Techie IT
शनिबार, वैशाख ६,२०८२

राष्ट्रिय परिचय पत्रको फारम भर्न तनहुँमा भिड


तनहुँ । तनहुँमा एक लाख ५३ हजारले राष्ट्रिय परिचय पत्रको लागि फारम भरेका छन् ।

जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको अभियान र तोकिएको कार्यालय वा जिल्ला प्रशासनमा नै पुगेर राष्ट्रिय परिचय पत्रको फारम भर्नेको सङ्ख्या १ लाख ५३ हजार १६० जना पुगेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागकी जिल्ला सुपरभाइजर विनिता ढुङ्गेलले जानकारी दिनुभयो ।

जिल्ला सुपरभाइजर ढुङ्गेलका अनुसार स्थानीय तहमा सञ्चालन भएको अभियानबाट जेठ मसान्तसम्म १ लाख १६ हजार ६३४ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका हुन् ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर सोमबारसम्म ३६ हजार ५२६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका ढुङ्गेलले बताउनुभयो ।

जिल्लाबाटै इ–पासपोर्टको काम समेत भइरहेकाले समेत राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाड भएको जिल्ला सुपरभाइजर ढुङ्गेलले जानकारी दिनुभयो ।

पासपोर्ट बनाउन सरकारले राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेसँगै जिल्ला प्रशासनमा दैनिक जसो भिड लाग्ने गरेको छ ।

तनहुँमा गत २०७६ साउनबाट जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्रको फारम भर्न सुरु गरिएको थियो ।

जिल्ला प्रशासनले दुई जना कर्मचारी र विभागबाट १ जना गरी ३ वटा स्टेसनबाट काम भइरहेको जिल्ला सुपरभाइजर ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले १५० भन्दा माथि दैनिक फाराम भर्ने काम भइरहेको छ ।

जिल्लाको व्यास नगरपालिकामा २३ हजार ५८६, शुक्लागण्डकी नगरपालिका २३ हजार ७४६, भिमाद नगरपालिकामा १४ हजार ९७५, म्याग्दे गाउँपालिकामा ११ हजार ४४२, आँबुखैरेनी गाउँपालिकामा ७ हजार ४१४, देवघाट गाउँपालिकामा ९ हजार ५४, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा १६ हजार ३९७ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेको जिल्ला सुपरभाइजर ढुङ्गेलले बताउनुभयो । यसमा बन्दिपुर गाउँपालिकाको छुट्टै डाटा आउन बाँकी रहेको ढुङ्गेलले बताउनुभयो ।

कुल सङ्ख्यामा भने बन्दिपुर गाउँपालिकाको समेत समावेश रहेको छ ।

यस्तै, जिल्लाको पालिकामा वडागत रुपमा भने गत २०७८ पुस २६ गतेबाट फारम भर्ने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

तनहुँको ८ वटा पालिकामा राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सकिएको ढुङ्गेलले बताउनुभयो ।

अहिले जिल्लाको बन्दीपुर गाउँपालिकामा अभियान सञ्चालन भइरहेको र भानु नगरपालिकामा सुरु भएको जिल्ला सुपरभाइजर ढुङ्गेलले बताउनुभयो । सकिएको पालिकामा छुटेका सर्वसाधारणले जिल्ला प्रशासनमा आएर फाराम भर्न सक्ने उहाँ बताउनुहुन्छ । आफ्नो विवरण सच्चाउने अप्सन नभएको हुँदा सुरुमा विवरण भर्दा नै ध्यान दिनुपर्ने ढुङ्गेल बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : ##तनहुँ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545