Techie IT
आईतबार, वैशाख ७,२०८२

समाजवादीका अध्यक्ष नेपालसँग मन्त्रीहरुको चर्काचर्की


काठमाडौँ, ९ असार । मन्त्रीमण्डल हेरफेरका विषयमा असहमति जनाउँदै नकेपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रीहरुको चर्काचर्की परेको छ ।

मन्त्रिमण्डल हेरफेरको निर्णय कार्यान्वयन गर्ने विषयमा अध्यक्ष नेपालले सरकारलाई दवाव दिइरहेको विषयलाई लिएर नेपालसँग र मन्त्री रामुकमारी झाँक्री र प्रेम आलेको चर्काचर्की परेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति पर्यटनमन्त्री आले र सहरी विकासमन्त्री झाक्रीले असहमति प्रकट गरेका हुन् ।

कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएकी थिइन् ।

‘हामीलाई किन हटाउनु पर्‍यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भईरहेका छन,’ नेपाल समक्ष मन्त्री झाक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोलेपछि स्थिति असामान्य बनेको थियो ।

झाँक्रीले चर्को स्वरमा बोलेपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले ढोका नै लगाउनुपरेको थियो ।

उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए ।

‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’ आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए ।

बैठकमा नेपालले निर्णयलाई पुनर्विचार गर्ने भनेपछि स्थिति सामान्य बनेको बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नकेपा एकीकृत समाजवादी, #माधवकुमार नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545