Techie IT
आईतबार, वैशाख ७,२०८२

नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा


पोखरा। नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ ।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन् । एपिएफ क्लबले २३ स्वर्ण, १७ रजत र १५ कास्यका साथ कुल ६५ पदक प्राप्त गरेको छ । पुलिस क्लबले १५ स्वर्ण, २५ रजत र ३३ कास्यसहित कुल ७४ पदक प्राप्त गरेको छ ।

यसैगरी बागमती, गण्डकी र एनआरएनए क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशले १० स्वर्ण, आठ रजत र २० कास्यसहित कुल ३८ पदक प्राप्त गरेको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले छ स्वर्ण, छ रजत र चार कास्यसहित कुल १६ पदक हासिल गरेको छ ।

यस्तै प्रदेश नं १ सातौँ, मधेश प्रदेश आठौँ, सुदूरपश्चिम प्रदेश नवौँ, लुम्बिनी प्रदेश १०औँ तथा कर्णाली प्रदेश पदक तालिकाको ११औँ स्थानमा छन् । प्रदेश १ ले हालसम्म तीन स्वर्ण, आठ रजत र २१ कास्यसहित कुल ३२ पदक पाएको छ । मधेसले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित कुल १२ पदक, सुदूरपश्चिमले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित कुल १४, लुम्बिनीले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल २२ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित कुल चार पदक प्राप्त गरेको छ ।

हालसम्म एक सय ३९ स्वर्ण, एक सय ३९ रजत र एक सय ८६ कास्यसहित कुल चार सय ६४ पदकको छिनोफानो भएको छ । छ हजार एक सय ५७ खेलाडी सहभागी नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेको छ । कुल तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा दुई प्रदर्शनीसहित ३८ खेल समावेश गरिएका छन् । तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडीबीच खेल भइरहेको छ । पोखरामा यसअघि २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

उसु सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबारदेखि खेल सुरु भएका हुन् । हालसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ आठ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु सङ्घका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिनुभयो ।

महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूरपश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुग्नुभयो । उहाँहरुले क्रमशः बागमती प्रदेशका सञ्जिता ग्लान र मधेस प्रदेशका कञ्चन पाललाई पराजित गर्नुभयो । थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण चार, रजत चार र कास्य चारका लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब तीन सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545