Techie IT
आईतबार, वैशाख ७,२०८२

नेकपा एसका सुदूरपश्चिमका प्रभावशाली नेताहरू एमालेमा फर्कए


 

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिमका प्रभावशाली नेताहरू नेकपा (एमाले) मा फर्कनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री तारा लामा, प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रम शाही र वेदकोटगढी नगरपालिकाका पूर्व नगरप्रमुख अशोक चन्द सयौं कार्यकर्तासहित एमालेमा फर्कनु भएको हो । त्यस्तै माओवादी नेता मोहन गिरी र राष्ट्रिय जनमोर्चाका अभिमानसिंह थापा पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज कञ्चनपुरमा आयोजित भव्य कार्यक्रममा उहाँहरूलाई स्वागत गर्नुभयो ।
अध्यक्ष ओलीले उहाँहरूसँगै कञ्चनपुर र कैलालीबाट नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, राप्रपाबाट एमालेमा प्रवेश गर्नुभएका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनताले एमालेलाई बहुमतका साथ विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेले देशको विकास र समृद्धिको स्पष्ट गन्तव्य तय गरेको र त्यो गन्तव्यमा पुग्न सरकार सञ्चालन गर्नुपर्ने हुँदा एमालेलाई विजयी बनाउन यहाँका जनतालाई आग्रह गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्ने अवसर दिन जनतासँग आग्रह गर्नुभयो ।

‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ, त्यसैले एमालेले जित्नुपर्छ ’

देश विकास गर्न एमाले चाहिन्छ भन्ने कुरा जनताले बुझिसकेको बताउँदै उहाँले अब जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गठबन्धन ठगबन्धन भइसकेको जनताले बुझिसके, सत्ता गठबन्धनमा रहेकाहरूलाई आफुमात्रै बन्नुछ देशको चिन्ता छैन, देश र जनताको चिन्ता एमाले बाहेक कुनै पार्टीले गर्दैन । त्यसैले हामीलाई जनताले १५० सिटमा विजयी बनाउनेछन् ।’
अध्यक्ष ओलीले एमालेलाई मत दिएर विजयी बनाउँदा देशको विकास, राष्ट्रियताको रक्षा तथा लिम्पियाधुरा लिपुलेक फिर्ता आउँछ भन्ने जनतालाई थाहा छ भन्नुभयो ।
एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्नेको लहर चलेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले जिते मात्र देशले जित्ने वताउनुभयो ।
उहाँले भन्नुभयो– ‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ, त्यसैले एमालेले जित्नुपर्छ ।’
गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामु निरीह बनेको अध्यक्ष ओलीको भनाई थियो ।
सो अवसरमा पार्टीका सचिव लेखराज भट्टले वर्तमान गठबन्धन सरकारले देशको अर्थतन्त्र धराशायी बनाएको र यही सरकार रही रहे देश बर्बाद हुने भन्दै आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

माधव नेपालले पार्टीलाई मागी खाने भाँडो मात्र बनाए

कार्यक्रममा एमालेमा समाहित हुनुभएका सुदूरपश्चिम प्रदेशका सांसद तारा लामाले आफूले भइरहेको पद त्याग गरेर एमालेमै फर्किएको र कञ्चनपुरमा एमालेको संगठनलाई पुरानै अवस्थामा पुर्याउने प्रयासमा लाग्ने वताउनुभयो ।
पार्टीमा केही असन्तुष्टिका कारण एकीकृत समाजवादीमा लागेको र त्यहाँ रहँदा माधव नेपालले पार्टीलाई मागी खाने भाँडो मात्र बनाएकाले वाक्क–दिक्क भएर एमालेमै फर्किएको लामाले वताउनुभयो ।त्यसैगरी एमालेका पुराना कार्यकर्ता विक्रम शाही माधव नेपालको प्रवृत्तिबाट दिक्क भएर ३० बर्षदेखि काम गरेको पार्टी एमालेमा फर्किएको वताउनुभयो ।
नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य कर्ण थापा, पोलिटव्यूरो सदस्य निरु पाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एसका सुदूरपश्चिमका प्रभावशाली नेताहरू एमालेमा फर्कए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545