Techie IT
बिहीबार, माघ ३,२०८१

उत्तरी गोरखा: भोट हाल्न तीनघण्टा पैदल धाउनु पर्ने बाध्यता


धार्चे गाउँपालिका ३ लाक्पालकी केतानी गुरुङको मतदान केन्द्र दुङ्ला आधारभूत विद्यालयमा पर्छ । त्यहाँ पुग्न उनलाई ठ्याक्कै तीनघण्टा लाग्छ । यसअघिको पार्वती आधारभूत विद्यालय मतदानकेन्द्रमा भोट हाल्न जान चार घण्टा लाग्ने हुँदा जिल्ला मतदान केन्द्र निर्धारण समितिले यसपटक अल्लि वर सारेको हो ।

‘हामीलाई दुङ्ला पुग्न तीनघण्टा कस्सिएर हिँड्नुपर्छ’ स्थानीय केतानी गुरुङले भनिन्, ‘जान तीनघण्टा, फर्कँदा दुईघण्टा हिँड्नुपर्छ । ठाडै उकालो बाटो भीरको बाटो हिँड्नुपर्छ । तल हेर्दा पनि रिङ्टा लाग्छ । बुढाबूढी, बच्चाको आमा त भोट हाल्न जान सक्दैनन् । बिहानै गएर भोट हालेर फर्कँदा राती झिमिक्कै भइसक्छ ।’

दुङ्लाका करिब २० घरधुरीका मतदातालाई आफ्नो मतको अधिकारी प्रयोग गर्न असाध्यै कठिनाइ हुने गरेको पूर्व वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङको भनाइ छ । ‘बाटो पनि असाध्यै असजिलो छ’, उनी भन्छन्, ‘तलबाट घुमेर जाँदा बाटो त सजिलो छ, तर छ, सात घण्टा लाग्छ । माथिको बाटो कहाली लाग्दो छ ।’

सोही वडाको खोर्लाबेशीका मतदाता भोट हाल्न सातकन्या मावि मतदानकेन्द्र खोर्लागाउँ पुग्नुपर्छ । त्यहाँका करिब ४० घरधुरीका मतदातालाई मतदानस्थल पुग्न तीनघण्टाभन्दा धेरै लाग्ने पूर्ववडाअध्यक्ष गुरुङको भनाइ छ ।
वडा नं। ७ ठाँटीका बासिन्दालाई पनि मताधिकार प्रयोग गर्न सजिलो छैन ।

त्यहाँका १५ घरधुरीका मतदाता भोट हाल्न तीनघण्टा हिँडेर भीरकुना पुग्नु पर्छ । ‘आउँदा सिधै ओह्रालो झर्नुपर्छ । फर्कँदा ठाडै उकालो हिँड्नुपर्छ’, वडाअध्यक्ष राकेश गुरुङ भन्छन्, ‘आउँदा, जाँदा पाँचघण्टा पैदल हिँड्नुपर्छ ।’ सडक सञ्जालले नछोएको दुर्गम भेगका बासिन्दालाई आफ्नो मत अधिकार प्रयोग गर्न पनि सहज नभएको उनको भनाइ छ ।

धार्चे १ यारुका २० घरका मतदातालाई इच्छा आधारभूत विद्यालय मतदानकेन्द्र पुग्न दुई घण्टा उकालो हिँड्नुपर्छ । सोही वडाको दोभान, स्याउलीका मतदातालाई पनि मतदान स्थल पुग्न डेढघण्टा लाग्ने वडाअध्यक्ष रामसिँह गुरुङको भनाइ छ ।
धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा करिब ८० घरधुरीको बसोबास छ, तर यहाँ मतदान केन्द्र छैन ।

