमा खाएको भन्दा कम तलब भएपछि भने उनीहरु निराश भएका हुन्।

एक त बढुवा भएपछि राजपत्रांकित तृतीय श्रेणी हुने आशा थियो। तर, राजपत्रअनंकितमै रहनु परेको छ। अर्कोतर्फ तलबसमेत घटेर आउँदा मनोबल बढ्नुको साटो निराश हुनपरेको छ। थपिएको फुलीले समेत कुनै अर्थ दिएन’, चितवनका एक जना वरिष्ठ सईले भने।

नेपाल प्रहरीमा भर्खरै वरिष्ठ सई, वरिष्ठ हवल्दार, सहायक हवल्दारको नयाँ पद सिर्जना गरिए पनि सशस्त्र प्रहरी बलमा भने यसअघि देखि नै यी पदहरु कार्यान्वयमा छन्। तर, सशस्त्रमा भने नेपाल प्रहरीको जस्तो समस्या छैन।

सशस्त्र र नेपाल प्रहरीमा दर्जा अनुसारको तलबस्केल पनि समान छ। सशस्त्र प्रहरीले भने ग्रेडमा मिलान गरेकाले यस्तो समस्या आएको छैन। सशस्त्रमा सईले जम्मा ६ ग्रेड मात्रै पाउँछन्। प्रहरीमा भने सईले ८ ग्रेडसम्म थाप्छन्। ६ ग्रेड थाप्दा सशस्त्रका सईको कूल तलब ४१ हजार ६ सय ७८ रुपैयाँ हुन्छ।

वरिष्ठ सईमा प्रहरीकै जस्तो २ ग्रेड राखिएको छ। २ ग्रेडसहित वरिष्ठ सईको तलब प्रहरीकै समान ४३ हजार ७३२ रुपैयाँ छ। जसकारण ६ ग्रेड थापेका सईको भन्दा वरिष्ठ सईमा २ ग्रेड खाएकाहरुको तलब २ हजार ५४ रुपैयाँ बढी हुन्छ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545