Techie IT
शनिबार, वैशाख ६,२०८२

भारतद्वारा प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग


काठमाडौँ। भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो ।

भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई उक्त राहत सामग्री हस्तान्तरण गराउनुभएको हो । हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताउनुभयो ।

गृहमन्त्री खाणले नेपाल धेरै प्रकारका विपद्को उच्च जोखिममा रहेको स्मरण गराउँदै विपद्को घडीमा भारत सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो । समारोहमा राजदूत श्रीवास्तवले भारत र नेपाल सुख, दुःखको साथी रहेको तथा आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउने कोसिस रहने प्रतिबद्धता जनाउनुभयो ।

मनसुनको सुरुआतमा राहत सामग्री सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै राजदूत श्रीवास्तवले प्रकोप प्रभावितका लागि सहयोग जारी रहने विश्वास दिलाउनुभयो । उहाँले भूकम्पका समयमा पनि भारतले सहयोग गरेको स्मरण गर्नुभयो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #प्राकृतिक प्रकोप, #भारत, #राहत सामग्री सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545