देवघाटधाममा मकर मेलाका लागि भक्तजनको घुइँचो

पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । झक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार दुई लाखभन्दा बढी भक्तजनले देवघाटमा रात बिताएका छन् । उनीहरु स्नान गरेर फर्कने र अरु थप आउने क्रम जारी छ । देवघाटको बेनिका नदी तटीय क्षेत्र, चितवन र तनहुँतर्फका मठमन्दिर, आश्रम, बाटोघाटो सबै क्षेत्र भक्तजनले भरिएको पौडेलले बताउनुभयो । सोमबार साँझ देवघाटको महेश सन्यास आश्रममा मध्यरातसम्म मकर काव्ययामीनि कार्यक्रम भएको थियो । आज दिउँसो गलेश्वर आश्रमको वेदवेदान्त विद्यालयमा एक दिवसीय सन्त सम्मेलन हुँदैछ ।
विभिन्न उपसमिति गठन गरी व्यवस्थापनको काम गरिएकाले कुनै समस्या नभएको पौडेलले बताउनुभयो । आज दिउँसोसम्ममा करीक पाँच लाख भक्तजनले देवघाटमा स्नान र दर्शन गर्ने अनुमान गरिएको पौडेलको भनाइ छ । नारायणगढ मुग्लिन सडकखण्डको अवस्थामा सुधार आएपछि यस वर्ष भक्तजनको चाप बढेको उहाँले बताउनुभयो ।
चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा आज व्रतबन्ध गर्नेको भीड छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलमा दुवैतर्फ प्रहरी र स्वयंसेवकले आलोपालो सुरक्षा दिएका छन् । ठूलो सङ्ख्यामा भक्तजन आएकाले सुरक्षा प्रबन्ध चुस्त बनाइएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित आफू सोही क्षेत्रमा रहेको बताउनुभयो । उहाँले स्नान गर्दा समस्या हुनसक्ने भन्दै सशस्त्र प्रहरीको विशेष टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।
मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम गए राति देखिनै चलिरहेको छ । देवघाटमा स्नान गरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम र यज्ञ यागादी गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #देवघाट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्