Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौँ उपत्यकासहित देशका ७५ जिल्लामा डेंगुको प्रकोप बढ्दै


काठमाडौँ । हुम्ला र मुस्ताङबाहेक हाल काठमाडौँ उपत्यकासहित देशका ७५ जिल्लामा डेंगुको प्रकोप देखिएको छ ।

यस अवधिमा १३ हजार बढी मानिसमा डेंगुको संक्रमण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेंगुको नियन्त्रणका लागि स्थानीय तहहरूसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रमका साथै आपत्कालीन अवस्थाका लागि अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले देशका दुई जिल्ला बाहेक ७५ वटा जिल्लामा डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुर जिल्लामा सबैभन्दा बढी डेंगुका संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका प्राय सबै अस्पतालमा यतिबेला डेंगुका बिरामीहरूको चाप बढिरहेको छ । कतिपय संक्रमित नीजि अस्पताल तथा क्लिनिकमा जाने गरेकाले पनि तथ्याङ्क कम देखिएको हुनसक्ने भन्दै घरघरमा डेंगुका संक्रमित रहेको र नियन्त्रणमा पहल नगर्ने हो भने अवस्था जटिल हुनसक्ने बताउनुहुन्छ जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीले बताउनुभयो ।

डेंगु सर्न नदिन र यसको संक्रमण नियन्त्रणका लागि सबैभन्दा पहिले सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सबैलाई जानकारी गराउन आवश्यक रहेको पनि जनस्वास्थ्य विद्हरूको धारणा छ ।

कतिपय अवस्थामा घरका सदस्य संक्रमित हुँदा सर्ने डरले घरपरिवारका अन्य सदस्यहरूमा डर देखिएको पाइएकाले यो कसरी सर्छ भन्ने बारे जनचेतना जगाउनु पनि महत्त्वपूर्ण देखिन्छ । यसको नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको प्रयासमा सरोकारवाला निकायहरूको साथ र समन्वयबाट अगाडी बढ्नुपर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीको भनाई छ ।

डेंगु रोगको नियन्त्रणका लागि सबैभन्दा पहिले लामखुट्टेको नियन्त्रण गर्न जरुरी छ । त्यसका लागि सबैले आफ्नो घर र वरपर लामखुट्टे लाग्न नदिन बेला बेलामा सरसफाइ गर्नुका साथै डेंगु रोग सार्ने लामखुट्टेले सफा पानीमा फूल पार्ने भएकाले वरिपरि पानी जम्न नदिने गरी व्यवस्थापन गर्नु आवश्यक छ ।

यसका लागि सरकारले स्थानीय तहहरूसँगको समन्वयमा जनचेतनामूलक कार्यक्रम, बजेटको व्यवस्था, डाक्टरहरूलाई तालिम तथा अन्य अन्तरक्रिया कार्यक्रम र अस्पतालमा बेडको व्यवस्था लगायत सबै तयारी गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, संक्रमितहरु मध्ये सबैलाई अस्पताल भर्ना हुन नपरेपनि यसको सङ्क्रमणले ब्लड प्रेसर लो हुने, बेहोस हुन सक्ने र यदि जटिल अवस्था आएमा रक्तश्राव समेत हुनसक्ने भएकाले सचेत रहनुपर्ने हुन्छ ।

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । चिकित्सकहरूका अनुसार डेंगु संक्रमण हुँदा लगातार ज्वरो आउने, शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्म हुने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिने गर्दछ ।

खासगरी यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा वा कार्यालय जाँदा पनि शरीरको सबै भाग ढाकिने लुगा लगाउने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #काठमाडौँ उपत्यकासहित देशका ७५ जिल्लामा डेंगुको प्रकोप बढ्दै, #डेंगुको प्रकोप बढ्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545