Techie IT
शनिबार, वैशाख ६,२०८२

निर्वाचनमा ‘ठूला आयोजना’ दलीय नारा


महेन्द्रनगर I  २०७४ को निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने र पराजित भएका सबै दलका उम्मेदवारले विकासका नारा लिएर मतदाताको घरदैलोसम्म पुगेपनि दलीय आश्वासन अनुसारको विकास भने भएन् ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर रहेको यहाँको निर्वाचन क्षेत्र नं ३ मा प्रमुख राजनीतिक दलहरूले महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल, मझगाउँ विमानस्थल सञ्चालनदेखि उज्यालो भीमदत्तसम्मको नारा घोषणा पत्रमा समावेश गरेपनि ती घोषणापत्र मै सीमित रहे । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक स्तरमा स्तरोन्नति गरेपनि शिक्षक अस्पतालको विषयले भने यहाँ बितेको पाँच वर्षमा महत्त्व नै पाएन ।

त्यसैगरी मत माग्दा यहाँ बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल सञ्चालन गरिने चुनावी नाराले मत पाए पनि विमानस्थल अझै सुचारु हुने स्थितिमा छैन । सङ्घ र स्थानीय सरकारले विमानस्थल पुनःनिर्माणको काम अघि बढाए पनि जग्गा प्राप्तिको विषयले अलमलमा छ ।

त्यसैगरी नेपाली कांग्रेस, नेकपा एमालेलगायत यहाँ गत निर्वाचनमा होमिएको राजनीतिक दलले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण र महाकाली सन्धि अनुसार शारदा नहरबाट पाउनुपर्ने तीन सय ५० क्युसेक पानी उपलब्ध गराउन पहल गर्ने विषय पनि चुनावी एजेन्डा बनेका थिए ।

सुख्खा बन्दरगाह अहिलेको सरकारले रु एक अर्ब विनियोजन गरेर प्रक्रिया अघि बढाउन थाले पनि यो बिचमा सुख्खा बन्दरगाह नयाँ स्थानमा प्रस्ताव मात्रै भयो ।

त्यसैगरी भारतबाट शारदा नहरबाट लिनुपर्ने सिँचाइका लागि पानी ल्याउने विषयले कुनै कति पाएन । नेपालतर्फ दोधारा चाँदनी क्षेत्रमा महाकाली सिँचाइ आयोजनाले मूल नहर निर्माणका लागि भने पछिल्लो समय पहल गरेको छ ।

त्यसका साथै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विषय दलहरूका चुनावी ‘एजेन्डा’ मात्रै बन्ने गरेको महेन्द्रनगरका समाजसेवी मदन चन्दको भनाइ छ ।

“बजारमा बनिरहेको अहिले एडिबीको कार्यक्रम हो ।” उहाँले भन्नुभयो,“महाकाली नदीमा चार लेनको पुल बाहेक देखिने गरी अरू काम भएको देखिएन ।”उहाँले सरकारले नियमित गर्ने विकासका कामलाई राजनीतिक रुपमा हेर्न नहुने बताउनुभयो ।बजारमा बिजुली बत्ती र सरसफाइको काममा कहीँबाट पहल नभएको उहाँको भनाइ छ ।”सरसफाइका लागि नगरपालिकासित सयौँ कर्मचारी भए पनि बजारको अवस्था झन् बिग्रँदो अवस्थामा छ ।”

उहाँले भन्नुभयो,“विकासका आश्वासन दिने भन्दा पनि विकास गरिरहेकालाई चिनेर मत दिन्छौँ ।”उता कैलालीको माला खेती र कञ्चनपुरको त्रिभुवन बस्ती इलाकासम्म सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित अघि बढेको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणको काम सन्तोषजनक छैन । बितेको पाँच वर्षको बिचमा उक्त आयोजना राष्ट्रिय गौरवको आयोजनाको स्तरोन्नति भने भयो ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजन इञ्जिनीयर शम्भु पण्डितले आयोजना राष्ट्रिय गौरवको आयोजनामा समावेश भएयता आर्थिक अवस्थामा भने सहज भएको बताउनुभयो ।“राष्ट्रिय गौरवको आयोजना बनाइएपछि आयोजना अघि बढाउन रकम अपुग हुने समस्या रहेन ।” उहाँले भन्नुभयो,“ बाँकी आयोजनाको काम अघि बढिरहेकै छ ।”

एक सय ५१ किलोमिटर मूलनहर निर्माण आयोजना आयोजना अन्तर्गत गर्नुपर्ने भए पनि बितेको एक दशकमा तीन किलोमिटर मूल नहर बन्ने सकेको छैन । कञ्चनपुरबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सक्ने स्तरका नेता निर्वाचनमा होमिन थालेको लामो समय भइसकेको छ ।

तर यहाँका सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र स्थापना लगायतका ठूला आयोजनाका काम भने कछुवा गतिमा छन् । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा जुटेका दल पुनः विकासका एजेन्डा दलीय नारा बनाउन थालिसकेका छन् । यहाँ नेपाली काङ्ग्रेसबाट निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता रमेश लेखकले महाकाली नदीमा पक्की पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाहका साथै कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने एजेन्डा अघि सार्नु भएको छ । उम्मेदवारी दर्ता पनि कञ्चनपुरलाई नेपाल–भारत र चीनको त्रिदेशीय आर्थिक नाकाका रुपमा विकास गरी यहाँको समृद्धिमा जोड दिइरहेका छन् ।

त्यसैगरी नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहकी नेत्री निरुदेवी पालले कञ्चनपुरको विकासका लागि आफू प्रत्यक्ष निर्वाचनमा होमिएको बताइरहेकी छन् । विगतमा पनि आफूले यहाँको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पहल गर्दै आएको उहाँको भनाइ छ ।

त्यसैगरी कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा बेलौरी नाकालाई स्तरोन्नति गर्ने विषय चुनावका बेला दलीय एजेन्डा मात्रै बन्ने गरेको स्थानीयवासीको भनाइ छ ।

“बेलौरी नाकालाई आर्थिक गतिविधि बढाउने गरी स्तरोन्नति गर्छाँै यहाँ आउने सबै नेता र मन्त्रीले भने ।” बेलौरी लक्ष्मीपुरका रामबहादुर चौधरीले भन्नुभयो,“ अहिलेसम्म यहाँको हुलाकी सडक पूर्ण हुनसकेको अवस्था छैन ।” रासस


क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545