डिएसपीको सरुवा २४ घण्टा पनि टिकेन : बिजय राज पण्डितको चितवनमा काज सरुवा

चितवन । प्रहरी प्रधान कार्यालयले हिजो (मंगलबार) ठूलो मात्रामा प्रहरी नायब उपरीक्षकहरुको सरुवा गर्यो । उक्त सरुवा सुचीमा प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितको समेत नाम थियो ।
मंगलबार सरुवा सुचीमा नाम परेका पण्डितको दरबन्दी गण्डकी प्रदेश तालिम केन्द्र पोखराबाट बागमती प्रदेश प्रहरी कार्यालय, बजेट शाखा थियो । तर, उनी बिदा बसेर रातारात त्यहाँबाट चितवन जिल्ला प्रहरी कार्यालयमा काज सरुवा गराएका छन् ।
तालिम केन्द्रमा एक बर्ष सह समादेशको जिम्मेवारी सम्हालेका डिएसपी पण्डितलाई बागमती प्रदेश प्रहरी कार्यालय फालेपछि उनी रुष्ट भए । र, त्यहाँ दरबन्दी भएको २४ घण्टा नबित्दै उनको जिल्ला प्रहरी कार्यालय चितवनमा पुनः काज भयो ।
यसअघि जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त डिएसपी रविन बिष्ट पनि काजमै थिए । जिल्ला प्रहरी कार्यालय कैलाली दरबन्दी भएका उनी ६ महिनादेखि चितवनमा काज खटिएका थिए ।
प्रहरी काजको दुरुपयोग गरेर सरुवा गरिएका यी दुई काज भिन्नाभिन्दै प्रकृतिका छन् । एउटा काज सरुवामा राजनीतिक दबाब छ भने अर्कोमा संगठन प्रमुखको स्वार्थ । यसरी स्वार्थ र दबाबमा काजको दुरुपयोग गरिएको यो एउटा उदाहरण मात्रै हो ।
काज नै निकाल्न नमिल्ने सामान्य अवस्थामा पनि प्रहरी नियमावलीको दुरुपयोग गर्दै काज सरुवा हुने गरेको छ । प्रहरी नियमावली २०७१ को परिच्छेद ५ मा पदस्थापन तथा सरुवा सम्बन्धी व्यवस्था छ ।
नियमावलीको दफा ५२ काज सम्बन्धी व्यवस्था गरिएको छ। दफा ५२ को उपनियम (१) मा प्रहरी कर्मचारीलाई सामान्यतया काजमा खटाइने छैन भनेर उल्लेख गरिएको छ ।
उपनियम (२) मा भने विशेष परिस्थितीमा काज खटाउन सकिने तर त्यसका लागि प्रहरी प्रधान कार्यालयले काज सम्बन्धी छुट्टै मापदण्ड बनाई लागू गर्न सक्ने उल्लेख छ ।
तत्कालीन प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको पालामा २०६९ पुस १८ गते नेपाल प्रहरीको काज सम्बन्धी निर्देशिका नै जारी भयो । उक्त निर्देशिकामा समेत विशेष परिस्थितिबाहेक प्रहरी कर्मचारीलाई काज नराखिने उल्लेख छ ।
प्रहरी कर्मचारीको आवश्यकतामा नभई संगठनको आवश्यकता एवं सम्बन्धित प्रहरी कर्मचारीको हितमा असर नपर्ने गरी जनशक्तिको आकस्मिक तथा अस्थायी व्यवस्थापन गर्न सकिने निर्देशिकामा उल्लेख छ ।
तर, नियमावली र निर्देशिका अनुसार नै सकेसम्म काजमा नखटाउने तर, काजमा नखटाई नहुने अवस्था आए मात्रै खटाउने भनेर प्रस्ट लेखिएको अवस्थामा समेत प्रहरी नियमावलीकै दुरुपयोग गर्दै काज खटाउने रोगले संगठनमा जरा गाडेको छ ।
पछिल्लो समय प्रहरी प्रधान कार्यालयले काज सरुवा भन्दै धमाधम एसपी, डिएसपीको सरुवा गरिहेको छ । आज बुधबार मात्र ८ जना डिएसपीको काज सरुवा भएको छ । त्यस्तै, हिजो मात्रै १३१ डिएसपीको काज सरुवा र ३४ डिएसपीको पदस्थापना भएको थियो ।
एसपीसम्मका प्रहरी अधिकारीको सरुवा प्रहरी महानिरीक्षकले गर्न सक्ने प्रावधान प्रहरी नियमावलीमा उल्लेख छ । यही प्रावधानलाई आधार मान्दै काजको दुरुपयोग हुँदै आएको छ ।
प्रहरी नेतृत्वको स्वार्थ र राजनीतिक दबाबका कारण व्यावसायिक क्षमता नभएका प्रहरी अधिकारीले काजका नाममा महत्वपूर्ण ठाउँको जिम्मेवारी पाउँदै आएका छन् । पछि तिनै प्रहरी अधिकारीका कारण प्रहरी संगठन नै बद्नाम हुनुपरेको तितो यथार्थ पनि छ।
बाहिरबाट हेर्दा सामान्य लागे पनि काजको चरम दुरुपयोग हुँदा प्रहरी संगठन नै बद्नाम हुनुपर्नेसम्मको स्थिति आएको विज्ञहरु बताउँछन् ।
मनपरी काजको गम्भीर असर
काजमा खटाउनैपर्ने प्रशासनिक सुविधालाई टेकेर राजनीतिज्ञ, पहुँचवाला तथा शक्तिकेन्द्रले आफ्नो मान्छेलाई चाहेको ठाउँमा पठाउने बाटोको रुपमा काज प्रयोग भइरहेको छ । जुन पहिल्यैदेखि हुन्थ्यो ।
काजको दुरुपयोगले पुलिसिङ, प्रहरी कर्मचारीको मोरल र पर्फमेन्समा समेत प्रभाव पार्ने गरेको छ । ‘थ्योरी अफ इक्विटी अर्थात् मलाई अरु समान व्यवहार गरिएको छ भन्ने भयो भने त्यो प्रहरीले मोरल हाई बनाएर काम गर्छ । जब समान व्यवहार भएको छैन भन्ने बुझ्छ, त्यसपछि उसको पर्फमेन्स नै कमजोर हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘जसको असर दैनिक पुलिसिङमा देखिन्छ ।’
प्रहरी हेडक्वार्टरको कर्मचारी प्रशासन शाखाको तथ्यांक अनुसार १५ सयभन्दा बढी प्रहरी अधिकारी अहिले पनि काजमा छन् । यो हेडक्वार्टरले काजमा खटाइका प्रहरीहरुको तथ्यांक मात्र हो । तर, हरेक जिल्लाका जिल्ला प्रहरी कार्यालय मातहतका तल्लो दर्जाका धेरै प्रहरी अधिकारी काजमा खटिँदै आएका छन् । यसको तथ्यांक हेडक्वार्टरसँग हुँदैन ।
एक जनाको मात्रै सरुवा हुने गरेका घटना पनि छन् । जेठ १७ गते डिएसपी सुर्य बहादुर थापा लाई मात्रै जिल्ला प्रहरी कार्यालय बाजुरा काज सरुवा गरिएको थियो । सरुवा गर्दा लामो प्रक्रिया लाग्ने र आफू निकटका व्यक्तिलाई चाहेको ठाउँमा पठाउन नसक्ने अवस्था पनि हुने भएकाले सुटुक्क काज मिलाएर सरुवा जाने प्रवृत्ति प्रहरीमा हाबी हुँदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्