Techie IT
सोमबार, वैशाख ८,२०८२

एसपी ज्ञवालीको एक्सन : ठूलो मात्रामा लागूऔषधसहित मालढुंगाबाट दुई जना पक्राउ


बागलुङ । बागलुङ प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका १ स्थित मालढुङ्गा प्रहरी चेकप्वाईन्टमा खटिएको प्रहरीको विशेष टोलीले प्रतिबन्धित लागूऔषध र गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

काठमाण्डौंबाट बागलुङतर्फ आउँदै गरेको बा ३ ख ९११२ नंम्बरको माईक्रोबसलाई रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा सोही बसका सहचालक गोरखा पालुङटार नगरपालिका ६ बस्ने १८ बर्षीया कृष्ण नेपाली र बागलुङ ९ तित्याङ बस्ने १९ बर्षीया अमृत परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीको साथबाट कालो रङ्गको झोलाभित्र रातो सपिङ्ग ब्यागमा लुकाईछिपाई ल्याइएको अवस्थामा लागूऔषध ट्रामाडोल लेखिएको ५८ पत्ताको ५७८ क्यापसुल, नाइट्रेजापाम लेखिएको एक पत्ताको ९ क्यापसुल, गाँजाको धुलो २५ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।

प्रहरी उपरीक्षक ज्ञवालीका अनुसार पक्राउ परेका बसका सहचालक नेपालीलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्ने क्रममा प्रहरीले बरामद गरिएको लागूऔषध लिन आएका परियारलाई समेत पक्राउ गर्न भएको बताए । परियारलाइ प्रहरीले बागलुङ २ समिट चोकबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका उनीहरुउपर प्रहरीले लागूऔषध कसुरमा सम्मानित बागलुङ जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।

यसअघि बागलुङ प्रहरीले गएको असार २० गते मात्रै बुटवलबाट बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नंम्बरको बसबाट २७४६ एम्पुल लागूऔषधसहित चार जनालाई समेत पक्राउ गर्न सफल भएको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545