Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखरा महानगरद्धारा निजी शौचालयलाई निःशुल्क प्रयोगमा ल्याउने


कास्की। पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ ।

देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ ।

सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिएबापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ । सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैङ्क, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैरव्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महानगरले शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थालाई साउन मसान्तसम्म निवेदन दिन भनेको छ, त्यस्ता शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने छ ।”

सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचानयुक्त लोगो वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ । शौचालय प्रयोग गर्न दिने व्यक्ति, संस्था वा कम्पनीको विवरण महानगरको वेबसाइटमा राखिने बताइन्छ । पोखराका मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ । महानगरले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नभएकाले काम अघि नबढेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पोखरा महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545