तीन वर्षपछि काभ्रेमा डेङ्गु सङ्क्रमण

काभ्रे । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो ।
पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार सङ्क्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ ।
उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आज पनौतीमा भएको सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए । “हाम्रो टिमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नेछ”, उनले भने ।
यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
“धुलिखेललगायतको स्थानका डेङ्गु रोगको सङ्क्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौँ”, कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार पाँचखालमा दुई साताअघि भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् ।
ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो । पाँखालमा भेटिएका सङ्क्रमितको काठमाडौमा उपचार भइरहेको सेढाईंले बताए ।
लामो समयपछि पाँचखालमा पहिलो डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताए ।
उनका अनुसार डेङ्गु रोगको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ ।
लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र माँसपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।
काभ्रेमा यसअघि विसं २०७६ भदौ दोस्रो साता डेङ्गुको सङ्क्रमण देखिएको थियो । त्यसबेला खानीखोला गाउँपालिकामा सङ्क्रमित एक पुरुष भेटिएसँगै जिल्लाका छ जनामा सङ्क्रमण देखिएपछि तत्काल उपचारमा लगिएको थियो । छ सङ्क्रमितमध्ये चारको टेकु अस्पताल र दुईको धुलिखेल अस्पतालमा उपचार गराइएको थियो ।
त्यतिबेलाको अनुगमन/निरीक्षणबाट खानीखोलाका सङ्क्रमित पुरुष कामको सिलसिलामा छिमेकी मकवानपुरको हेटौँडालगायत तराईका विभिन्न जिल्लामा आवतजावत गर्ने क्रममा डेङ्गु रोगका लक्षण देखिएको जिल्ला कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हाल जिल्लाका तीन स्थानमा डेङ्गु सङ्क्रमित व्यक्ति भेटिएपछि कार्यालयले डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई अपिल गरेको छ ।
“जिल्लामा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि अन्य सबै स्थानीय तहमा ¥यापिट टिम बनाउने तथा स्थानीय स्वास्थ्यकर्मीलाई हाइअलर्ट रहन भनिएको छ”, कार्यलयप्रमुख सेढाईंले भने ।
उनका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको कीटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ । –रासस
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #डेङ्गु रोग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्