कर्मचारी आन्दोलनमा उत्रिएपछि स्थानीय तहको कामकाज आज पनि ठप्प

विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि कामकाज ठप्प भएको छ । सरकारले स्थानीय कर्मचारीमाथि विभेद गरेको भन्दै यही पुस १ गतेबाट नै स्थानीय तहका कर्मचारी आन्दोलनरत छन् ।
हातमा कालोपट्टी बाँधेर आन्दोलनमा लागेका कर्मचारीले आज दशौँ दिन पनि काममा नफर्केपछि नागरिक मर्कामा परेका हुन् ।
गत मङ्सिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश, २०७५ मार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनका लागि सबै कामप्रति समान व्यवहार नभएको भन्दै बाध्य भएर आन्दोलनमा होमिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका परिसरमा आन्दोलन गरिरहेका कर्मचारीले सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म कलम बन्द गरिराख्ने बताउँछन् । श्रेष्ठका अनुसार आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राखी कार्यालय नफर्किने बताउनुभयो ।
देशभरिका र कामपाका ३२ वटै वडाका कर्मचारी पनि आफ्नो कलम बन्द गरेर कालोपट्टी बाँधी आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सर्वोच्च अदालतले २०७४ पुस २१ गते गरेको फैसलाअनुरुप व्यवस्था हुनुपर्ने, साविक स्थानीय निकायका श्रेणीविहीन कर्मचारीको स्तरवृद्धिको साथै सबै तहको बढुवा र वृत्ति विकास तत्काल लागू गर्नुपर्ने माग उनीहरुको रहेको छ ।
कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७(४) बमोजिम स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्ने गरिनुपर्ने माग पनि उनीहरुको रहेको छ । काठमाडौँ उपत्यकालगायतका स्थानीय तहमा फोहरमैला तथा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीलाई पेशागत सुरक्षाको प्रत्याभूति सोही स्थानमानै हुनुपर्ने उहाँहरुको माग रहेको छ ।
हाल देशभरमा गरी १८ हजार कर्मचारी स्थानीय तहमा कार्यरत रहेका छन् । यी सबै कर्मचारी अहिले काम छोडी आन्दोलनमा लागेकाले सर्वसाधारण मर्कामा परेका छन् । आन्दोलनकै क्रममा आज स्थानीय तहका कर्मचारीले राष्ट्रियसभा गृहबाट आफ्ना मागसहितको नारा लगाउँदै काठमाडौँ महानगरपािलकाको प्रमुख र उपप्रमुखको कार्यालय रहेको स्थान हरिभवन पुगेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #स्थानीय तहका कर्मचारी आन्दोलन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्