Techie IT
आईतबार, वैशाख ७,२०८२

लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल


बेरुत । विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो ।

हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहयता चाहिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका लेबनान प्रमुख अब्दिनाकिर अबुदकरले लेबनान आर्थिक समस्यामा परेको अहिलेको अवस्थामा यहाँ हैजा फैलिइरहेको देखिएकोले यसको नियन्त्रणका लागि सहयोगको याचना गरिएको बताउनुभयो ।

लेबनानमा केही महिनायता फैलिएको हैजाबाट दुई हजार पाँच सयभन्दा बढी प्रभावित भएका छन् । अहिले पनि यहाँ चार सय १६ जना हैजाका बिरामी रहेका छन् । लेबनानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ १८ जनाको हैजाबाट ज्यान गएको छ । गत अक्टोबरको पहिलो हप्ता यहाँ हैजा देखिएको थियो र अहिले पनि यसको प्रकोप बढ्दो छ ।

समयमै हैजाको नियन्त्रण नगर्दा यहाँ यसले महामारीको रूप लिने त्रास भएकाले विश्व स्वास्थ्य सङ्गठनले तत्कालै नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न लेबनान सरकार र सबैसँग अपिल गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा देखिएको इबोला र लेबनानको हैजा नियन्त्रणका लागि सबैसँग अपिल गरेको छ । केही अफ्रिकी देशमा पछिल्ला केही महिनायता इबोलाको प्रकोप बढेको छ । रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल, #विश्व स्वास्थ्य सङ्गठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545