भोट हाल्न यहाँका मतदाता डेढघण्टा पैदल हिँडेर अमरनाथ आधारभूत विद्यालय लप्सीबोट जाने गर्छन् । ‘जंगलै जंगलको बाटो छ, त्यो पनि ठाडै उकालो छ । बर्खामा झरेको पहिरो अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन’, स्थानीय धनकुमार गुरुङ भन्छन्, ‘गाउँपालिकाको केन्द्र यहीँ छ, यत्रो बजार छ, विद्यालय छ, प्रहरी चौकी छ, पूर्वाधारहरु छन् तर मतदानकेन्द्र छैन ।

यहाँ त मतदानकेन्द्र बनाउनु पर्ने थियो तर बनाएनन् ।’ यहाँ केन्द्र नहुँदा खानीवेशीका करिब १५ घरधुरीका मतदाता पनि डेढघण्टाको उकालो धाएर अमरनाथ आधारभूत विद्यालय मतदानकेन्द्र पुग्नु परेको उनले बताए ।
हिमाल पारिको चुमनुब्री गाउँपालिकाका धेरै गाउँबस्तीका मतदातालाई पनि मतदान गर्न दुईदेखि तीनघण्टासम्म हिँड्नु परेको जनप्रतिनिधिहरु बताउँछन् ।

‘हाम्रो लोक्पाका २२ घरका मतदाता भोट हाल्न तीनघण्टा हिँडेर सिप्चेत जानुपर्ने बाध्यता छ’, चुमनुब्री ६ का वडाअध्यक्ष सरोज लामा भन्छन्, ‘घो र रेञ्जोमका २० घर, खारोङका १२ घरका मतदातालाई पनि लोङजाङ गुम्बा मतदानकेन्द्र पुग्न दुईघण्टा भन्दा धेरै हिँड्नुपर्छ ।’ पुरानो संरचनाका साविक वडा हुँदा निर्धारण गरिएको मतदानकेन्द्र अहिले परिमार्जन नहुँदा मतदातालाई सास्ती भएको लामाको भनाइ छ ।

सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिका २ को वडा कार्यालय मतदानकेन्द्र पुग्न ल्ही गाउँका ६० घरधुरीलाई डेढघण्टा पैदल हिँड्नुपर्छ । भर्जमका मतदातालाई पनि वडा कार्यालय मतदानकेन्द्र पुग्न दुईघण्टासम्म हिँड्नुपर्ने स्थानीय लाक्पा लामाको भनाइ छ ।

स्यालाका ४४ घरधुरीका मतदातालाई ल्होस्थित मतदानकेन्द्र धाउन एकघण्टा हिँड्नु पर्ने उनले बताए ।
चुमनुब्री ३ का बासिन्दालाई पनि मतदान गर्न एकघण्टा भन्दा धेरै हिँड्नु पर्ने बाध्यता छ । चिसापानी र एक्लेभट्टीका करिब ५० घरधुरीका मतदातालाई सिदुङ प्रावि मतदानकेन्द्र पुग्न एकघण्टा भन्दा धेरै लाग्ने वडाअध्यक्ष रामकुमार गुरुङको भनाइ छ । त्यस्तै २५ घरधुरी रहेको आँगाका मतदातालाई सोही मतदानकेन्द्र पुग्न पनि एकघण्टा भन्दा धेरै पैदल धाउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

हरेक निर्वाचन घोषणापछि जिल्लास्तरीय मतदानकेन्द्र निर्धारण समितिको बैठकले केन्द्रबारे वृहत छलफल र पुनर्निधारण गर्ने गर्छ । ‘यस पटक पनि समितिको बैठक बसेर मतदानकेन्द्र थपघट गरेको हो’, जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले भने, ‘तर ती ठाउँहरुको बिषयमा कुनै निर्णय भएन । मतदानकेन्द्र निर्धारण गर्दा दुरीको आधारमा निर्धारण गर्ने व्यवस्था छैन ।’ गाउँपालिकाका प्रमुखसहितको बैठकले पनि ती गाउँबस्तीका लागि विशेष व्यवस्था नगरेको हो । दरौँदी दैनिक

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #धार्चे गाउँपालिका, #भोट हाल्न तीनघण्टा पैदल धाउनु पर्ने बाध्यता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545